कोरोना भन्दै विद्यालयप्रति आक्रामक बन्दै

कोरोना भन्दै विद्यालयप्रति आक्रामक बन्दै

नयाँ भेरियन्टको त्रास देखाउँदै सरकार विद्यालय बन्द गर्ने तयारीमा छ । केही दिनयता छिमेकी मुलुक भारतलगायत विश्वभर नै संक्रमण दर बढ्दै छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने नयाँ प्रकारको कोरोना भाइरस बढि मात्रामा विद्यार्थीहरुमा सक्रिय रहेको पाइएको छ । बिहिबार मात्रै ५७ विद्यार्थीमा संक्रमण पुष्टि भएपछि कोरोनाको नयाँ लक्ष्य विद्यालय नै हो कि जस्तो गरेर सरकार विद्यालय बन्द गर्ने तयारीमा जुटेको हो ।

सरकार विद्यालय मात्र होइन, करिब १ बर्षे लकडाउन झेलेर भर्खर खुल्न थालेका चलचित्र घर,ब्यवसायिक प्रतिष्ठान लगायतको पेटमा पनि लात हान्ने तयारीमा रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको सिफारिसको टुङगो लगाउन आज करिब ८ महिनादेखि मस्त निद्रामा सुतिरहेको कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) कोे बैठक बस्दै छ । मन्त्रालयले पठाएको सिफारिस कार्यान्वयनमा ल्याउने निर्णय सीसीएमसीले निकाल्यो भने धेरै क्षेत्र प्रभावमा पर्ने छन् ।

प्रधानमन्त्री केपी ओलीले विहिबार नेपाल च्याम्बर अफ कमर्सको ७० औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै “कोरोना पहिला नाकमा बस्ने हो,यसलाई नाकैबाट चैट पार्दिनुपर्छ,” कोरोना नियन्त्रण गर्न अम्बाको पात पानीमा पकाई कुल्ला गर्ने भन्नुभएको छ ।

यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा मज्जाको स्थान पाएको छ । ओलीले यस्ता अभिब्यक्ति प्राय: सबै कार्यक्रममा दिने गर्नुहुन्छ । यसअघि पनि कोरोना महामारीको पहिलो लहरका समयमा “बेसार पानी पिउँदा कोरोना भाग्छ भन्नुभएको थियो ।

कोरोना महामारीको पहिलो लहरको लकडाउन सक्किएको ९ महिना बितिसक्दासम्म सरकारले विद्यार्थीहरुका लागि निःशुल्क सिम उपलब्ध गराउनुबाहेक खासै केही गरेजस्तो देखिएको छैन । दोस्रो लहर आउला भन्ने बिषयमा सरकारले सचेतना कार्यक्रम गराउने जस्ता काम गर्नुको सट्टा राजनीतिक र्याली,भीडभाड लगायतका कार्य गरेको छ ।

सरकारले पहिलो चरणबाट केहि शिक्षा लिएर दोस्रो चरण आउनुपूर्व सचेतना अपनाउनुपर्ने थियो ।

टिप्पणीहरू