देउवा निवासमा तीनतिरका नेता

देउवा निवासमा तीनतिरका नेता

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको पहल थाल्नुभएको छ । नयाँ सत्ता समीकरणमा अहिलेसम्म मौन रहँदै आउनुभएका देउवाले आज शुक्रबार अपरान्ह माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) संग छलफल गर्न लाग्नुभएको हो ।

पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले दिउँसो ३ बजे संसदका प्रमुख दुई दलसंग छलफल गर्न लाग्नुभएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन थप अगाडि बढाउन नसक्ने जानकारी दिएपछि देउवा तात्नुभएको बताइन्छ । बालुवाटारसंग निकटता बढाएको जसपालाई समेत मनाएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन देउवाले पहल थालेको अनुमान गरिएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा सहमति जुटेपछि समर्थन फिर्ता लिने बताएलगत्तै देउवाले तीनपक्षीय छलफल बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसपा भने पारिको लाइनअनुसार ओलीसङ्गै अडिरहेको बताइन्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने भनेको थियो । कांग्रेसलाई आफ्नै नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र र जसपाको सहयोग अनिवार्य हुन्छ ।

टिप्पणीहरू