सेनाका पण्डितहरु साह्रै सास्तीमा

सेनाका पण्डितहरु साह्रै सास्तीमा

देशको गौरवान्वित संस्था नेपाली सेनाको सदस्यको रूपमा चित्रण गर्न पाउनु सौभाग्यको विषय हो । यति भनिरहँदा यही संस्थाभित्र पण्डित ट्रेडको व्यथा भने अर्कै छ । पहिला दलित भनेर अर्को व्यवहार गरिन्थ्यो, त्यस्तै हालत अझै छ ।

सबै शारीरिक तन्दुरुस्ती परीक्षा पास गरेर सैन्य आधार तालिम सकेपछि पण्डित बनेर जब आफ्नो युनिट पुगिन्छ त्यहाँ पुगेपछि थाहा हुन्छ कि पूरै नेपालीको मन कसरी अशान्तिले धमिलिएको छ । आफूलाई चैतन्यता बोधको सूक्ष्मतामा उभ्याउँदै प्रत्येकको मस्तिष्कमा प्रत्येक पल शान्त आभाष दिलाउने र जुनसुकै अवस्थामा उच्च मोरालको क्षमता राख्न सक्नुपर्ने विधा यति लाचार बनिसक्यो कि बिहान बिहान निधारमा अबिर केशरी दलेर दुई/चार वटा श्लोक बाचन गर्दै दौडिँदादौडिँदै भ्याइनभ्याइ हुन्छ !

प्राणीसहित ब्रह्माण्ड शान्तिका लागि वेदविहित ध्यान र यज्ञ गर्ने कुरा हाम्रा हाकिमहरूलाई कुन चराको नाम हो थाहा छैन । त्यसैको प्रतिफल पहिला पण्डित दर्जा दिने ट्रेड आज पुजारी बनेको छ । पृथ्वीनारायण शाहको युद्धकालीन अवस्थादेखि आजसम्म यो ट्रेडको महत्व छुट्टै र गौरवपूर्ण छ । एउटा समय आ–आफूमा चिन्न सक्ने खुबी रहन्थ्यो, जहाँ कुनै विरोधाभाष थिएन र सत्यको पालना सबै पक्षबाट हुन्थ्यो । तर, अहिले त छिर्ने बेला न नियमबारे जानकारी गराइन्छ न भित्री क्रियाकलापबारे नै । यहाँ त निशान पुज्ने भन्दै शंख, घण्ट, धुप, बत्ती भिराइन्छ र जतिसक्दो चाकडीको लागि उद्यत गराइन्छ ।

वसुधैव कुटुम्बकम् तथा ब्रह्माण्ड शान्तिको उद्घोष गराउने महान् अभिलाषाले स्थापित यो ट्रेडले आज ढुंगाको अबिर अर्काको निधारमा दल्नेभन्दा अरू कुनै कुरामा सहभागिता जनाउन पाउँदैन । न कसैले पूर्वीय दर्शनको गहन अध्ययन गरेका छन् । फलस्वरूप पण्डितहरुले पुजारीमा परिणत हुनुपरेको छ । अरूले छोएको खाँदासम्म पूरै हेयभावले हेर्नु परम्पराभित्रको अतिवाद जस्तो लाग्छ । जति समस्या राखे पनि आफू पदमा रहेर अरूलाई पेल्ने प्रवृत्ति उस्तै छ, हाकिमहरू वेदको एउटा ऋचा पनि शुद्ध बोल्न नजान्ने छन् तर पद बोकेका छन् कसरी ? चाप्लुसी प्रवृत्ति यो हदसम्म हाबी छ भने सोचौं अछुत को होला ?

सुखको जागिर भनेर सबैले उकास्दै हेय भावले ठूलै बनाइदिए पनि भित्री यथार्थ मात्रै उजागर गर्न खोजेको हुँ । अघि बढिरहेको समाजमा कुनै एक जात विशेषलाई आश्रय दिएझैँ टाठाबाठा र चाप्लुसी गर्न सक्नेहरूको कसरी उच्च पदमा हालिमुहाली हुन गयो ? सास फेर्न नसक्ने, घिटिघिटी अवस्थामा राखिरहनुभन्दा यो ट्रेड खारेज गरिदिए पनि फरक पर्दैन । ढुंगाको अबिर निधारमा दलिदिएर शान्ति खोज्नु या संस्कार सुधार्न खोज्नु ‘आकाशको फल आँखातरी मर’ भनेझैं हुन्छ ।

वेदले बताएको यज्ञबाट महामारीजन्य रोग निवारण जस्तै कुनै भक्ति सांगीतिक कार्यक्रम र मानसिक चेतना स्तरवृद्धिमूलक कार्यक्रम ल्याउनु अत्यावश्यक छ र छनोट चरणमै शास्त्री या आचार्य गरिसकी लोभ, मोहबाट केही हद माथि निस्केको २–४ जना नै काफी देखिन्छन् । हाकिमको घरमा पूजा गर्दै नियमविपरीतका आस्थाहरूको भ्रम फिँजाउँदै हिँड्ने प्रवृत्ति रहेसम्म कसैलाई जागिरको गर्व होला तर कसैलाई भने मानसिक अशान्तिको बाटो मात्रै भइरहेको छ ।

(नाम : गोप्य)

टिप्पणीहरू