जापानमा मान्छेको मरणखर्च उठाएर खाए नेपाली नेताले

जापानमा मान्छेको मरणखर्च उठाएर खाए नेपाली नेताले

क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ । त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन् । मृतकका दाइ मोहन जिसीले अनेक बहाना झिकेर अध्यक्ष भण्डारीले बीमा रकममा हस्तक्षेप गरेको बताए ।

भण्डारीले बीमा कम्पनीबाट पहिलो लट प्राप्त रकमबाट हाकाहाकी १३ लाख लगेको र दोस्रो चरणको रकमबारे शंकास्पद गतिविधि गरेको पीडित परिवारले बताएको छ । पहिले चरणमा प्राप्त एक करोड ८४ लाख ६१ हजार दुई सय ८९ रुपैयाँ मृतकका बुबाको बैंक खातामा ट्रान्सफर गरेकोमा भण्डारीले १३ लाख लागेको जिसीको भनाइ छ । ‘पहिलो चरणमा बीमा रकमबाट आएको एक करोड ८४ लाख ६१ हजार दुई सय ८९ उहाँ (भण्डारी)ले बुवा कुलबहादुर घर्तिको राष्ट्रिय बाणिज्य बैंकमा ट्रान्सफर गरिदिनुभएको हो । त्यसको बैंक स्टेटमेन्ट मैसँग छ । पछि उहाँले यताउता जाँदा मेरो खर्च भएको छ भनेर १३ लाख लैजानुभयो’, जिसीले भने ।

बीमा कम्पनीबाट दोश्रो चरणमा पनि पैसा आउँछ भन्दै भण्डारीले झुलाएको जिसीको गुनासो थियो । ‘वकिल लगाएर केस हालेका छौं भनेर देवीलालज्यूले भन्नुभएको हो । पैसा आउने नआउने थाहा छैन । आएर पनि हामीलाई थाहा नदिनु भएको पो हो कि ?’, शंकामिश्रित अनभिज्ञता जनाउँदै उनले भने । अहिलेसम्म पाएको रकम र खर्चको लिखित हरहिसाब माग्दा भण्डारीले बेवास्ता गरेपछि आफूहरुलाई शंका लागेको जिसीले बताए ।

गत चैत्र १६ गते अध्यक्ष भण्डारी नेपाल आएका बेला दोस्रो चरणको बीमा रकमको अवस्था र हालसम्मको हरहिसाब माग्दा भण्डारीले आनाकानी गरेको जिसीको भनाइ छ । ‘पहिलो चरणमा कति पैसा आएको हो र भाइको शव नेपाल ल्याउँदा र वकिल खर्च कति भएको हो भनेर हिसाब मागेकोमा भण्डारीले दिनुभएन’, उनले गुनासो गर्दै भने ।

जिसीका अनुसार भण्डारीले मौखिक हिसाब दिएपनि कागजपत्र देखाएका छैनन् । पहिलो चरणमा बीमा रकम दुई करोड २० लाख आएकोमा वकिल खर्च र शव नेपाल ल्याउँदा ३५ लाख ३८ हजार सात सय ११ रुपैयाँ खर्च भएको भन्ने मौखिक जानकारी दिएको तर त्यसको लिखत कागजपत्र माग्दा भण्डारी उम्किन खोजेको उनको गुनासो छ ।

पहिले र दोस्रो चरणमा बीमा रकम पाइने बताएका भण्डारीले अहिले नपाउने बताउन थालेपछि पीडित परिवारले आशंका गरेको हो । सबै हिसाब केश टुंगिएपछि दिने भनेर उहाँ पन्छिन थाल्नुभएको छ । पहिला पनि १३ लाख माग्नुभयो । खर्चको हिसाब देखाउनु भएन, त्यसैले हामीलाई शंका लागेको हो’,जिसीले आक्रोश पोखे ।

खर्चको हरहिसाब दिन आनाकानी गर्ने अध्यक्ष भण्डारीको व्यवहारले पीडित परिवार सशंकित छ । बीमाबापत ठूलो रकम हात पारेर भण्डारीले आफूहरुलाई केही अंश मात्र दिएको हुनसक्ने जिसीको आशंका छ । भण्डारीले बीमा रकमबापत दुई करोड २० लाख मात्र नभई जापानीज यन चार हजार २१४ मान लिएको जापानमा रहेका साथीहरुबाट सुन्नमा आएको जिसीले बताए ।

भण्डारीको बैंक खातामा के कति जम्मा भएको हो त्यसको बास्तविक सत्यतथ्य बुझ्न भन्दै जिसीले एनआरएन जापानको छानविन समितिमा निवेदन पनि दिएका छन् । निवेदनमा उनले बास्तविक तथ्य बाहिर ल्याउन माग गरेका छन् ।

हृदयेशको सन् २०१७ जुलाई २३ तारिखका दिन जापानको गुन्मा केन ओइजुमीमाचि साकाता भन्ने ठाउँमा गाडीको ठक्करबाट मृत्यु भएको थियो । मृत्युको खबर पाए पनि जापान जान असम्भव भएपछि परिवारले तत्कालीन एनआरएनएका बरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष भण्डारीलाई बीमा कम्पनीबाट रकम असुल गर्न र शव नेपाल ल्याउनका लागि विश्वास गरेर मन्जुरीनामा दिएको थियो ।

टिप्पणीहरू