पत्रकार महासंघमा कसरी आयो यस्तो परिणाम ?

पत्रकार महासंघमा कसरी आयो यस्तो परिणाम ?

नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । पहिलो पटक १३ हजारभन्दा बढी पत्रकारले प्रत्यक्ष मतदानमार्फत नेतृत्व छानेका हुन् ।

केन्द्र,प्रदेश र जिल्ला नेतृत्वका लागि एकैसाथ भएको निर्वाचनमा मुख्यगरी दुई वटा गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा काँग्रेसनिकट प्रेस युनियन,माओवादी केन्द्रनिकट प्रेस संगठन,एमाले (माधव नेपाल) निकट प्रेस चौतारीसहित ११ वटा संगठनको प्रगतिशील–लोकतान्त्रिक गठबन्धन र एमाले ओलीपक्षीय प्रेस चौतारी,जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च, विप्लवनिकट प्रेस संगठनसहित ९ वटा संगठनको गठबन्धनले प्रतिस्पर्धा गरेका थिए ।
हिजो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रगतिशील–लोकतान्त्रिक गठबन्धनले एक जना केन्द्रीय सदस्यबाहेक केन्द्रीय समितिका सबै पदमा बाजी मारेको छ । गठबन्धनका तर्फबाट अध्यक्षको साझा उम्मेदवार बनेका विपुल पोखरेलले अर्को गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार रहेकी निर्मला शर्मालाई भारी मतले पराजित गरेका छन् ।

प्राप्त परिणामअनुसार झण्डै ३ हजार मतान्तरले पोखरेलले शर्मालाई पछाडि पारेका हुन् । शर्माले ३ हजार ९ सय १५ मत ल्याउँदा पोखरेलले ६ हजार ९ सय ४२ पाए । अध्यक्षका अन्य दुईजना उम्मेदवारमध्ये गजेन्द्र बुढाथोकीले ४ सय ९१ र रामप्रसाद दाहालले १ सय ५६ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रगतिशील–लोकतान्त्रिक गठबन्धनकै रमेश बिष्टले जितेका छन् । यसअघि महासचिव रहेका बिष्टले ६ हजार ७ सय ४१ मत ल्याउँदा शर्मापक्षीय उम्मेदवार माधव नेपालले ३ हजार ७ सय १ मत ल्याएका छन् । त्यस्तै,महिला उपाध्यक्षमा बाला अधिकारीले ७ हजार २ सय २६ प्राप्त गर्दा दाना केसी सुवेदीले ३ हजार ५ सय २ र समावेशी उपाध्यक्षमा उदय जीएमले ६ हजार १ सय १७ र अवधेश झाले ३ हजार ५ सय ६१ प्राप्त गरेका छन् ।
त्यसैगरी,महासचिवमा रोशन पुरीले ६ हजार २ सय ४२ मत प्राप्त गरेर ३ हजार ८ सय ६० मत प्राप्त गरेका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । सचिव खुल्लामा गोविन्दप्रसाद चौंलागाईंले ६ हजार ७१ मत प्राप्त गरेर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी पोखराका रामकृष्ण ज्ञवालीले ३ हजार २१ मत प्राप्त गरेका छन् ।

महिला सचिवमा सृजना अर्यालले ६ हजार ५ सय ८० र निमा काफ्लेले ४ हजार ८९ पाएका छन् । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बुले ६ हजार ३ सय तथा निकटतम प्रतिद्वन्दी शाहीमान राईले ३ हजार २ सय ८९ मत पाएका छन् । एशोसिएट सचिवमा पवन आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी रामेश्वर कार्कीले २ हजार ८ सय मत पाएका छन् ।

५ हजार ६ सय ७८ मतसहित विपुल प्यानलकै कलेन्द्र सेजुवालले कोषाध्यक्ष जित्दा निकटतम प्रतिस्पर्धी शर्मा प्यानलकाले ३ हजार २ सय ७८ मत पाएका छन् । त्यस्तै,लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले ५ हजार ६ सय ८८ मत पाउँदा द्वारिकाप्रसाद काफ्लेले ३ हजार १ सय ९१ मत ल्याएका छन् ।
महासंघको प्रदेश समिति र जिल्ला शाखामा पनि प्रगतिशील–लोकतान्त्रिक गठबन्धनले नै अधिकांश ठाउँमा जितेको छ । भूगोल र गैरभूगोलका गरी १० प्रदेशमा अध्यक्षसहित अधिकांश पदमा बाजी मारेको गठबन्धनले झण्डै ७० जिल्लामा अध्यक्ष जितेको छ ।

वामपन्थीहरू विभाजित हुँदा यसपटक काँग्रेसले फाइदा उठाएको छ । केन्द्रमा अध्यक्षसहित बहुमत पदाधिकारी हात पारेको काँग्रेसनिकट युनियनले प्रायः सबै प्रदेशको अध्यक्ष जितेको छ । त्यस्तै,४३ जिल्लामा अध्यक्ष जितेको युनियनले यसअघि कहिल्यै नजितेका कतिपय जिल्लाको नेतृत्वमा कब्जा जमाएको छ ।

टिप्पणीहरू