कोरोनाले नरोके नामिबियासँग सिरिज खेल्ने तयारी

कोरोनाले नरोके नामिबियासँग सिरिज खेल्ने तयारी

त्रिदेशीय क्रिकेट सक्किए लगत्तै नेपाले नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आउँदो मे महिनाको तेस्रो हप्ता नामिबियासँग एक दिवसीय सिरिज खेल्ने तयारीमा जुटेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो ।

खेल खेल्ने पक्का गर्दै त्यसको तयारी तीब्र बनाउने निर्णय बोर्डले गरेको बताउनुभएका प्याकुरेलले कोरोना महामारीले नरोकेसम्म सिरिज नेपालमै गर्ने गरि बोर्ड तयारीमा लागेको बताउनुभएको छ ।  नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ ।

यस्तै, आइतबार बसेको क्यानको बैठकले राष्ट्रिय महिला टोलीलाई मैत्रीपूर्ण खेलको लागि भारत भ्रमणमा पठाउने निर्णय गरेको बताइएको छ । टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग मैत्रीपूर्ण खेल खेल्ने बोर्डले जनाएको छ । तर भारतमा दिनप्रतिदिन बढिरहेको कोरोना महामारीका कारण खेल हुने नहुने भन्ने विषयमा अझै छलफल जारी रहेको प्याकुरेलले बताउनुभयो ।

बैठकले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ भने त्रिदेशीय क्रिकेटको ठेक्का यसअघि नै जोहरा स्पोर्टसलाई दिएको छ ।

टिप्पणीहरू