काठमाडौँमा दोब्बर मतान्तरले पत्रकारको जीत-हार

काठमाडौँमा दोब्बर मतान्तरले पत्रकारको जीत-हार

सबैभन्दा बढी सदस्य रहेको र रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा विपुल पोखरेल नेतृत्वको प्रगतिशील-लोकतान्त्रिक गठवन्धनले बाजी मारेको छ । गठवन्धनले अध्यक्षसहित सिंगो कमिटीमा क्लिनस्विप गरेको हो ।

आज बिहान १ बजे सम्पन्न मतगणनामा गठवन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रनिकट प्रेस संगठनका सूर्य सुवेदीले फराकिलो अन्तरले सरकारनिकट प्रेस चौतारीका मोहनप्रसाद पन्तलाई पराजित गरेका हुन् । सुबेदीले पन्तले भन्दा झन्डै दोब्बर मत ल्याएका थिए । ६१३ मत ल्याएर सुवेदी विजयी हुँदा पन्तलाई ३३७ मत प्राप्त भएको छ ।

उपाध्यक्षमा भने गठवन्धनका उम्मेदवारले झिनो मतले जितेका छन् । रामचन्द्र दुलाल भान्जाले ४६२ मत ल्याएर जीत दर्ता गर्दा अमिर लामाले ४३८ मत पाएका थिए । सचिवमा पनि गठवन्धनकै महेश्वर गौतमले जितेका छन् । गौतमले चौतारीका पुस्कर बस्नेतलाई झन्डै डेढ सय मत अन्तरले पराजित गरेका हुन् । सचिवमा पाँच जनाले उम्मेदवारी दिएकोमा गौतमले ४३३ मत ल्याएर जित्दा बस्नेतले २९० भोट ल्याएका हुन् ।

खुल्ला सहसचिवमा गठवन्धनका अर्जुन डोटेल ५८२ भोटसहित विजयी हुँदा मुकुन्दप्रसाद भुसालले १९३ मत ल्याए । त्यस्तै,अजित अधिकारीले ५८७ मत ल्याएर कोषाध्यक्ष जित्दा मुकुन्दकुमार ढुंगानाले ३१३ मत ल्याएका छन् ।

यता,महासंघ केन्द्रीय समितिका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सबैतिरको मतगणना सकिएको र अब काठमाडौँ शाखाको मात्र गणना बाँकी रहेको छ । मतगणना अन्तिम अवस्थामा पुग्दै गर्दा विपुल नेतृत्वको गठवन्धन सहज जीततर्फ उन्मुख देखिएको छ । साँझसम्ममा अन्तिम परिणाम आउने र पोख्रेल गठवन्धनले जीतको औपचारिकता पाउने बताइएको छ ।

टिप्पणीहरू