स्वास्थ्यजस्तो ठूलो कुरा केही छैन संसारमा

स्वास्थ्यजस्तो ठूलो कुरा केही छैन संसारमा

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । बुधबारबाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ्ग, बारा,सर्लाही,दोलखा,मनाङ्ग र मुस्ताङमा कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यबीमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी र पदाधिकारी लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराउनुभयो । स्वास्थ्य बीमाका विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न त चेतावनी नै दिनुभयो । भन्नुभयो “अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न अस्पतालहरुले नगर्नुहोस् । आफ्नो संस्था आफैले सुदृढ गर्ने काममा लाग्नुहोस् । विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।”

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट थालिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्य बीमा कार्यक्रम बुधबारबाट ७५ वटा जिल्लामा लागु भएको छ । ५ जनासम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँछन् ।

थपिएका ६ जिल्लाबाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।

टिप्पणीहरू