ठगहरुले सिध्याउन लागे प्रधानमन्त्रीज्यू !

ठगहरुले सिध्याउन लागे प्रधानमन्त्रीज्यू !

डलर अर्बपति शेष घलेका नक्कली भाइको परिचयमा दुनियाँ ठग्दै आएका गमबहादुर लामिछाने बिक फेरि अर्को ३ करोड रुपैयाँ ठगीमा तानिएका छन् । यसअघि २ करोड रपैयाँको चेक बाउन्स गराएको कसुरमा चैत १६ गतेदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका उनीमाथि दर्जनौं ठगीको उजुरी परिसकेका छन् ।

प्राप्त विवरणअनुसार गमबहादुरले पूर्वमाओवादीको युवा दस्ता वाइसिएलका महासचिव र माओवादीकै गृहमन्त्री रहिसकेका नेताका छोराहरूलाई प्रयोग गरेर आफूविरोधीलाई जिल्ला,उच्च अदालतलगायत विभिन्न निकायमा थानका थान उजुरी ठेली स्टे अर्डर ल्याउँदै निर्वाध ठग्दै,बच्दै गरेको रहस्य खुलेको छ । दलितको परिचय लुकाएर आफूलाई शेष घलेको भाइको नाममा दुनियाँ ठग्दै आएका लामिछाने लमजुङ,घनपोखरा-१ का वासिन्दा हुन् ।

“एकातिर डेराको बास छ तर करोडको चेक बाउन्स गराउँछन् अनि करोडको आश्वासन दिएर हिँड्दा पनि केही मान्छे उसैको पछि लाग्नु बुझिनसक्नु छ ।”

उनले दिएको २ करोड रुपैयाँको चेक बाउन्स भएपछि बैंकिङ कसुरअन्तर्गत श्रीबहादुर खड्काले हालेको मुद्दामा वाणिज्य इजलास,उच्च अदालत पाटनका न्यायाधीश ईश्वरराज आचार्यको आदेशबमोजिम लामिछाने प्रहरी हिरासतमा पुगेका हुन् । २ करोड रुपैयाँ ठगीको चेक बाउन्सबाट पीडित खड्का स्वयम् ०४० सालदेखिकै जनमोर्चा र माओवादी हुन् ।

हिजाे चैत २८ गते गमबहादुरमाथि थप ३ करोड रुपैयाँको चेक बाउन्स भएपछि बैंकिङ कसुरको अर्को आरोप लागेको छ । प्राप्त विवरणअनुसार उनले चिनियाँ नागरिकहरूलाई वैदेशिक लगानीको नाममा ठग्ने क्रममा उक्त घटना भएको हो । लामिछानेले विदेशीलाई नेपालको घर जग्गामा प्रत्यक्ष लगानीको इजाजत नरहेको झुठो विवरण पेश गरेर आफूलाई शेष घलेको भाइ भन्ने विश्वास दिलाउँदै संयुक्त लगानीको नाममा आफ्नो तर्फबाट एक सुको नहाली दुई बर्षदेखि नेपाल नै नटेकेका चिनियाँको नक्कली सही धस्काएर कम्पनी आफ्नो एकलौटी बनाएका थिए ।

संयुक्त लगानीको नाममा चितवन अस्पतालका चिकित्सक मनोहर प्रधानलगायतको स्वामित्वमा रहेको ५ बिघा जमिनमा घाँस खेती र त्यसको उत्पादन कारखाना स्थापना र कालान्तरमा सोसमेत कब्जा गर्ने गरी चितवन जिल्ला अदालतमा झुठो विवरण र कागजात संलग्न गरेर स्टे अर्डर लिएका थिए । विभिन्न किसिमले अदालतबाट यसअघि प्राप्त अन्तरिम आदेशबाट उनले कारखाना र अन्य भौतिक सम्पत्तिमाथि अनधिकृत कब्जा जमाएको कागजातबाट पुष्टि भएपछि अघिल्लो शुक्रबार न्यायाधीश शकुन्तला कार्कीको इजलासबाट लामिछानेले पाएको यसअघिको अन्तरिम आदेश बदर भएको छ ।

घटनाक्रमअनुसार सन् २०१९ को जुलाईमा चिनियाँ र लामिछानेबीच भएको व्यावसायिक सम्झौता र कागजातमा टीयानयु इन्टरनेशनल अर्थात् नयाँ क्षितिज कम्पनीमा चार जनाको संयुक्त लगानी रहेको देखाइएको छ । जसमा तीन जना चिनियाँ नागरिकको संलग्नता देखिन्छ । त्यसमा लगानी गर्ने भनिएका गमबहादुर एक्लो नेपाली हुन् तर उनको सुको लगानी देखिँदैन । यिनै पैसा लगानी गर्ने तीन जना चिनियाँलाई आफ्नो वास्तविक परिचय र थरसमेत ढाँट्ने गमबहादुरले मूर्ख बनाएका हुन् ।

यसबीच उनले चिनियाँहरूको किर्ते दस्तखत गरेको समेत प्रमाणित हुन आएको छ । चीनबाट दुई वर्षदेखि नेपाल नआएका चिनियाँको नक्कली दस्तखत गरेर काेराेनाकाे लकडाउनवीच कम्पनी रजिस्ट्रार कार्यालयबाट केही कागजात यसबीच प्रमाणित गराइएको हो । स्रोत भन्छ ‘सरकारी कार्यालयका कर्मचारीलाई घुस ख्वाएर,नक्कली दस्तखत गरेर कम्पनीलाई सतप्रतिशत आफ्नो बनाएको र प्रधानमन्त्रीका भतिज टीका ओलीको नामसमेत कतिपय ठाउँमा बेचेको देखिन्छ ।’

त्यसैगरी उनले टोखा रोडमा रहेको तर चिनियाँले किनेको १३ आना जग्गामा बनेको घरलाई समेत आफ्नो नाममा बनाएका छन् । उनले विदेशीले पैसा हालेको घरलाई कम्पनीको नाममा नामसारी गरिदिन्छु भनी करार गरे पनि करार एक्लौटी उल्लंघन गर्दै सेन्ट्रल फाइनान्समा धितो राखेर एकपटक २ करोड,त्यसपछि सिभिल बैंकबाट सवा २ करोड निकालेको प्रमाण भेटिएपछि जिल्ला अदालत,काठमाण्डौले घर रोक्का गरेको छ । पटक पटक विभिन्न बैंकमा अर्काको घर राख्दै,करोड लिँदै खाँदै ठाउँ ठाउँमा रहेका श्रीमतीहरूलाई पाल्दै आएको समेत अनुसन्धानबाट खुलेकाे प्रहरी स्रोतको दाबी छ ।

हुन पनि सुको आम्दानी नदेखिएका उनले यसबीच लमजुङमा दुईवटा घर बनाएका छन् भने घनपोखरामा अरूकै नाममा २२ रोपनी जग्गा जोडेका छन् । तर पटक पटक बैंकिंग कसुर र ठगीमा प्रहरी हिरासतमा परेपनि उनलाई छुटाउन नसोचेका मानिसको अदालत र प्रहरीतिर कुदाकुद हुने गरेको पाइएको छ । त्यसरी छुटाउन जानेहरूले लामिछाने धेरै धनी रहेको र विदेशबाट धेरै लगानी रकम आउने आश्वासन दिने गरेको बताइन्छ । कतिपय अवस्थामा नेपाल सरकारका उपसचिव समेत त्यो हर्कतमा सम्लग्न रहेको देखिन आएको छ ।

केही जग्गा दलाली तथा वाईसीएलका सीमित दलित कार्यकर्ताहरूलाई प्रयोग गरेर उनी पटक पटक प्रहरी हिरासतबाट छुटेको देखिन्छ । लामिछानेको उक्त ठग प्रवृत्ति ०६७ सालदेखि जारी रहेको प्रहरी विवरणबाट पनि पुष्टि हुन्छ । पछिल्लो दश वर्षवीच उनी विभिन्न बैंकको कालोसूचीमा समेत निरन्तर पर्दै आइरहेका छन् ।

यो अवधिमा सिद्धार्थ बैंकलगायत धेरै वटा बैंक तथा वित्तीय संस्थाले लामिछानेलाई बैंक ठगीमा कारबाही अघि बढाएका छन् । अघिल्लो पटक घर किन्नको लागि चिनियाँहरूसँग ६ करोड ३० लाख रुपैयाँ ऋण लिएको र घाँस फ्याक्ट्रीको सामान किन्न २ करोड ७० लाख रुपैयाँ बुझेको अडियो,भिडियो तथा लिखत सबै प्रमाणहरू सुरक्षित भेटिएको छ ।

उनले चितवनको फ्याक्ट्रीमा कार्यरत २२ जना कर्मचारी,बिजुली,जग्गाभाडा,२ सय जना किसानसँग उनीहरूको बारीको मकै किन्ने सम्झौतालाई समेत उल्लंघन गरेर सबैलाई चिल्लिबिल्ली पारेको समेत देखिन आएको छ । त्यसपछि उनले ती सबै सम्पत्ति र कारखाना आफ्नो व्यक्तिगत रहेको दाबी गर्न थालेका हुन् । चितवनमा कम्पनीले ५० बिघा जमिन लिजमा लिएको छ । करोडौं लगानीमा स्थापित मेशिन र सवारी साधन अलपत्र अवस्थामा देखिन्छन् ।

यता कम्पनीलाई लथालिंग पारेर विभिन्न ठाउँमा ठगी गर्दै हिँडेका लामिछानेले जग्गा दलालीसमेत गरेको भेटिएको छ । नेपाली समाजमा लामिछाने नयाँ खालका बिचौलिया र ठगको पर्यायवाची बनेका छन् । अहिले यस्तैको जगजगी देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने सुशासनको पक्षमा आवाज उठाउँदै आउनुभएको छ । सरकारले सुशासनको जतिसुकै नारा दिए पनि धेरैजसो अदालत र प्रहरीको मुद्दा फाँटमा जाने हो भने त्यसको उल्टो दृश्य मात्र देखिन्छ ।

भुक्तभोगीहरूका अनुसार जसले ठगीको नियती भोगिरहेका छन् कर्मचारीहरूले पनि ठगहरूसँगै मिलेर आफूहरूको मुद्दा र उजुरी दर्ता हुनै दिँदैनन् । दर्ता गरेको अवस्थामा पनि सबै सूचना ठग अर्थात विपक्षीलाई उपलब्ध गराउने गरिएको भेटिएको छ । यस्तो काममा राजधानीकै मुद्दा फाँटका त्यसमा पनि घर जान लागेका कर्मचारी र केही सुरक्षाकर्मीको समेत प्रयोग हुने गरेको पाइएको हो ।

“एकजना न्यायाधीशकी श्रीमतीलाई समेत लाखौं ठग्न भ्याएका छन् ।”

एकातिर यस्ता गलत मनशायका मान्छेलाई कानुनले छुट दिँदै जाने प्रवृत्ति बढेको छ,अर्कोतर्फ कमजोर कानुनको फाइदा उठाएर उनीहरूले नै फाइदा लिने बेमेल खालको अवस्था सिर्जना भएको छ । लामिछानेको सन्दर्भलाई हेर्ने हो भने उनीबाट ठगिन अब कोही बाँकी देखिँदैन । प्रहरीका ठूलाबडादेखि भूपूकर्मचारीलाई सित्तैंमा सेयर बाँड्ने आश्वासन दिँदा पनि सबैले पत्याउनुचाँहि सबैभन्दा अचम्मको विषय बनेको छ ।

रमाइलो पक्ष के देखिन्छ भने डेरा बस्ने र सँधै स्कुटीको यात्रा गर्ने लामिछानेले करोडौंको सेयर उपलब्ध गराउने आश्वासन दिँदा केहीले पत्याएका छन् । एकातिर डेराको बास छ तर करोडको चेक बाउन्स गराउँछन् अनि करोडको आश्वासन दिएर हिँड्दा पनि समाज उसैको पछि लाग्नुको बुझिनसक्नु छ । सोहीक्रममा सर्वोच्च अदालतका एकजना न्यायाधीशकी श्रीमतीलाई समेत लामिछानेले लाखौं ठग्न भ्याएका छन् । तर,लाजगाल,सम्पत्तिको श्रोत देखाउने बाध्यता र मानप्रतिष्ठाले उनीहरू खुल्न सकिरहेका छैनन् ।

लामिछानेको सन्दर्भमा अर्को रमाइलो पक्ष पनि देखिएको छ । प्रहरी हिरासतमा पर्नेबित्तिक्कै उनलाई छुटाउन दलित नेताहरू नै हारगुहार गर्दै जाने गरेको प्रहरीको तीतो अनुभव छ । तीमध्ये पनि माअाेवादी नेताहरू बढी रहेको बताइन्छ । प्रहरीका अनुसार कोही कोहीको खाइजीविकाको आधार नै त्यस्तालाई छुटाउने पेशा भएकाले कुनै अनौठो नभएको हो ।

“ठगको बिगबिगीले विदेशीहरू लगानी छाडेर रुवाबासी गरी स्वदेश फर्कने हो भने हाम्रो जस्तो मुलुकमा लगानी गर्न भनेर कुन विदेशी आउलान् ?”

विगतमा रहेको ठगी गिरोहलाई छुटाउने र शुभलाभ गर्ने र्याकेट समूह अझै सक्रिय रहेको आशंका पनि यसबीच बलशाली हुँदै गएको छ । लामिछानेविरुद्ध ठगीका २ दर्जनभन्दा बढी मुद्दा र उजुरी रहेको बताइन्छ । यसबाट क्रमशः विदेशी लगानी हतोत्साही हुँदै गएकोतर्फ सम्बन्धित निकायको ध्यान पुगेको देखिन्न ।

मुलुकको आर्थिक समृद्धि,व्यावसायिक प्रतिस्पर्धा,सुदृढ तथा रोजगारउन्मुख अर्थतन्त्र,पूर्वाधार,वस्तु तथा सेवाको उत्पादनमा विदेशी पुँजी,प्रविधि र लगानी आकर्षण गर्न सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ल्याएको हो । सोहीबमोजिम नेपाल राष्ट्र बैंक र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,उद्योग विभागले लगानी स्वीकृति प्रदान गर्ने गरेका छन् ।

विदेशीहरू ठगिएका यस्ता पटक पटकका समाचारले नकारात्मक असर पार्न थालेको छ । उसै त आर्थिक रुपमा विपन्न नेपाल,त्यसमा पछिल्लो एक वर्षदेखि कोरोनाले थप समस्या उत्पन्न गराएको छ । यो अवस्थाले ठगहरूले राजनीतिक आवरणमा उन्मुक्ति पाउने सम्भावनालाई झन् बलियो बनाइदिएको छ ।

ठगको बिगबिगीले विदेशीहरू लगानी छाडेर रुवाबासी गरी स्वदेश फर्कने हो भने हाम्रो जस्तो मुलुकमा लगानी गर्न भनेर कुन विदेशी आउलान् ? त्यहि सन्दर्भमा काठमाडौं जिल्ला अदालतले ठग गमबहादुरले कब्जा गरेको विदेशीको जग्गा र तत्कालीन गोंगबु ५ को कित्ता नम्बर १०३ क्षेत्रफलको घरजग्गा रोक्का गरिदिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले उक्त आदेश दिएको हो ।

उता चितवन जिल्ला अदालतका माननीय न्यायाधीश कार्कीले पनि गत शुक्रबार लामिछानेले कब्जा गर्न खोजेको घाँसे कारखानाको सम्बन्धमा यसअघिको अन्तरिम आदेशलाई तुहाई दिनुभएको छ । यसबाट थोरै भएपनि विदेशीले लगानीको वातावरण बन्नसक्नै आश गर्दै लामो सास फेरेको बताइन्छ ।

टिप्पणीहरू