पत्रकारको चुनावमा मुक्कामुक्की

पत्रकारको चुनावमा मुक्कामुक्की

भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा अधिकांश जिल्ला र प्रदेशको अन्तिम मतपरिणाम आइसक्दा राजनीतिक दलको चुनावमा जस्तै कतिपय ठाउँमा अन्तरघात, असन्तुष्टि र विवादका घटना बाहिरिएका छन् ।

दुई गठबन्धनबीच प्रतिस्पर्धा भएको निर्वाचनमा अन्यत्र आफैँभित्र अन्तरघात र असन्तुष्टि बढेको बताइए पनि नुवाकोटमा भने एक पक्षले अर्को पक्षमाथि आक्रमण गरेको बुझिएको छ । सरकारपक्षीय प्रेस चौतारीका उम्मेदवारले काँग्रेसनिकट प्रेस यूनियन, माओवादी केन्द्रनिकट प्रेस संगठन, र एमाले (माधव नेपाल)निकट प्रेस चौतारीको संयुक्त गठबन्धनका उम्मेदवारलाई आमाचकारी गालि गर्दै हातपात गरेको बताइएको छ ।

केही ढिलो प्राप्त जानकारीअनुसार मतगणनाको विषयमा शुरु भएको विवाद बढ्दै जाँदा चौतारीका उम्मेदवारले हात छाडेका थिए । नाम नलेख्ने शर्तमा स्रोतले भन्यो, ’चौतारीको हार निश्चितजस्तै थियो, उनीहरु पहिलेदेखि नै निहुँ खोजिरहेका थिए । हामीलाई मत कम आयो त्यसैले गणना नगरौँ भन्ने उहाँहरुको अचम्मको तर्क थियो । हामीले मानेनौँ । त्यसपछि एक्कासी हाम्रा एकजना साथीमाथि हात हालियो ।’

पूरै प्यानल हारेको नुवाकोट चौतारीले यसअघि निर्वाचनको परिणाम अस्वीकार गर्ने बताएको थियो । विप्लवनिकट जनपत्रकार संगठनसँग गठबन्धन गरेको चौतारीले निर्वाचन रद्ध गर्न माग गर्दै महासंघ नुवाकोट शाखामा निवेदन पनि दिएको थियो ।

निवेदनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन पश्चात् नमूना मतपत्र उपलब्ध नगराईएको, निर्वाचनमा जिल्ला कार्यसमिति तथा केन्द्रीय परिषद् सदस्यको मतपत्रमा निर्वाचन कार्यविधि तथा आचारसंहिता विपरित क्रमसंख्या उल्लेख गरिएको र अर्धकट्टीसमेत नष्ट गरिएको दाबी गरिएको थियो ।

मतदाता नामावली प्रकाशन, उम्मेद्वारी मनोनयन दर्ता, मतदानलगायतका सबै प्रक्रियामा सहमत भएको चौतारी मतगणनामा भने असहमत बनेको बताइन्छ । ‘उहांहरु शुरुआतदेखि सबै प्रक्रियामा सहमत हुनुहुन्थ्यो । मतगणना शुरु भएदेखि विवाद झिकिएको हो’,उक्त स्रोतले भन्यो ।

नुवाकोटमा प्रेस संगठनका कपिलदेव खनाल नेतृत्वको गठबन्धनले दोस्रो कार्यकाल पनि महासंघमा कब्जा जमाएको हो ।

टिप्पणीहरू