श्रीलंका पुलिस क्लबले बुधबार त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने

श्रीलंका पुलिस क्लबले बुधबार त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने

पाहुना टोली श्रीलङ्कन पुलिस स्पोर्ट्स क्लबलाई आतिथ्य गर्दै बुधबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बलले एएफसीकप २०२१ सुरुआती छनोट चरणको खेल खेल्दै छ । प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीले सुखद् नतिजा निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य राखेका छन् ।

एएफसीकप २०२१ सुरुआती छनोट चरणमा श्रीलंकाली लिग च्याम्पियन श्रीलंका पुलिस स्पोर्ट्स क्लबले बुधबार दशरथ रंगशालामा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछन् । मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको प्रि–म्याच कन्फेरेन्समा दुवै टिमको तर्फबाट आगामी खेलका लागि तयार रहेको रहेको बताइयो । घरेलु दर्शकको साथ पाउने अपेक्षा गरिएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जीतसँगै नेपाली फुटबल समर्थकलाई खुसी दिन चाहेको बताए ।

यस्तै कप्तान भरत खवासले पनि प्रशिक्षकको भनाईमा सहमत जनाउँदै टिमको तयारी राम्रो रहेको बताए । उहाँले टोलीमा राम्रो संयोजन रहेको बताउँदै पाहुना टोलीविरुद्ध सुखद् नतिजा निकाल्नेमा विश्वास व्यक्त गरे ।

श्रीलंका पुलिस एससीका प्रमुख प्रशिक्षक झिलाउ एलपेन्सुले कोरोना भाइरसको महामारीका कारण खेलाडीले ढिलो तयारी गरेको बताए । पहिलो पल्ट एएफसीमा सहभागि भएको र टोलीमा कुनै पनि राष्ट्रिय खेलाडी नभएकाले खेल प्रभावित हुने डर प्रशिक्षकलाई रहेको छ ।

यस्तै कप्तान चमिका कुमाराले छोटो समयको तयारीका बावजूद पनि आफूहरुले सकारात्मक नतिजाको लागि खेल्ने बताए । प्रारम्भिक चरणको खेल सिंगल लिगमा खेलाइने छ । श्रीलंकाली टिमको तुलनामा नेपाल आर्मीको वरियता माथि रहेको हुनाले उसले घरेलु मैदानको फाइदा उठाउने मौका पाएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को इजाजत पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न लागेको यो पहिलो पल्ट हो । यसअघि मनाङ मस्र्याङ्दी क्लब ०७१ को एएफसी प्रेसिडेन्ट्सकप विजेता बनेको थियो ।

बुधबारको विजेताले अप्रिल १४ मा भारतको आईएसएल टिम बेंगलुरु एफसीसँग गोवामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले पनि अन्तिम समूह चरणमा पुग्न तेस्रो खेल खेल्नुपर्नेछ । तर खेल स्थानबारे हालसम्म कुनै निर्णय भएको छैन ।

दशरथ रंगशालामा हुने खेलमा बढीमा सात हजार दर्शकले प्रवेश पाउने व्यवस्था गरिएको बताइएको छ । सर्वसाधारणतर्फको टिकटको मूल्य ३ सय र भीआईपीतर्फको टिकटको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।

टिप्पणीहरू