भीरको डिलमा किन पुग्नुभो माधव नेपाल ?

भीरको डिलमा किन पुग्नुभो माधव नेपाल ?

– पुष्पलाल पाण्डे

जननेता मदन भण्डारी सधैँ भन्ने गर्नुहुन्थ्यो गल्ती हुन सक्छन्, कमजोरीबाट पाठ सिक्दै भविष्यका योजना बनाउनु नै बुद्धिमानी हुन्छ । तर, मदनका लामो समयका सहयोद्धा माधवकुमार नेपाल भने गल्तीमाथि गल्ती गर्न उद्यत देखिनुहुन्छ ।

राजनीतिक जीवनको उत्तराद्र्धमा सत्तासीन दलका वरिष्ठ नेता नेपाल अहिले राजनीतिक जीवनको सबैभन्दा कठिन मोडमा हुनुहुन्छ । अहिले आधा काटिएर झुण्डिएको टुप्पोसहित तारेभीरको डिलमा अडिनुभएको छ । बाँच्ने आशामा हल्लिँदा हाँगो लाछिएर भीरको गल्छेडीमा खस्ने सम्भावना र नहल्लिँदा कति समय अक्करे भीरमा अड्किने ! अहिले पूर्वप्रधानमन्त्री नेपालको अवस्था यस्तै छ ।

लामो समय पार्टीको सुप्रिमो रहेका नेपाल अक्करे भीरको यात्री बन्नुको पछाडि उहाँ आफैँ कारक हुनुहुन्छ । सहयात्रीका अनुसार नेपाल सधैँ शक्ति केन्द्रित गर्न चाहनुहुन्छ । तर, शीघ्र निर्णय क्षमताको अभाव र स्पस्ट दृष्टिदोषका कारण समय नेपाल अनुकूल प्रायः बनिरहेको हुँदैन । यसकारण उहाँ सधैँ हतार र हतास देखिनुहुन्छ ।

पछिल्लो पटकको अप्ठ्यारो पनि आफैँले सिर्जना गर्नुभएको हो । इतिहासदेखिकै बानीले अहिले आएर मात्रै उहाँलाई अप्ठ्यारो परेको हो ।

सिपीको आरोप

सिपी मैनाली मालेका संस्थापक महासचिव हुनुहुन्छ । अर्थात् कमरेड नेपालका पनि नेता ! यस पंक्तिकारसँगको एक अन्तर्वार्तामा मैनालीले कमरेड नेपाल स्पष्ट विचार र सैद्धान्तिक आचरण नभएका नेता भएको आरोप लगाउनुभएको थियो । सिपीको आरोप थियो वैचारिक अस्पष्टताका कारण कमरेड नेपालको नेतृत्व सफल हुँदैन । कुण्ठाका कारण अरूलाई सफल हुन नदिन नेपालले आफ्ना सबै दाउ चलाउनुहुन्छ ।

०३७ सालको जनमत संग्र्रहको बेला तत्कालीन महासचिवलाई असफल बनाउन नेपालले नै जनमत संग्रह बहिष्कारको नारा अगाडि ल्याउनुभएको मैनालीको आरोप छ । शुरुमा जनमत संग्रह बहिष्कारको नाराका कारण तत्कालीन माले पार्टी बदनाम भएको मैनालीले बताउनुभएको थियो । मोहनविक्रम, मोहन वैद्य र माधव (३ म) का कारण त्यतिबेला पञ्चायतले जित्ने वातावरण बनेको उहाँको दाबी छ ।

पहिलो संविधानसभामा कमजोर प्रदर्शन

०६३ को सफल आन्दोलनपछि नेपाल नयाँ कोर्समा प्रवेश गरेको थियो । अझ भनौं देश नेकपा एमालेको लाइनमा हिँडेको थियो । कमरेड मदनले ०४७ को संविधानमा राखेका असहमतिका २७ बुँदाको सेरोफेरोमा देशको राजनीति अगाडि बढेको थियो ।

नेकपा एमालेको इतिहासमा उक्त निर्वाचन कमरेड माधव नेपालको एकल नेतृत्वमा लडिएको थियो । यसअघि मदन र मनमोहनको छायाँमा परेका नेपाललाई आफ्नो सामथ्र्य देखाउने अवसरसमेत थियो ।

यसभन्दा बढी तत्कालीन अवस्था एमालेको पक्षमा अनुकूल थियो । विभिन्न सर्वेक्षण र धेरै विश्लेषकले एमालेले संविधानसभामा लिड गर्ने बताइरहेका थिए । तत्कालीन अवस्थामा सबभन्दा संगठित दल भएकाले पनि निर्वाचन एमालेको पक्षमा हुने अनुमान गर्न सकिन्थ्यो ।

ओवादीप्रतिको जनअविश्वास र कांग्र्रेसप्रतिको असन्तोषलाई एमालेले क्यास गर्न सक्ने व्यापक सम्भावना तत्कालीन अवस्थामा थियो । तर, परिणाम एमालेको लज्जाजनक पराजय भयो । पार्टी सुप्रिमो नेपालले समेत पराजय व्यहोर्नुपर्‍यो ।

यसका पछाडिको मूल कारण महासचिव नेपालको ढुलमुले चरित्र नै हो । उहाँको राजनीतिक अस्पष्टता र आफूअनुकूल समयलाई समेत क्यास गर्ने योग्यताको अभावका कारण एमाले पराजित भयो भने कमरेड नेपाल ढल्नुभयो ।

ओरालो यात्रा

पहिलो संविधानसभामा पार्टीलाई राम्रो पोजिसन दिन नसकेदेखि नै माधव नेपालको ओरालो यात्रा शुरु भएको हो । बुटवल महाधिवेशनमा पदको आकांक्षी नदेखिँदा, निर्वाचन परिणामलगत्तै नैतिकताको आधार देखाएर राजीनामा दिँदा नेपालको कद केही बढेको पनि थियो ।

जबजविरोधीको कब्जामा

नेकपा एमालेमा सबभन्दा लामो समय पार्टी सत्ता सम्हालेका नेपाललाई पार्टीको पाँचौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादको पक्षमा चट्टानी अडान कायम गरेका नेता भनेर चिनिन्छ । जननेता मदनले प्रस्तुत गर्नुभएको जबजको पक्षमा जीवराज आश्रित, माधव नेपालको समर्थनले ठूलो माने राखेको थियो ।

त्यसवेला जबजको काउन्टर प्रस्तावको रूपमा सिपी मैनालीले परिमार्जित नयाँ जनवादी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । झलनाथ खनालले सामाजिक जनवादी हुँदाहुँदै पनि लज्जाजनक हारको डरले सिपी क्याम्प समाउनुभएको थियो । र, जेएनको सामाजिक जनवाद रघु पन्तको नाममा प्रस्तुत भएको थियो । पाँचौँ महाधिवेशनमा जेएन, रघु, घनश्याम भुसाल र गोकर्ण बिष्ट जबजको विरोधी धारमा रहनुभएको थियो । बिडम्वना जबजका मसिहा कमरेड नेपालका हालका सल्लाहकारहरू हिजोका जबजविरोधी नेताहरू हुनुहुन्छ ।

र, अन्त्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा माधव नेपालले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको घामझैँ छर्लंग छ । अदालतको आदेशअनुसार आएकाहरूको हुँकार सुनिरहँदा एमालेको जग खलबलिने थियो । त्यसैले एमाले जोगाउन, एमालेभित्रै उहाँको समेत भविष्य सुनिश्चित गर्न केही समय निलम्बन आवश्यक थियो । प्रधानमन्त्री ओलीले सुविचारित निर्णय गर्नुभएको छ । व्यक्तिको पछि लाग्न हुन्न भनेर नथाक्नेहरू अवश्य कुबाटो हिँड्नुहुन्न, बहुमतको निर्णय मानौँ, विधि र पद्धतिको बाटो हिँडौँ हिजो गुटमा लाग्ने छुट थियो अब अलग पार्टी बनाउन कदापि दिइने छैन । एमाले कसैको होइन, सबैको हो, हरेकले कर्मको फल भोग्नै पर्छ । निलम्बनपछि असल भूमिका खेल्ने हो भने फेरि सबैको प्रिय हुन रत्तिभर बेर लाग्दैन । सिपी र मोहनविक्रम बन्नबाट कमरेड नेपाल जोगिनुस् ।

टिप्पणीहरू