राजदूत खतिवडाको सामाजिक सञ्जालमा खोइरो

राजदूत खतिवडाको सामाजिक सञ्जालमा खोइरो

अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाको व्यवस्थापन र निर्णयलाई लिएर अमेरिका बस्ने नेपालीहरूले सामाजिक सञ्जालमा उछित्तो काढेका छन् ।

दूतावासमा फोन नउठ्ने,इमेलको जवाफ समयमा नपाइने समस्या ज्यूँकात्यूँ राखेर दूतावासले सञ्चालन गर्न लागेको घुम्ती सेवा शिविरबारे उनीहरूले रोष प्रकट गरेका हुन् । दूतावासले अप्रिल महिनामा सेवाग्राहीहरूलाई सेवा प्रदान गर्ने भन्दै घुम्ती कन्सुलर सेवा शिविरको सूचना जारी गरेको छ ।

दूतावासले सिकागो शहरमा अप्रिल १७ र १८ तारिखलाई शिविर राखेको छ । त्यहाँ राखिएको शिविरले इलिनोई, आयोवा,विस्कन्सन,इण्डियाना, मिसिगन,केन्टकी तथा मिजौरीलगायत राज्यमा रहेका नेपाली तथा विदेशीलाई कन्सुलर सेवा प्रदान गर्न सकिने बताइएको छ ।

शिविरबाट राहदानी नवीकरण, भीसा,एनआरएन परिचयपत्र, अधिकृत वारेसनामा,कागजात प्रमाणिकरण,एकतर्फी यात्रा अनुमतिलगायतका सेवा प्रदान गरिने दूतावासको सूचनामा उल्लेख छ ।

तर,दूतावास आफैँले गर्नुपर्ने काम अमेरिकाको अर्कै शहरको एउटा भात पसलेलाई सुम्पेको भन्दै सानुबाबु सिलवालले राजदूत खतिवडा र दूतावास कर्मचारीको उछित्तो काढेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हुँदा हुँदा दूतावासको अध्यागमनको काम एउटा भात पसलेलाई जिम्मा लगाएछन् । भात पसले भाडामा मान्छे लगाएर ठूलै क्रान्ति झैँ आफ्नो भात पसलमा दूतावासको इमिग्रेसनको अड्डा बस्न लागेकोमा अङ्ग्रेजीमा उर्दी लगाउँदैछ । लाज,शरम पनि छैन खतिवडाजी,तपाईंंसँग ? सर्वसाधारणको फोन नउठाउने, सामान्य काम गर्न नसक्ने तपाईंले एउटा जाबो भात पसलमा अध्यागमनको अड्डा राख्न मिल्छ ? लाज लाग्दैन तपाईंलाई ? दूतावासको काम भात पसलेले गर्ने हो भने तपाईं यहाँ दूतको रुपमा किन ? भात पसले चाकडी गर्दैछ, डलर खर्च गरेर वाणिज्य दूत बन्न । तपाईंका तोरी लाहुरे वाणिज्यदूतहरू कता छन् ? भूकम्प,हवाईजहाज र दूत भवनमा रकम कुम्ल्याउने भ्रष्ट पूर्वदूत कार्कीका कारण बदनाम नेपाली दूतावास र राजदूतको कर्ममा सुधार ल्याउलान् भन्ने लागेको थियो । तर,पारा हेर्दा यी पनि भ्रष्ट कार्कीभन्दा झन् गए गुज्रेका हुने भए ।’

सिलवालले दूतावासको फोन नउठ्ने र राजदूतलाई खोजेमा अत्तोपत्तो नहुने बताएका छन् । उनले दूतावासका कर्मचारीले अन्तै पार्ट टाइम जब गर्ने गरेको रहस्य समेत खोलेका छन् । त्यसैगरी करोडौं खर्चेर खरिद गरिएको राजदूत निवासको पनि आलोचना गरेका छन् । सिलवालले लेखेका छन् ‘कोही नेपालीलाई दुःख पर्यो भने दूतावास र दूतबाट सहयोग मिल्दैन । बडाहाकिमहरू अन्तै डलर छाप्न,भान्से र ड्राईभर भित्र्याउने नाममा मानव तस्करीमा लिप्त छन् । नयाँ राजदूत खतिवडा सारा नेपाली संघ संस्थामा बदनाम भएर,ठगी,मानव तस्करी, हुण्डीलगायतका धन्दामा लिप्त भई बदनाम भएका,खादा माला, नाम र पहिचानका लागि मरिहत्ते गर्ने दलाल र ठगहरूको चिप्ला भलाकुसारी एवम् चाप्लुसी रिसिभमै ब्यस्त हुने,तिनका जुम र इलेक्ट्रोनिक बैठकमा झुल्किने बाहेक नेपाली समुदायको हितमा माखो मार्नेवाला छैन ।’

टिप्पणीहरू