‘तुझ् में रब् दिखता हे, यारा में क्या करुँ ?’ « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

‘तुझ् में रब् दिखता हे, यारा में क्या करुँ ?’



प्रेमको योभन्दा सुन्दर र सशक्त अभिव्यक्ति अर्को कस्तो होला र ? एउटा प्रेमिकाले आफ्नो प्रेममा रब् देख्नु भनेको ऊप्रतिको अपार माया, अटुट विश्वास र भरोसा रहेको मान्नु हो ।‘रब्‘ गीत र कवितामा धेरै पाइन्छन् तर यथार्थमा के छन् त्यो बहसको छुट्टै विषय हुन सक्छ । राजनीतिमा पनि ‘रब्‘ हुन्छ तर भनिन्न र लेखिन्न गीत र कवितामा जस्तो । गरिब तथा खान नपाएका, शोषित पीडित, अन्याय र अत्याचारमा परेका जनताको निम्ति ‘रब्’ जस्तै हो कम्युनिष्ट पार्टी । किनभने जनताको खातिर लड्ने, उनीहरूको संघर्षको नेतृत्व गर्नेे काम कम्युनिष्ट पार्टीले मात्रै गर्छ । जातपातको आधारमा विभेद नहुने, समाजमा उँचनिच नहुने, न्याय र समानता, धनी र गरिब सबै बराबर, गाँस, बास र कपासको सुनिश्चितता, सबैको निम्ति शिक्षा र स्वास्थ्यजस्ता यदि कसैले गर्छ भने त्यो कम्युनिष्ट पार्टीले मात्रै हो भनियो । घरमा परिवारका प्रति बा को जे भूमिका निर्धारित रहेको हुन्छ ठीक त्यसैगरी सिद्धान्ततः कम्युनिष्ट पार्टीको पनि देश र जनताप्रतिको भूमिका निर्धारित छ । जनताले कम्युनिष्ट पार्टीलाई मन पराउने कारण पनि यही नै हो । यसकारण यो जनताको ‘रब्’ जस्तै हो । जनता कम्युनिष्ट पार्टीमा ‘रब्‘ देख्छन् ।

कम्युनिष्ट पार्टी बनेको सात दशकपछि नेकपा एमाले आफूले जनताको निम्ति जे गर्नुपर्छ र जे गर्नेछु भनेर भन्दै आइरहेको थियो त्यो गर्न सक्ने ठाउँमा पुगेको छ । यो चानचुने परिघटना होइन । यसलाई ऐतिहासिक परिघटना मान्छ सारा संसारले । ठूलो कुरा केही छैन गर्नुपर्ने । सानै कुरा गरेर जितिसकेको जनताको दिल र दिमागलाई उही स्थानमा राख्न सकिन्थ्यो । केही बिगार नगरी यत्तिकै हिँडिरहने हो भने पनि जनता साथमा रहिरहन्छन् । तर, अभागीलाई खाने बेला रिस उठ्छ भनेजस्तो नेकपाभित्र सबैलाई रिस उठेको छ । देश विकास गर्ने बेला, जनताको जीवनस्तर उकास्ने बेला, जनतालाई एकताबद्ध गरेर समृद्धिको यात्रालाई अघि बढाउनुपर्ने ऐतिहासिक बेलामा एकअर्कालाई खुइल्याउन, नांगेझार पार्न शक्ति प्रयोग भइरहेको छ, घर झगडामा अल्झिएर जग हँसाइको पात्र बनिरहेको छ । यो जनताप्रति सरासर बेइमानी हो, ठूलो धोका हो । घर व्यवहार मिलाउने, श्रीमती र छोराछोरीको हेरविचार गर्नुपर्ने दायित्व बोकेको बाउले जाँड खाएर घर भाँडेजस्तो अवस्था हुन गएको छ यति ठूलो पार्टीको हालत । यसरी त चल्नै सक्दैन मात्रै होइन कि सक्किने हो ।

नकारात्मक नै सही तर अदालतको फैसला आपसी झगडा मिलाउने राम्रो मौकाका रूपमा आएको थियो । अर्को पक्ष बाध्यताले होस् अथवा अरू नै कारणले, अध्यक्षसँग मिलेर काम गर्न भनेर फर्केकै हो । तर, उनीहरूको यो कदमलाई सायद कमजोरी ठानियो क्यारे ! सँगै साथमा लिएर अघि बढ्ने कुरा त स्वीकारिएन नै बरु लगभग ठाडठाडै र ढोकैबाट फर्काउनेजस्तो काम भयो । यसलाई बुद्धिमत्तापूर्ण तरिकाले र दूरदर्शी बनेर बिग्रिएको वातावरणलाई बनाउने अवसरको रूपमा लिनु सही कदम हुन्थ्यो । ल ठीक छ, जे भयो भयो, कमरेड अब सही तरिकाले चलौँ भन्न सक्नुपथ्र्यो । कमरेड, ल ठ्याक्कै भन्नुस् एक, दुई, तीन तपाइँका कन्सर्न केके हुन् ? र, ल सुन्नुस् मेरा कन्सर्न यी यी हुन् एक÷दुई तीन । ल तपाईं नै भन्नुस्, हामी दुवैको सरोकारलाई कसरी संबोधन गर्ने ? यस्तो भन्नु सर्वथा उचित र दूरदर्शी कुरा हुन्थ्यो । तर, यस्तो त भएन नै बरु आइन्दा फर्केर आइस्, मेरो द्वार कुल्चिस् भने तेरा खुट्टा भाँच्छु भन्नेजस्तो भयो ।

पार्टीभित्र अन्तरसंघर्ष चर्काउँदा केहीलाई फाइदा हुन सक्छ । किनभने गुटे राजनीतिमा लाभ देख्नेहरू बृहद् एकता चाहन्नन् । तिनले यस्तो भइरहोस् भन्ने चाहन्छन् । त्यस्ता तत्वले उक्साउन, भड्काउन सक्छन्, त्यस्तो गर्न दबाब दिन सक्छन् । यस्ता तत्वको मनसायलाई चिन्हित गर्नुपर्छ । दलको मुली भइसकेपछि अरुको कुरा सुनेर धारणा बनाउने, व्यवहार गर्ने संकीर्णताबाट मुक्त हुनुपर्छ । नेता भनेको दलको मात्रै होइन, सिंगै देशको हुन्छ । देश र जनताको बृहत् हितको निम्ति आवश्यक परे जिम्मेवारी पनि छाड्न सक्ने हुनुपर्छ । तर, हामीले सोचेजस्तो, सिकेजस्तो व्यवहार यहाँ देख्न पाइएन । जनता धेरै चिन्तित छन् यो सम्भावित दुर्घटनाको पीरले ।

गर्न जसले पर्ने हो उसैले नगरिदिएपछि भन्न कहाँ जाने ? कसलाई भन्ने ? इतिहासको अध्ययनले के भन्छ भने इतिहास दोहोरिन सक्छ र यदि त्यो दोहोरियो भने प्रहसनको रूपमा दोहोरिनेछ । इतिहास नदोहोरिँदै त यस्तो हालत छ, दोहोरिँदाको दिन कस्तो होला ! दुई तिहाइको सरकार अल्पमतमा झरेको छ, योभन्दा ठूलो प्रहसन के होला ? अल्पमतको सत्ता टिकाउन जायज÷नाजायज, खुला र गोप्य सहमति गर्नुपर्ने अवस्थामा पुगेको छ, यो पनि उस्तै ठूलो प्रहशन नै हो । आफँैलाई नेता मानेका र लौ न मिल्छु, मिलौँ, एडजस्ट हुन्छु, ठाउँ दिनुस् भनिरहेकाहरूउपर भाटे कारबाही चलाउनुपर्ने तहमा उभिनु पनि प्रहसन नै हो अथवा नाटकै हो । बिग्रिने बेला उल्टो बुद्धि आउँछ भन्छन् बूढापाकाहरू । उहाँहरू पनि बूढापाकै हुनुहुन्छ तर खै के भन्नुहुन्छ कुन्नि यसबारे ?

तर, हामी जनता के भन्छौं भने यो कचिंगल उचित छैन । मिलाउनुस् र मिल्नुस् । दम्भले धेरै नोक्सान पु¥याउने कुरा बहुमत भएर पनि मध्यावधिमा जाँदा गिरिजाप्रसाद कोइराला र कांग्रेसको के हालत भयो, बढी हौसिएर कटवाललाई चलाउँदा प्रचण्डले अहिले के भोग्नुपरिरहेको छ ! त्यसकारण संयमता कायम राखेर, दिलले होइन दिमागले सोंचेर, कमरेडी स्पिरिटमा एकताबद्ध भएर, जसरी दुई दलको एकता गरेर संसारलाई नै चकित पारिएको थियो ठीक त्यही छापामार शैलीमा यो कचिंगललाई पनि समाधान गरेर फेरि एकपटक हामीलाई चकित पार्नुहोस् । हामीले भन्ने यत्ति हो अर्थात् भीरबाट लड्ने गाईलाई ए ए ए लौन लौन भन्ने हो । अरु उपाय हुन्न । लडेर मरेछ भने अर्को किनेर पाल्ने हो । कुरा खस्रा, बस् रोटी चिल्ला !

-दिनेश रायमाझी 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
यो चाँहि किन पर्दैन महोदय ?
महामारीमा उता बेहाल अस्पताल, यता बबाल उद्घाटन (भिडियो)
जसपा कहाँ,बबरमहल,बालकुमारी कि डोलेश्वरमा ?(भिडियो)