जित्नेको ज्यादति हुने हो र लोकतन्त्रमा ? « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

जित्नेको ज्यादति हुने हो र लोकतन्त्रमा ?



– दिनेश रायमाझी

एमाले पार्टी र त्यसका अध्यक्ष कमरेडलाई यो अवसर भनेको ‘विण्ड फल नै हो । करिब दुई तिहाइ बराबरको जित हासिल गरी सरकार बनाउने, त्यो पनि कम्युनिष्ट पार्टीको ! यस्तो अवसर त भाग्यमानीलाई मात्रै प्राप्त हुन्छ । त्यसकारण यो विण्ड फल हो ।

‘प्रचण्डजी, हामी दुई अध्यक्ष भएकाले कार्यक्षेत्र बाँडौं । तपाईं पार्टी चुस्त तरिकाले र निर्धक्कसाथ चलाउनुस् । सबैलाई समेटेर, कसैलाई काखा र पाखा नगरी एउटा कम्युनिष्ट पार्टीलाई जसरी चलाउनुपर्ने हो ठीक त्यसैगरी चलाउनुस् । म पनि जनताको मुद्दालाई केन्द्रमा राखी पार्टीले अघि सारेका एजेण्डालाई आधार बनाएर पार्टीकै निर्देशनमा काम गर्छु । देशलाई समृद्ध बनाउने हो । सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्ने काममा एक भएर लाग्नुपर्छ ।’

यिनलाई यति भन्दै जिम्मेवारी दिएको भए र माधव, झलनाथ, वामदेव कमरेडहरूलाई साथमा राखेर ल भन्नुहोस् अब को–को कमरेडलाई कुन–कुन मन्त्रालय जिम्मा दिने ? अख्तियारमा कसलाई लाने, निर्वाचन आयोगमा को ठीक होला ? यसरी सल्लाह गरेर काम गरेको भए नेपालको स्वरूप बदलिन शुरु भइसकेको हुने थियो यो साढे ३ वर्षको अवधिमा । तर, यस्तो भएन । अख्तियारमा मेरै, मन्त्री मेरै, निर्वाचन आयोगमा मेरै, राजदूत पनि मेरै, जताततै मेरै चाहिन्छ भन्दा कुरा बिग्रियो । हिन्दीमा एउटा शायरी छ–

‘जब कुर्सी मिली तो क्या से क्या हो गए वो,
खुद अपनि नजर में खुदा हो गए वो । ‘
ठ्याक्कै यस्तै भयो । कसैलाई नगन्ने र नटेर्ने ।

गरिबका निम्ति ठिक्कैका आवास निर्माण गरी बाँड्ने काम गर्न सकिन्थ्यो । तराईमा नहर बनाउने अभियान चलाउन सकिन्थ्यो । भ्रष्टाचार र अनियमितताले लागत बढिरहेका तर पूरा नभइरहेका गौरव लाग्ने परियोजना पूरा गर्न सकिन्थ्यो । बन्द भएका उद्योग, कलकारखाना पुनःसञ्चालनमा ल्याउन सकिन्थ्यो । बिचौलिया हटाउन, महँगी नियन्त्रण गर्न सकिन्थ्यो । मल सस्तो बनाउन सकिन्थ्यो । देशमा ठूलो रोजगारी सिर्जना गर्न सकिन्थ्यो । कोरोना कालमा जनतालाई राहत बाँडेर मन जित्न सकिन्थ्यो । यस्तो गरेको भए प्रधानमन्त्रीको व्यक्तिगत उचाइ कति बढ्दो हो, कम्युनिष्ट पार्टीको उचाइ कति बढ्दो हो ? ३० वर्षमा पूरा भएको योजनाको धाराको टुटी खोलेर पानी झार्दा त खुशीले गद्गद् भएर आशीर्वाद दिने जनताले के मात्रै नगर्दा हुन् प्रमलाई  चुच्चे रेल र पानीजहाजको नक्सा देख्दा रेल चढेको ठान्ने, प्रशान्त महासागरमा जहाज चलेको मान्ने जनताले यस्तो गरेको भए कति तारिफ गर्थे होलान् ।

‘बा’ मात्रै होइन बा पनि तिमी नै, आमा पनि तिमी नै, साथी पनि तिमी नै भन्ने थिए । यस्तो असाधारण अवसरलाई सदुपयोग गरेर इतिहास निर्माण गर्ने ऐतिहासिक अवसरबाट चुक्नुभयो । देवकोटाले लेखेको कविता ‘मै खाऊँ, मै लाऊँ’ भन्ने मार्गमा चल्नुभयो । यसले न प्रधानमन्त्रीको भाग्य फुटायो, बरु सारा नेपालीको भाग्य फुटाइदियो । अरूणा लामाको गीतको एक पंक्ति यस्तो छ ..‘भाग्य फुटे सिउँथें बरु मनै फाटे केले सिउने हो …! कर्मले नै भाग्य बनाउने र फुटाल्ने हो । मिल्ने र सहिमार्ग लिने हो भने भाग्य सिउनमात्रै होइन कि चम्काउन सकिन्छ । जागृत हुन प¥यो, बस् ।

कुनै पनि हितकारी काम गर्नबाट प्रधानमन्त्रीलाई रोक्न सक्ने तागत, कुनै शक्तिमा थिएन, अझैसम्म पनि छैन यदि मिलेर फेरिबाट काम थाल्ने हो भने । मौका अझै छ गर्ने हो भने । कस्तुरीले आफँैबाट निस्केको सुवाष थाहा नपाएर अन्त खोज्दै हिँड्छ भन्छन् । हाम्रा प्रधानमन्त्री आफूले जनताको मतद्वारा हासिल गरेको अपार शक्तिलाई नचिनेर अन्यत्र भौंतारिँदै हुनुहुन्छ । यो बडो दुःखलाग्दो कुरा छ । अर्को कुरा पनि भनौं, इतिहास अरूले लेख्ने हो । आफूले त बनाउने मात्रै हो । इतिहास राजनीतिमा बलमिच्याइँ गरेजसरी हप्काएर, दप्काएर, धम्क्याएर, लोभ्याएर लेखाउन सकिन्न । शक्तिको बलमा इतिहास लेख्न सम्भव हुन्न । इतिहासको सोझ्याई सहन नसकिने हुन्छ । सबैले ख्याल गर्नु राम्रो हुन्छ ।

हुन त हामीले लडेर ल्याएको हो आजको लोकतन्त्र तर यो लोकतन्त्रजस्तो भने छैन । लोकतन्त्र त विधिविधानले चल्छ, सहमति र सल्लाहबाट चल्छ । यो आवरणमा मात्रै सीमित भएको छ । ‘विनर टेक्स् अल’ त लोकतन्त्र होइन । मैले जितेको हुुँ, त्यसकारण मैैैले भनेको हुनुपर्छ, म नै सर्वेसर्वा हुँ भन्नेजस्तो छ । यस्तो ‘विनर टेक्स् अल’ त कि तानाशाहीमा हुन्छ कि अधिनायकवादमा । लोकतन्त्रमा यस्तो हुँदैन । संसद्मा विपक्षी दलहरू हुन् अथवा पार्टीभित्रका अल्पमतवाला हुन्, यी दुवैको आ–आफ्नो ठाउँमा उत्तिकै ठूलो र महत्वपूर्ण भूमिका छ । लोकतन्त्र यिनीबिना चल्दैन । यिनीहरूको महत्व त्यहाँ यिनका सदस्यको उपस्थितिको संख्याले नभएर भूमिकाले तय गरेको हुन्छ । तर, यहाँ त, चाहे त्यो अन्य दलमा होस् अथवा एमाले स्वयंमा, जित्नेको बाहेक अरूको हैसियतसमेत अस्वीकार्यजस्तै छ । यो सत्य हो तर यो सत्यलाई जान्न चाहिरहेका छैनन् । अंग्रेजीमा एउटा भनाइ छ, जसको नेपाली अनुवाद यस्तो छ– सत्य थाहा नपाउनु ठूलो कुरा होइन तर थाहा पाउने चेष्टा नगर्नु भनेको अशिक्षित हुनु हो, विचाररहित रहनु हो । अरिँगाल प्रवृत्ति देख्दा त हो कि झैं लाग्ने ! नेतृत्वको राजनीतिक वस्त्र अरिँगालले धुजाधुजा पारेका छन् ।

समयमा नखाएको दबाई पनि विषबराबर हो भन्छन् हाम्रोतिर । एकजना आमा हुनुहुन्थ्यो, अरू धेरै रोगसहित सुगरको पनि रोगी । जे नखान भन्यो त्यही खान खोज्ने । गुलिया जे छन् त्यही खाइदिने लुकिलुकी । दबाई दियो खाएजस्तो गर्ने तर नखाइदिने । आफ्नै कारणले रोगसँग लड्न नसकेर परलोक हुनुभयो अल्लि छिट्टै । एमालेलाई पनि रोग धेरैथरीको लागेको कुरा लुकेको छैन । तर, ऊ पनि ती बूढीआमाजस्तै रोगको दबाई खान मानिरहेको छैन । खान नहुने कुरा मात्र खाइरहेको छ । रोग कानमा, आँखामा र टाउकोमा छ तर ऊ नाइटोतिर मल्हम लगाउँदै छ । यो विवादमा धेरै मान्छे धेरै हिसाबले जिम्मेवार छन् । त्यसकारण कसैलाई स्पष्टीकरण सोध्नुपर्ने आवश्यकतै थिएन । निलम्बनको त झन् जरुरी नै थिएन । हाँँगा र पात भएको रूख मात्रै राम्रो देखिन्छ भन्छन्, त्यही भएर किसानले सकेसम्म रूखको हाँँगा काट्दैनन् ।

माधव, सुरेन्द्र, वामदेव, झलनाथ, घनश्यामहरू नभएको एमाले हाँँगा काटेको धोद्रो रूखजस्तै हो उजाड र कुरूप । घाँस नहुने, दाउरा पनि नहुने ठुुटो रूखको के महŒव हुुुुन्छ र ? शक्ति के हो भनेर चिन्न ३ कक्षामा पढ्दा प्राक्टिकल गर्न लगाएर बताउनुभएको थियो गुरुले । गुरुले अम्लिसोको कुचो ल्याउनुभयो कक्षामा र मसिना हाँगा त्यसबाट दुइटा निकाल्नुभयो । ल यसलाई भाँच भनेर दिनुभयो । सबैले पटापट भाँच्यौं । त्यसपछि फेरि सिंगो कुचो दिनुभयो र त्यसलाई पनि भाँच्न भन्नुभयो । त्यत्रो मोटो कुचो भाँच्ने कसको तागत, भाँचिएन । बुझ्यौ त शक्ति भनेको के रहेछ ? मान्छेलाई निकालेर, बाहिर पठाएर शक्तिशाली भएको दाबी गर्नु शक्ति के हो नबुझेको हो । जुट्दा, एकताबद्ध हुँदा मात्रै शक्तिशाली बनिन्छ । यो सामान्य कुरा पनि नबुझ्ने वा बुझ्न नचाहने भनेको त अशिक्षित नै हुनु हो, विचारहीन नै हुनु हो । यस्तो अवस्थाबाट ननिस्केसम्म अशिक्षित र विचारहीन भएको बात त लागिरहन्छ । आगे आफ्नै मर्जी, धन्यवाद !

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आदर्श उदाहरणको अपारदर्शी व्यापार
पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु
तपाईंलाई झुक्याए के गर्नुहुन्छ श्रीमान ?
शिलान्यास हुनासाथ तयार हुन्छ र अस्पताल ?