नयाँ वर्षदेखि चार देशका राजदूत सक्रिय

नयाँ वर्षदेखि चार देशका राजदूत सक्रिय

नयाँ वर्षको मुखैमा चार वटा देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने भएका छन् ।

अप्रिल १६ अर्थात् बैशाख ३ गते बिहीबारका दिन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जापान,डेनमार्क,ग्रिस र बुल्गेरियाका नयाँ राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको रास्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

नेपालका लागि जापानका राजदूत आवासीय हुन् भने अरु तीन वटा युरोपेली मुलुकका राजदूतहरू नयाँ दिल्लीस्थित दूतावासका आवासीय तर नेपालका लागि गैरआवासीय हुन् ।

ओहोदाको प्रमाणपत्र बुझाउन आउँदा गैरआवासीय राजदूतहरू १-२ दिन पहिले नै काठमाडौं उत्रन्छन् । त्यसरी आउँदा उनीहरूलाई परराष्ट्र मन्त्रालयले विमानस्थलमा रिसिभ गरेर होटल पुर्याउने,ओहोदाको प्रमाणपत्र बुझाउन शीतल निवास लैजाने र त्यसपछि होटल लगेर अर्को दिन नयाँ दिल्ली फर्कंदा विमानस्थलमा बिदाई गर्ने गर्छ । होटलमा बस्ने र नयाँ दिल्लीबाट आउजाउको खर्च पनि सम्बन्धित मुलुकले नै तिर्ने बताइन्छ ।

जापान नेपालको ठूला दातृ राष्ट्रहरूमध्येको एक हो । नेपालका लागि जापानका नयाँ राजदूत काठमाडौं आइसकेका छन् । उनी करियर डिप्लोम्याट रहेको स्रोतले बताएको छ । राजदूतले जापानको विदेश मन्त्रालयमा लामो समय बिताइसकेका छन् ।

टिप्पणीहरू