भाषाको भद्रगोलमा को कति भागीदार ?

भाषाको भद्रगोलमा को कति भागीदार ?

– लेखनाथ भण्डारी

प्रविधिको विकास र सामाजिक सञ्जालको विस्तारित प्रयोगसँगै अभिव्यक्तिका माध्यमहरू बढेका छन् । अभिव्यक्तिको प्रमुख माध्यम भाषा हो । कुनै पनि भाषाको आफ्नो मौलिक मानक र विज्ञानसम्मत विधि हुन्छ । स्थापित मान्यता हो– भाषाको प्रयोगकर्ताले सम्बन्धित भाषाको मानक पालना गर्नुपर्छ ।

वर्तमानको एउटा यथार्थ के हो भने सामाजिक सञ्जालमा प्रयोग हुने नेपाली भाषाको प्रयोग र यसको मापदण्डबारे विभिन्न सन्दर्भमा चर्चा र विवाद हुने गरेको छ । भाषाको मर्यादा र मापदण्डका पक्षपाती विज्ञहरू तथा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘नेपाली भाषाको मापदण्डअनुसारको शुद्धता प्रयोग गर्न सम्बन्धित व्यक्ति आफैँ सचेत हुनुपर्ने’ भन्दै ‘नेपाली भाषाको राम्रो ज्ञान भएका अन्य केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलई ’फलो’ गर्न’ पनि सिफारिस गरेका छन् । त्यसरी सिफारिस गरिएका एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताको नाम हो – कृतिका थारु ।

कृतिकाको ट्विट एकाउण्टमा सन् २०१९ को शुरुमा लेखिएको छ– ‘हामी अंग्रेजी भाषा लेख्दा कतै व्याकरण मिलेन कि वा शब्द अशुद्ध लेखिन्छ कि भनेर बडो सावधान हुन्छौँ । त्यति नै सावधानी अपनाएर नेपाली (आफ्नो) भाषा लेखिदिए भाषाको गरिमा बढ्ने थियो भने नेपाली भाषाले पनि अभ्युदय हुने मौका पाउने थियो ।’ सन् २०२० को शुरुमा उनको अर्को ट्विट छ– ’नेपाल र नेपाली भाषालाई प्रेमसाथ सम्मान गर्छु । भाषा बिगारेको देख्दा दुःखित हुन्छु । पारदर्शिता र मेहनतमा विश्वास लाग्छ । ट्विटहरू व्यक्तिगत हुन् ।’ कृतिका थारुको अर्को नारा हो– शुद्ध लेखौँ र नेपाली भाषालाई सम्मान गरौँ । कुनै पनि भाषाको सुन्दर पक्ष भनेको व्याकरणगत विशुद्धता नै हो । शुद्ध भाषाले पार्ने प्रभाव त्यो रचनाको बहुमूल्य सम्पत्ति हो । त्यसैले आफ्नो भाषालाई प्रेमसाथ आदर गरौँ । शुद्ध लेखौँ, सभ्य बनौँ !

अपरिचित नै सही, सिफारिस गरिएका कारण थारुले सार्वजनिक गरेका भाषासम्बन्धी १५–२० वटा टिप्पणी हेर्दा नै नेपाली भाषा प्रयोगमा भएका अनगिन्ती कमजोरी औंल्याइएको पाइयो । सामान्य कुनै व्यक्तिले अज्ञानता वा लापरवाहीले गर्ने गल्ती मात्र होइन, राज्यका जिम्मेवार निकाय र तिनको नेतृत्वमा रहने व्यक्तिहरूबाट नेपाली भाषाप्रति हुने बेवास्ता र लापरवाहीको कहालीलाग्दो तस्बिर देखाप¥यो ।

थारूले आफ्ना फेसबुक तथा ट्विटमा ध्यानाकर्षण गराएका नेपाली भाषा प्रयोगका अनगिन्ती दुःखलाग्दा प्रसंगका केही प्रमुख उदाहरण हुन्, प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्षको नाताले यही चैत ११ गते जारी गरेको नेता माधवकुमार नेपाललाई निलम्बन गरिएको चार बुँदे स्पष्टीकरणमा ४० वटाभन्दा धेरै भाषिक गल्ती भेट्नु । त्यसै गरी स्वास्थ्य मन्त्रालयका सहसचिव प्राध्यापक डाक्टर जागेश्वर गौतमले गत फागुन ६ गते जारी गरेको एक सूचनामा ३५ वटा भाषिक गल्ती थिए तर उनै गौतमले यही चैतमा जारी गरेको एक अर्को सूचनामा पनि १३ वटा उस्तै गल्ती औंल्याउँदै थारुद्वारा लेखिएको छ– ‘जागेश्वर कहिल्यै नजाग्ने भए । शुद्ध लेखौँ र नेपाली भाषालाई सम्मान गरौँ ।’ नेपाल पत्रकार महासंघको यही चैत २५ गते अर्थात् आज हुने निर्वाचनसम्बन्धी कार्यक्रमको सूचनामा निर्वाचन समितिका सातजनाको हस्ताक्षर छ । त्यसमा कृतिकाको सामाजिक सञ्जालका २० ठाउँमा रातो चिन्ह लगाउँदै प्रश्न गरिएको छ– नेपाली भाषाको सामान्य ज्ञान नै नहुने कसरी ‘नेपाली पत्रकार’ हुन्छ ? –कहिलेकाहीँ आफैँलाई प्रश्न गर्न सिक्नुहोस्) ।’ थप यसमा यो जारी गरिएको मिति पनि उल्लेख छैन ।

गत चैत ३ मा भाषा आयोगले सार्वजनिक गरेको एउटा सूचनामा पनि सातवटा गल्ती छन् । यसमा आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईको हस्ताक्षर छ । यस्तै, गत माघ ६ गते काठमाण्डू विश्वविद्यालय प्राध्यापक संघले जारी गरेको सूचनामा रातो मसीले लगाइएका २५ वटा गोला छन् ।

गुरुकूल माध्यमिक विद्यालय ढकारी–१ अछामका प्रअ भीमबहादुर शाहीले यही चैत १६ गते जारी गरेको करिब ७० शब्दको सूचनामा ३० वटा गल्ती गरेको पनि देखाइएको छ । गत पौष २४ गते चारजना पूर्वप्रधानन्यायाधीशहरूले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन पुनस्र्थापना हुनुपर्छ भन्दै जारी विज्ञप्तिमा पनि २३ वटा गल्ती देखिएका छन् ।

यहाँ उल्लिखित सबै उदाहरण एक पेजभित्र एक डेढ सय शब्दमा भएका गल्ती मात्र हुन् । एउटै विज्ञप्तिमा पनि उस्तै शब्दहरू फरक–फरक लेखेर गल्तीहरू दोहोरिएका छन् ।

यसैबीच, कालो बादलमा चाँदीको घेरा भनेजस्तै, थारुद्वारा एउटा आशालाग्दो उदाहरण पनि सार्वजनिक भएको छ– ‘वागमती प्रदेशले गरेको यो प्रशंसनीय कार्यको लागि हार्दिक धन्यवाद ! यसरी नै सबै सरकारी निकायहरूले नेपाली भाषालाई प्राथमिकतामा राखे हाम्रो भाषाको गरिमा बढ्नेमा कुनै शङ्का छैन ।’ यस प्रदेशले सरकारी कामकाजको भाषामा शुद्धा–शुद्धिका लागि ध्यान दिनुपर्ने व्यवस्था गरेको जानकारी यहाँ फोटोमा राखिएको छ ।

भाषाको प्रयोग र मर्यादाको प्रसङ्गमा राज्यका जिम्मेवार निकाय र तिनको नेतृत्व तहमा रहने व्यक्तिहरू नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ । यसमा राजनीतिक पार्टी, तिनका नेता र प्रवक्ताको भूमिका महत्वपूर्ण हुन्छ । त्यसपछि सञ्चार–माध्यम र सामाजिक–सञ्जाल प्रयोगकर्ताले पनि यसलाई बेवास्ता गर्नु हुँदैन । आजभोलि सञ्चार–माध्यमहरूमा प्रयोग हुने तँ, तिमी र तपाईंंको प्रयोग अनि हिजो राजाका पालामा ज्युनार वा नजर गरिबक्स्योस् भनेर प्रयोग हुने भाषालाई लिएर पत्रकारहरूमाथि पटक–पटक असन्तुष्टि र कटाक्ष नै पनि प्रकट गर्नुहुने प्रधानमन्त्री तथा सत्ताधारी दलका नेताको तर्फबाट जारी एक पेजको एक–डेढ सय शब्दको विज्ञप्तिमा नै एक तिहाइ गल्ती हुनु कुनै किसिमबाट पनि शोभनीय होइन ।

त्यसो त प्रधानमन्त्री वा मन्त्री र राजनीतिक पार्टीका नेताहरूले विभिन्न क्षेत्रका विज्ञहरूलाई सल्लाहकार राख्ने गरेका छन् । तर त्यसरी नियुक्त विज्ञहरूले सम्बन्धित व्यक्तिहरूलाई कुनै सल्लाह दिने र लिनेमा धेरैको शंका छ । त्यसमा पनि भाषा/संस्कृति वा सम्पदा–विज्ञ भनेर कसैले कसैलाई सल्लाहकार राखेको सार्वजनिक जानकारीमा आएको थाहा छैन । तर, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङहरूले जस्तो राज्यको एउटा जिम्मेवार निकायमा बसेर पनि राज्यको अर्को निकायलाई आवश्यक सल्लाह दिनुको सट्टा आँखा चिम्लेर प्रधानमन्त्रीको सर्वज्ञानको प्रशंसा मात्र गर्नुचाहिँ पदीय मर्यादाअनुकूलको जिम्मेवारी निर्वाह गरेको मान्न सकिन्न । प्रधानमन्त्री, मन्त्री वा राज्यका जिम्मेवार निकायबाट जारी हुने सूचना आदि एक–आधा घण्टा बढी समय लगाएर कुनै भाषा–विज्ञबाट रुजु गराउनु आवश्यक छ ।

भाषाको प्रयोगमा सामाजिक–सञ्जाल प्रयोगकर्ताको भूमिका पनि महत्वपूर्ण हुन्छ । सामाजिक–सञ्जालका माध्यम हाम्रो आफ्नो घर वा करेसाबारीजस्तै नै हो । अझ एउटा माध्यम त नामैले अर्थात् फेसबुक भन्नाले हाम्रो अनुहार झल्काउने ठाउँ हो । त्यहाँ हामीले भाषा, तस्बिर आदिको प्रयोग गर्दा त्यसको गुणस्तरमा, त्यसको मानकमा वा मापदण्डबारे ख्याल नगर्नु भनेको आफ्नै अनुहारमा नराम्रो दाग लगाउनुजस्तै हो । अनुहार राम्रो र सफा देखाउन अनि घर–आँगन वा करेसाबारीमा राम्रा–राम्रा फूल रोपेर मनमोहक एवम् आकर्षक बनाउन हामीलाई मन लाग्दैन र ? यद्यपि, माथि उल्लिखित नेपाली भाषाको यति बिघ्न माया र सम्मान गर्ने सामाजिक–सञ्जाल प्रयोगकर्ता कृतिका थारुको सार्वजनिक परिचय भने अज्ञात नै छ तर उनको नेपाली भाषाप्रतिको सचेत मोह, सम्मान र खबरदारी तथा सामाजिक चासोका विषयमा गरिएका टिप्पणी÷कटाक्ष भने प्रशंसनीय, उदाहरणीय र अनुशरण गर्न लायक छन् । यस्ता प्रयासहरू अँध्यारोमा टिमटिमाउने जूनकिरीहरू हुन्, ती निरन्तर बलिरहनु पर्छ ।

टिप्पणीहरू