कांग्रेस बैठकमा बाबुरामको प्रस्तावले प्रवेश पाउने

कांग्रेस बैठकमा बाबुरामको प्रस्तावले प्रवेश पाउने

अस्ति सम्पन्न काँग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको छलफलले नयाँ सरकार गठनको ढोका खोलेको दाबी गरिएका बेला आज त्यहिबारे छलफल गर्न काँग्रेस र जसपाको पदाधिकारी बैठक बसेको छ ।

एकै समयमा बोलाइएको दुई पार्टीको बैठकमा भावी सत्ता समीकरणबारे चैत २७ गते बूढानिलकण्ठमा भएको त्रिदलीय छलफलका विषयमा केही धारणा आउनसक्ने बताइएको छ ।

काँग्रेस बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले गरेको प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सर्वपक्षीय छलफल गरिरहनुभएका डा.भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेसले नल्याउने भए जसपालाई समर्थन गर्न प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा भट्टराईको प्रस्तावबारे छलफल हुनसक्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले संकेत गरे । ‘मैले अहिले नै त्यसबारे भन्न मिल्दैन । तर, समसामयिक राजनीतिका बारेमा छलफल हुन्छ । बैठकपछि सबै जानकारी पाउनुहुनेछ ।’ उनले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा र १४औं महाधिवेशनका विषयमा छलफल हुने पनि बताए ।

यता,भावी सत्ता समीकरणबारे छलफल गर्न जसपाको पनि पदाधिकारी बैठक बस्दैछ । बैठकमा अस्ति कांग्रेस,माओवादी केन्द्र र जसपाको बैठकमा भएका छलफलबारे धारणा तय हुने पनि बताइएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल हुनसक्ने जसपाका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको काँग्रेसले चैत २७ गते माओवादी केन्द्र र जसपासंग छलफल गरेको थियो । छलफलमा सभापति देउवाले सरकार गठनका लागि सहयोग माग्नुभएको थियो । जसपाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको थियो ।

टिप्पणीहरू