ट्राफिक प्रहरीलाई नगद तिर्न नपर्ने

ट्राफिक प्रहरीलाई नगद तिर्न नपर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईनमार्फत् भुक्तानी गर्नसक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे प्रालि र नेपाल क्लियरिङ्ग हाउस (आईपिएस) लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खातामार्फत सिधै जरिवाना तिर्नसक्ने प्रणालीको विस्तार गरेको हो ।

यसअघि नै शुरुआत भएको अनलाइन भुक्तानी सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ । सम्झौतापत्रमा महाशाखाका प्रमुख एवम् वरिष्ठ उपरीक्षक जनक भट्टराई,फोन पेको तर्फबाट दिवसकुमार सापकोटा र आईपिएसको तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र सात वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताए ।

महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आवद्ध भई रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत् भुक्तान हुने गरी प्रणाली विकास गरेको जनाएको छ ।

टिप्पणीहरू