बेलैमा घर नपुगे बर्बाद

बेलैमा घर नपुगे बर्बाद

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्डको कडाइपूर्वक पालना गर्न आग्रह गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको उल्लंघन तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहेको निगरानीअनुसार काठमाडौँ,पोखरालगायतका ठूला शहरमा विद्यालय जाने उमेर समूहवीच संक्रमण बढेकाले शैक्षिक संस्थाहरुमा सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, जोखिम बढेका शहरहरुमा सार्वजनिक यात्रा नगर्न र भीडभाड कम गर्न मन्त्रालयको आग्रह छ । 

सूचनामा बढी भीडभाड हुने व्यवसाय जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर मात्र संचालन गर्न निर्देशन दिइएको छ । विदेशबाट फर्केपछि क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाहरुलाई तोकिएका मापदण्ड पालनातर्फ प्रेरित गर्न तथा आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न स्थानीय तह र स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै,कन्ट्याक्ट ट्रेसिङ बढाउन र केस इन्भेस्टिगेशनका लागि एन्टीजेन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउन स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । मन्त्रालयले घर बाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गर्न आग्रह गरेको छ। अन्यथा संक्रामक रोग ऐनबमोजिम कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ ।

मन्त्रालयको सूचनामा रात्रीकालिन व्यवसायहरु राति ९ बजेपछि कडाइपूर्वक बन्द गर्न अनुरोध छ । त्यस्तै,संक्रमणको अवस्था हेरी ठूला शहरमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइ गर्न आग्रह गरिएको छ ।

केही दिनयता कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको हो । यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो । सबै प्रवेश नाकाहरुमा एन्टीजेन र पीसीआर परीक्षण गरी पोजिटिभ रिपोर्ट आए प्रवेश नदिने बताएको थियो । त्यस्तै,नेपाल-भारत सीमा नाकामा कोभिड परीक्षणलाई अनिवार्य गर्ने निर्णय पनि भएको थियो ।

टिप्पणीहरू