नक्कली मेहन्दी र क्रिम त लाउनुभएन ?

नक्कली मेहन्दी र क्रिम त लाउनुभएन ?

स्वदेशी तथा विदेशी कस्मेटिक सामानहरूको गैरकानुनी उत्पादन तथा बिक्री वितरण गर्ने एक जना समातिएका छन् । गैरकानुनी रुपमा काठमाण्डौंमा उत्पादित मेहन्दी,फेस क्रिमलगायतका कस्मेटिकहरूको प्रयोगले कपाल झर्ने,एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भिर असर देखिएको सूचनाको आधारमा प्रहरीले उद्योगमा छापा मारेको जनाएको छ ।

महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले छापा मार्ने क्रममा चन्द्रागिरि नगरपालिका १५, ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय चेतन गोयललाई पक्राउ गरेको हो ।

गोयलले हेब्बी कला कोला हेन्ना, मेहेन्दीलगायतका कस्मेटिक गैरकानुनी तरिकाले उत्पादन गर्दै आएका थिए । प्रहरीका अनुसार उच्च अदालत पाटनको आदेशबमोजिम खारेज भइसकेको ट्रेड मार्क ‘निशा’ प्रयोग गरी सोही ट्रेड मार्कमा मेहन्दी उत्पादन गरिरहेको र अन्य कस्मेटिक सामानहरू पनि अनाधिकृत रुपमा उत्पादन गरेको पाईएकाले उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

गोयलको उद्योगबाट प्रहरीले २४ प्रकारका कस्मेटिक सामानहरू, कस्मेटिक सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसमेत फेला पारेको छ । उनले सञ्चालन गरेको उद्योग सील गर्नुका साथै उत्पादित नक्कली कस्मेटिक सामानहरू समेत चन्द्रागिरी नगरपालिका १५, ढुङ्गेअड्डामा भण्डारण गरी राखेको अवस्थामा गोदाममा फेला परेको छ ।

गोयलले उत्पादन गरेका सामानहरू ताम्राकार प्लाजा मखन गल्लीमा रहेको अहान इन्टरप्राईजेजमा समेत ओरिजिनल होलोग्रामहरू टाँस गरेको अवस्थामा पाइएको थियो । गोदाम र पसल सील गरेपछि प्रहरीले कस्मेटिक सामान ओसारपसारमा प्रयोग गरिएको बा १९ च ८०५३ नम्बरको भ्यान र सोभित्र रहेको ८ बोरा निशा मेहेन्दीलगायतका नक्कली सामान नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका कम्पनीका सञ्चालक गोयललाई प्रारम्भिक अनुसन्धानपश्चात् थप अनुसन्धानको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पठाइने छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गोयलले आफ्नो उद्योगमा उत्पादित गुणस्तरहीन मेहेन्दी भारतमा उत्पादित भनी झुक्याई बिक्री वितरण गर्ने उद्देश्यले भारतीय मेहेक मेहेन्दीको अंकित मूल्यसमेत उल्लेख भएको खाली प्याकेटहरू ठूलो मात्रामा भण्डारण गरी राखेको पाइएको छ ।
उनको उद्योगमा उत्पादन हुने काला कोला मेहेन्दीको प्याकेटमा उत्पादन स्थान,मिति र म्याद समाप्त हुने मितिलगायतका विवरणहरू समेत उल्लेख नभएको खुलेको छ । ताम्राकार प्लाजा मखन गल्लीमा रहेको आहान ईन्टरप्राईजेज पसलसमेत २०७६ सालपछि नवीकरण नगरी सञ्चालन गरेको पाइएको बताइएको छ ।

२ बर्षअघिसमेत गोयललाई महानगरीय अपराध महाशाखाबाट यस्तै प्रकृतिको कसुरमा पक्राउ गरी मुद्दा चलाइएको तथ्य पनि खुलेको छ । सीलबन्दी गरिएका विभिन्न सामानहरूको अन्दाजी मूल्य १ करोड ५० लाख रहेको प्रहरीको अनुमान छ ।

टिप्पणीहरू