कञ्चनपुरमा पनि नेपाल समूहको छुट्टै कमिटी

कञ्चनपुरमा पनि नेपाल समूहको छुट्टै कमिटी

वडास्तरसम्मै समानान्तर कमिटी गठनको अभियान शुरु गरेको नेकपा एमाले माधव नेपाल समूहले कञ्चनपुरमा समानान्तर कमिटी गठन गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीको संरचना बनाएको भन्दै असन्तुष्ट रहेको नेपाल समूहले बुधबार समानान्तर कमिटी बनाएको हो ।

समानान्तर कमिटीको अध्यक्षमा तारा लामा तामाङ चुनिएका छन् । त्यस्तै, उपाध्यक्षको जिम्मेवारी जीवन थापालाई दिईएको अध्यक्ष तामाङले बताए ।

उनकाअनुसार सचिवमा रणबहादुर महरा तोकिएका छन् । सहसचिवको जिम्मेवारी रविन्द्र कुँवरलाई दिईएको छ । कार्यालय सचिवको जिम्मेवारी मोहन रावलले पाएका छन् ।

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले पुनर्स्थापित भएको एमालेमा अन्तरसंघर्ष चर्केको छ । अध्यक्ष ओलीले फागुन २८ गते माधव समूहलाई बाहिरै राखेर महत्वपूर्ण निर्णय गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ ।

तत्काल पार्टी विभाजन नगर्ने तर एमालेमै अन्तरसंघर्ष चर्काउने निर्णयअनुसार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी गठन गरिरहेको छ ।

टिप्पणीहरू