झेलैझेलबीच सुस्ताएको खास खेल

झेलैझेलबीच सुस्ताएको खास खेल

अहिले नेकपा एमालेमा विधान मिच्ने र फल्स खेल्ने कामको शुरुवात स्वयं अध्यक्ष कमरेडबाट भएको छ । आफूलाई सच्याउनेतिर होइन, रेफ्रीको भूमिका खेल्नुपर्ने अध्यक्षज्यू जथाभावी रेडकार्ड देखाउन तल्लीन भएको देखिँदै छ । आलोचना र आत्मालोचनाको माध्यमबाट समस्या समाधान गर्ने पार्टीको स्थापित परम्परा र नीतिविपरीत आलोचना गर्नेहरू सबैलाई तह लगाउन रातो कार्ड देखाइदिने प्रवृत्ति शुरु भएको छ । आफूसँग असहमत सबैलाई कारबाहीको डण्डा चलाएर तर्साउने विग्रहकारी प्रवृत्ति सतहमा आएको छ ।

नेपाल खेलकुद महासंघ नेकपा एमालेको आधिकारिक जनसंगठन हो । यो देशमा खेलकुदको विकास र खेलकुद नीति निर्माणमा योगदान गर्ने उद्देश्यले क्रियाशील संगठन हो । पार्टी एकता भई नेकपा गठन, एकता प्रक्रियामा आएको समस्या र अन्योलका कारण केही समय यसका गतिविधि पूरै अलमलिन पुगे । ०७८ को वैशाखभित्र नेपाल खेलकुद महासंघका सबै प्रदेश, राष्ट्रिय संघ र जिल्ला कमिटीका बैठक तथा भेला सम्पन्न गरी संगठनको दरो संरचना निर्माण गर्नुपर्छ ।

प्रत्येक साल बढाउँदै लैजानुपर्ने खेलकुद मन्त्रालयको बजेटलाई सालवसाली घटाउँदै लगिएको छ । सामान्यतः प्रत्येक मन्त्रालय, विभाग र विकास क्षेत्रको बजेट सालमा कमसेकम १० प्रतिशत बढाउने गरिन्छ । तर, दुर्भाग्य नेपाल सरकार खेलकुद मन्त्रालयको बजेट ०७२÷७३ सालको बजेटको तुलनामा प्रत्येक साल १० प्रतिशतभन्दा बढीले घटिरहेको देखिन्छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्न बाध्यात्मक रूपले अत्यावश्यक पूर्वाधार निर्माण गर्नेबाहेक सरकारले कुनै नयाँ कार्यक्रम अघि बढाएको देखिँदैन । ०७१ सालमा शुरु गरिएको मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अझै पूरा भएको छैन । ०७२ सालमा डीपीआर तयार गरिएको त्रिभुवन विश्वविद्यालय परिसरभित्र बनाइने ५ हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल अहिलेसम्म शुरु भएको छैन । यस्तै, वीरगञ्ज रंगशाला र राजविराज रंगशालासहित थुप्रै रंगशाला मर्मतसमेत हुन सकेको छैन । धनगढी रंगशाला, विराटनगरको वैजनाथ क्रिकेट मैदान र कोहलपुर क्रिकेट मैदानसहित आठवटा मैदान पनि निर्माण सम्पन्न भएको छैन ।

नेपाल सरकारसँग अहिलेसम्म पनि खेलाडीलाई व्यवस्थित तालिम र प्रशिक्षण दिने र अन्तर्राष्ट्रिय स्तरको कला, कौशल र क्षमता भएका प्रशिक्षक तयार गर्नेबारे व्यवस्थित सोच र योजना देखिँदैन । खुला प्रतिस्पर्धाद्वारा खेलाडी छनोट गर्ने, छनोट गरिएका खेलाडीलाई प्रशिक्षण दिने र योग्य एवं सक्षम प्रशिक्षक उत्पादनका लागि देशमा तत्काल एउटा खेलकुद एकेडमी स्थापना हुनैपर्नेछ । देशका खेलाडी तथा प्रशिक्षकलाई तालिम तथा प्रशिक्षणसहित कमसेकम खेलकुद विषयमा स्नातकसम्म अध्ययन तथा अध्यापन गराउने काम गर्नु जरुरी छ ।

केन्द्र सरकारले प्रत्येक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना नहुँदा नेपाली खेलाडीलाई निराश बनाउनु स्वाभाविक हो । नेपाल सरकारले नेपाली खेलाडीलाई उत्साही बनाउन तत्काल प्रदेश र राष्ट्रिय स्तरका बृहत् खेलकुद प्रतियोगितालाई शुरु गर्नुपर्नेछ ।

टिप्पणीहरू