गोवा हिँड्यो सेनाको फुटबल टिम

गोवा हिँड्यो सेनाको फुटबल टिम

फुटबलको इतिहासमा नयाँ इतिहास रच्न नेपाली सेनाको यौटा टोली भारततर्फ प्रस्थान गरेको छ । नयाँ वर्ष बैशाख १ गते भारतीय टिमसँग प्रतिस्पर्धा गर्न भर्खरै टोली गएको हो । भारतीय पूर्व राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्रीको बैंगलोर फुटबल टीमसँग गोवामा बुधबार हुने प्रतिस्पर्धाको लागि टोली साढे ११ बजे नेपाल वायुसेवाको उडानबाट नयाँ दिल्लीतर्फ गएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

एशियन फुटबल कन्फेडरेशन (एएफसी ) को लिग प्रतियोगिता खेल्ने अनुमति नेपालका कुनै पनि टोलीले प्राप्त नगरेको अवस्थामा सेनाको क्लबले उक्त लक्ष्यलाई पछ्याउँदै गोवा प्रस्थान गरेको बताइएको छ । नेपाली फुटबल इतिहासको ५० वर्षसम्म त्यसप्रकारको लिग खेलका लागि आवश्यक भौतिक पूर्वाधारको अभावमा सैन्य क्लबले उक्त आवश्यकता पूरा गरेको हो ।

एएफसी लिगमा भाग लिन क्लबको आफ्नै ग्राउण्ड र पूर्वाधार हुनुपर्छ । तर नेपालमा विभागीय बाहेक अन्य कुनैपनि फुटबल क्लबसँग त्यो सुविधा छैन । त्यहि कारण एन्फाले हर्जाना तिर्नुपरेको बताइन्छ । एशियाली देश भएको नाताले एक वा दुई वटा क्लबलाई एएफसी लिगमा प्रवेश गराउनैपर्ने अवस्था देखिन्छ ।

अहिले त्यो काम नेपाली सेनाको फुटबल क्लबले गरेको छ । नेपाली सैनिक फुटबल क्लब,ललितपुरमा दर्ता भएको नयाँ टिम हो । यसअघिको आर्मी क्लबले त्यसको हैसियत नपाउने देखिएपछि नयाँ क्लब दर्ता गरिएको सैन्य स्रोतको दाबी छ । दर्ता भएको सेनाको नयाँ क्लबले एएफसीको सदस्यता प्राप्त गरेको झण्डै पाँच महिना भइसकेको छ ।

त्यहि क्लबले अघिल्लो हप्ताको बुधबार श्रीलंकाको पुलिस टिमलाई काठमाडौंमा ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा आज त्यहि क्लबको ३० जनाको टोली त्यता गएको हो ।

गोवामा हुने प्रतिस्पर्धाको सबै खर्च एएफसीले व्यहोर्ने बताइएको छ । नयाँ वर्षको दिन सेनाको क्लबले भारतीय फुटबल टिमसँग भिड्ने छ । काठमाडौंमा श्रीलंकाको प्रहरी टोलीलाई जितेपछि सेनाले गोवामा समेत जित्ने आश गरिएको छ ।

गोवामा जित्ने टिमले हाल बंगलादेशमा खेलिरहेको माल्दिभ्स र बंगलादेशको टोलीमध्ये विजयीसँग खेल्नेछ । त्यो खेल पनि प्रतिस्पर्धी मुलुकका ग्राउण्डमा पालैपालो खेलाइनेछ । त्यसमा जितेपछि भने विजयी टिम युरोपेली मुलुकका विभिन्न क्लब ग्रुपसँग खेल्नको लागि योग्य हुनेछ ।

यता नेपाली सेनाको नयाँ क्लब सबै खेलाडी आफ्नै क्याडर रहेको बताइएको छ । कतिपय खेलाडी सिपाहीमा समेत भर्ना भएका छन् । नयाँ क्लबमा रहेका खेलाडी सबैलाई शैक्षिक योग्यता र अन्य योग्यता पुग्नेगरी सेनामा भर्ना गरिएको छ । उनीहरूलाई जुन दर्जामा फिट हुन्छन्,त्यही दरबन्दी दिएर फुटबल खेलाइएको हो ।

आज हिँडेको सेनाको टोली आफ्नै जहाज कासामा जाने तयारी थियो । तर, त्यसरी जाँदा खर्चिलो हुने देखिएपछि क्यान्सिल्ड गरेर नियमित उडानमा व्यवस्था गरिएको बताइन्छ । गोवासम्म जाँदा रिफ्युलिङको लागि ल्याण्डिङ चार्ज मात्रै झण्डै डेढ दुई लाख तिर्नुपर्ने देखिएकोले नियमित उडानमा जाँदा किफायती हुने भएपछि त्यसो गरिएको सेनाको उच्च स्रोतले बताएको छ ।

टिप्पणीहरू