अधोगति, यस्तै छ साथी

अधोगति, यस्तै छ साथी

सत्तासिन नेकपाको एकतालाई अदालतले छिन्नभिन्न पारिदिएपछि जनसंगठनहरूका बेहाल अलग्गै छन् । एउटा उदाहरण छ, वामदेव गौतम नेतृत्वको अखिल नेपाल किसान महासंघको ।

बल्खुको बर्नहार्ट कलेजअगाडि त्यसको केन्द्रीय कार्यालय छ । पार्टी एकतासँगै हरि पराजुलीलाई अध्यक्ष बनाइएपछि अहिले फेरि वामदेव नै अध्यक्ष बन्नुपर्ने स्थिति अदालतले जन्माइदिएको छ । छोडेको पद, कार्यालय र जिम्मेवारीमा वामदेव फर्किरहँदा त्यहाँको आन्तरिक स्थिति भने पहिलाको जस्तो छैन । ओलीपक्षीय नेताहरू त्यहाँ जाँदैनन् । उनीहरूले प्रेम दंगालको नेतृत्वमा थापागाउँतिर कार्यालय स्थापना गरेर अर्कै महासंघ बनाएका छन् ।

पहिला विभिन्न किसिमका अन्तर्राष्ट्रिय परियोजना र किसान सञ्जालका बजेटहरूले कर्मचारीको तलब र अफिसको भाडा तिरिन्थ्यो । अहिले ती केही पनि छैनन् । ६ महिनादेखि अफिसको भाडा तिरिएको छैन । तलब त स्वयं लेखापालसम्मले खान पाएका छैनन् । कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन्, पुराना नेता डिबी कार्कीले । उनी पनि बेखर्ची छन् ।

यी कार्कीसँग एमाले व्युँतिनुअघि कुनै पनि पद थिएन । स्याङ्जाका मान्छे, ०४६ अघिको भूमिगतकालमै पार्टी काममा लमजुङ पठाइए । अहिले बरु स्याङ्जाका मान्छेले उनलाई नचिन्लान्, लमजुङका घर–घरमा चिनिन्छन् । ०५४ मा पार्टी फुट्दा कर्णालीमा संगठन गर्न पठाइए । तर, ०५६ को चुनाव लड्न फेरि लमजुङ नै फर्काइए । अहिले गण्डकी प्रदेशमा मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङ एमालेबाट र डिबी मालेबाट उठ्दा १६ सय ६६ भोट पाए ।

पृथ्वीसुब्बाले ३ सय ७० भोटले हार्नुप¥यो । पार्टी फुटकै कारण अर्को क्षेत्रबाट एमालेकै मायानाथ अधिकारीले पनि हारे । पृथ्वीसुब्बाले त ०४३ देखि पाँचपटक चुनाव हारिसकेका थिए । तर, ०६४ को चुनावमा डिबी समानुपातिक उम्मेदवार बनाइँदा सँगसँगै हिँडेर पृथ्वीसुब्बाले जिते, उनी पनि सभासद् भए । त्यही कार्यकालमा गृह राज्यमन्त्री बन्ने करिव–करिव टुंगो लागेको थियो ।

तर, भीम रावल गृहमन्त्री भएपछि उनलाई इन्स्पेक्टरका उम्मेदवार राजकुमार राई (हाल डिएसपी) सँग पैसा लिएको आरोपमा अख्तियार लगाइयो । सांसद पद गयो । फौजदारी मुद्दामा केही समय जेल पनि परे । त्यस्तो मुद्दाका नाममा अब उनले न चुनाव लड्न पाउने भए, न मन्त्री वा कुनै नियुक्तिमा जान पाउने भए । बरु, अहिले टाट पल्टिएको, सुनसान किसान महासंघ रुँगेर बस्नुपरेको छ, बेखर्ची भएर ।

टिप्पणीहरू