ललितपुर मेयर्स कपको फाइनलमा एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्ने

ललितपुर मेयर्स कपको फाइनलमा एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्ने

लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश महिला ललितपुर मेयर कप टि–ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीलाई हराएसँगै अब सुदूरपश्चिमको फाइनलमा एपीएफ क्लबसँग भेट हुने भएको छ ।

यसअघिका तीन वटै खेलमा जित हात पारेको विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले फाइनलमा स्थान पक्का गरिसकेको थियो ।
त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय खेल मैदान कीर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १२ ओभर ३ बलमै भेट्टायो ।

सुदूरपश्चिमको लागि मञ्जु बोगटीले सर्वाधिक २६ रन बनाइन् भने रेवती धामी र बिन्दु रावलले समान १७ रन योगदान दिए । लुम्बिनी प्रदेशकी बलर कृतिका मरासिनीले २ विकेट लिए पनि कमजोर ब्याटिङका कारण तेस्रो हार ब्योहोर्नुपर्यो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीको लागि ओपनर लक्ष्मी चौधरीले २६ तथा कप्तान नेरी थापाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशकी लेग स्पिनर लक्ष्मी साउदले सर्वाधिक ४ विकेट हात पारिन भने कप्तान रितु कनोजियाले ३ विकेट तथा सुनिता लोहार र कविता जोशीले समान १ विकेट हात पारे ।

प्रतियोगिताको फाइनल खेल शनिबार सुदूरपश्चिम र एपीएफबीच हुनेछ । त्यसअघि लिग चरणको अन्तिम दिनको खेलमा बिहीबार ललितपुर मेयर्स–११ र प्रदेश नम्बर १ तथा लुम्बिनी र एपीएफले प्रतिस्पर्धा गर्नेछन् ।

टिप्पणीहरू