महन्थको “महानता” कसका लागि फाइदाजनक ?

महन्थको “महानता” कसका लागि फाइदाजनक ?

भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) आफैँ भने अनिर्णयको बन्दी बनेको छ । नयाँ सरकार गठनमा एमालेलाई साथ दिने कि कांग्रेस-माओवादीतिर लाग्ने भन्नेमा जसपाले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकेको छैन ।

कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार गठनका लागि छलफल शुरु गरिसकेका छन् । आफ्नै नेतृत्वमा सरकार गठनको पहलकदमी लिने निर्णय गरेको कांग्रेसले आज अपरान्ह माओवादी केन्द्र र जसपालाई छलफलका लागि बोलाएको छ । संसद्को अंकगणितमा ‘की रोल’मा रहेको जसपा भने आफैँ भित्रको अन्तरद्वन्द्वमा फसेको छ । जसका कारण आज हुने तीन दलीय बैठकमा जसपा एजेण्डाबिनै सहभागी हुने सम्भावना देखिएको छ ।

राजपाका एक उच्च नेताले आजको छलफलबारे अनभिज्ञता देखाए । ‘खै आज कांग्रेस र माओवादीसंग छलफल छ भन्ने सुनेको हो,छलफलमा नेताहरु जानुहुन्छ होला । तर,के विषयमा छलफल हुने हो हाम्रो अडान के हुने हो, हामीले के प्रस्ताव गर्ने हो त्यसबारे पार्टीको ठोस धारणा बनेको छ जस्तो लाग्दैन’, उनले भने ।

जसपामा पूर्व समाजवादी खेमाका नेताहरु वैकल्पिक सरकार गठनका लागि कांग्रेस र माओवादीसंग मिलेर जानुपर्ने अडानमा छन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक रुपमै वर्तमान सरकारलाई पार्टीको समर्थन नरहने बताइसकेका छन् । तर,पूर्व राजपा पक्षधर नेताहरु भने ओली नेतृत्वको अहिलेको सरकारलाई नै समर्थन गर्न इच्छुक देखिएका छन् । अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो लगातार प्रधानमन्त्री ओलीसंगको छलफलमा छन् । आफ्ना मागमा सहमत भए ओलीलाई समर्थन गरेर जाने उनीहरुको तयारी छ ।

कतिपयले भने महन्थ-राजेन्द्रको बालुवाटार दौडधुपलाई भारतीय लाइन भनेका छन् । कुनैबेला पानी बाराबारको अवस्थामा देखिएका ओली र महन्थ -राजेन्द्रबीच बढेको घनिष्ठता उतैको निर्देशनमा भएको अर्थ लगाउनेहरु पनि प्रशस्तै छन् । संविधान संशोधनको नामसमेत सुन्न नचाहने ओलीले मान्छे छाड्नेबाहेक जसपाको माग सम्बोधन गर्ने कुरा कल्पनाभन्दा पनि परको भएको जसपाकै नेताहरु बताउँछन् । अध्यक्ष उपेन्द्रले एक सार्वजनिक कार्यक्रममै आफैँ ढल्न लागेका ओलीले जसपाको मुद्धा सम्बोधन गर्ने कुरा सोच्न पनि नसकिने बताइसक्नु भएको छ ।

ती नेताले पनि महन्थहरुको बालुवाटारप्रतिको मोह बुझिनसक्नु भएको बताए । उहाँ (ओली) कहिल्यै मधेसका मुद्धामा सकारात्मक देखिनु भएन । उहाँबाट संविधान संशोधन हुन्छ भन्ने कुरा कल्पना पनि गर्न सकिंदैन’, उनले भने, ‘अर्कोतिर संसद विघटनलाई हामीले प्रतिगमन भयो भनेर आन्दोलन गरेका हौँ,अहिले यहि सरकारलाई समर्थन गर्ने कुरा नैतिक रुपले पनि राम्रो होइन । मलाई लाग्छ जसपाले अरुको स्वार्थका लागि नभई जनताको हितमा हुने गरी निर्णय गर्छ ।’

सरकारमा सहभागी हुने वातावरण नबनेको अवस्थामा कांग्रेस-माओवादीको गठवन्धनमा समेत सहभागी नभएर ओलीलाई सहयोग गर्ने महन्थहरुको भित्री तयारी रहेको पनि बताइन्छ । त्यसो हुँदा मुलुक निर्वाचनमा जाने र त्यसको फाइदा पार्टीले लिने महन्थ खेमाको बुझाइ छ । ओली र भारतको लाइनसमेत त्यहि भएकाले महन्थले बालुवाटारसंग यस्तो अन्डरस्ट्यान्डिङ मिलाएको जसपा वृत्तमा चर्चा छ ।

टिप्पणीहरू