चुच्चे नक्सा हराएपछि माइतिघरमा जुलुश,गृहमा तक्मा फिर्ता

चुच्चे नक्सा हराएपछि माइतिघरमा जुलुश,गृहमा तक्मा फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो वितरित मान,पदवी तथा अलंकारमा नेपालको नयाँ नक्साको सट्टा पुरानै राखिएको विरोधमा आज दिउँसो नेकपा एमालेको माधव नेपालपक्षीय युवा संघ नेपालले माइतिघरमा विरोध प्रदर्शन गरेको छ ।

संघका उपमहासचिव रोशन थापाको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले पदकमा नेपालको नयाँ नक्सा नराखिएकोमा प्लेकार्ड र ब्यानर बोकेका थिए ।

उता,हिजै पदक थापेकाले पनि नेपालको नयाँ नक्सा नराखिएकोमा आपत्ति जनाउँदै फिर्ता गर्ने घोषणा गरेका छन् । सञ्चारकर्मी लक्ष्मी पुनले सामाजिक सञ्जालमा आज बिहान सबेरै स्टाटस लेखेर हिजो पाएको पदक फिर्ता गर्ने जानकारी गराउनुभएको छ ।

फेसबुकमा उहाँले लेख्नुभएको छ ‘महामारीका कारण एक वर्ष ढिला हस्तान्तरण भएको तक्मा पाएँ । राष्ट्रपति निवासमा तक्मा गलामा झुण्डाएर जलपान र फोटोसेसनमा ब्यस्त भइयो । कोठा पुगेर बल्ल त्यता नजर गयो । मन कटक्क खायो । जुन गणतन्त्रका लागि लडेका थियौं,त्यसको सम्मान भएन जस्तो लाग्यो । माया गर्नेहरूको बधाई,शुभकामना ओइरिरहेको थियो । सबैप्रति नतमस्तक तथा आभारी छु ।

तर जानकारी गराउन चाहेँ, सच्चिएर चुच्चोसहितको तक्मा आयो भने मात्रै ग्रहण गर्नेछु । भोलि गृहमा बुझाउने निधो गरेँ । धन्यवाद !’

टिप्पणीहरू