१० वर्षको बालकले आत्महत्या गर्न सक्छ ?

१० वर्षको बालकले आत्महत्या गर्न सक्छ ?

०६७ साल कात्तिक १४ गते जन्मेको बालकले २०७७ चैत १६ गते आत्महत्या ग¥यो । १० वर्ष ५ महिना २ दिनको बालकको आत्महत्या ! समाचार पढ्दा विश्वास लागेन । आत्महत्या नै हो त ? एक मनले प्रश्न ग¥यो । अर्को मनले ‘हत्या’ हो कि भन्ने शंका ग¥यो । हुन त कहिलेकाहीं मानिसले उमेरभन्दा ‘ठूलो’ निर्णय गर्छ । सायद त्यो बालकले पनि उमेरभन्दा ठूलो निर्णय ग¥यो । आफ्नो जिन्दगी सिध्याउनेभन्दा ठूलो निर्णय अर्को के हुन सक्छ ? कमै दुस्साहस गर्नेमा त्यो बालक पनि प¥यो ।

अनि आत्महत्याको कारण के–के हुन सक्छन् भनेर सरसर्ती हेर्दा केही कारण भेटिए । डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनियाजस्ता मानसिक रोगको कारणले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने सामाजिक तथा मनोवैज्ञानिक कारण हुने रहेछन् । गम्भीर तथा पीडादायक शारीरिक रोग जस्तैः क्यान्सर तथा एड्स आदि पनि आत्महत्याको कारण रहेछन् ।

परीक्षामा असफलता । प्रेममा बिछोड तथा असफलता । कष्टदायक वैवाहिक जीवन । अवैध गर्भ । व्यापार–व्यवसायमा घाटा, क्षति । धेरै ऋण । सामाजिक अपमान तथा बहिष्कार । आत्मसम्मानमा ठेस (जस्तैः झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्ती, अरूसामु बेइज्जती आदि) । प्रियजन तथा आफन्तको मृत्यु । मानसिक अन्तद्र्वन्द्व । मद्यपान तथा दुव्र्यसन । पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता । यौन समस्या । दाइजोसम्बन्धी समस्या । घरेलु हिंसा तथा पारिवारिक कलह । बेरोजगारी तथा आर्थिक समस्या । बलात्कारको पीडा । आत्महत्याको पारिवारिक इतिहास आदि । यी कारण हेरें, श्रद्धाञ्जली दिएको बालकको तस्बिर हेरें । माथिका कुनचाहिं कारणले बालकले आत्महत्या गरेका होलान् † जवाफ भेटिएन ।

विश्वमा प्रतिवर्ष १० लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक पाइन्छ । प्रायः सबै देशमा १५ देखि २४ वर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ । हरेक ३ सेकेण्डमा १ जनाले प्रयास र ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्छन् । १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रूपमा रहेको छ । आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशमा हुने गरेकोे छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्छ । प्रायः महिला पुरुषको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्यांकका अनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरूले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ । नेपालमा प्रत्येक वर्ष सरदर ४ हजार ६ सय ७४ जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरी तथ्यांक छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् ।

विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने महिला तेस्रो स्थानमा छ । नेपाललगायत विकासशील मुलुकहरूमा आत्महत्यासम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारण भरपर्दो रूपमा तथ्यांकको कमी छ । विश्वको तथ्यांक हेर्दा पनि ती बालक समेटिएनन् । आखिर किन आत्महत्या गरे त ती बालकले ? कारण खोजि गरेर रोकथामको उपाय खोज्ने कि ‘म¥यो’, सकियो भनेर चुप बस्ने ?

केही महिनाअघि १८ वर्षीया किशोरीले विष खाइन् । पाटन अस्पतालमा ल्याइयो । अवस्था गम्भीर थियो । आईसीयूमा बेड नभएको भनेर भर्ना लिन अस्पतालले आनाकानी गरिरहेको थियो । विभिन्न ठाउँमा फोन गरी ‘सोर्स–फोर्स’ लगाएर भर्ना गरियो । अस्पतालका कर्मचारी मुर्मुरिएर भन्दै थिए–‘बिरामी भर्ना गराउन यत्ति धेरै सोर्सफोर्स लगाउनेले नेतालाई भनेर गाउँमै अस्पताल खोलेको भए हुने नि ?’

दुई हप्ताको उपचारपछि किशोरी डिस्चार्ज भइन् । उनले आत्महत्याको प्रयास गर्नुलाई प्रेम असफल भएको लख काट्ने धेरै भए । तर, सुनेअनुसार बुवा सधैं रक्सी खाएर घर आउने गर्दा पढ्ने वातावरण नभएर विष खाएको कारण दिइन् । जे होस् समयमै अस्पताल पु¥याउँदा र अनेकौँ सोर्सफोर्स लगाएरै सही एक किशोरीको ज्यान बच्यो । प्रयास गर्नेहरूलाई त बचाउन सकिँदो रहेछ । तर, गरेकाको बचाउने उपाय नहुँदो रहेछ । यसर्थ त्यहाँसम्म पुग्न नदिने उपायको खोजी गर्नु आवश्यक छ ।

– वैकुण्ठ ढकाल

टिप्पणीहरू