घात–प्रतिघातबाट कहिले मुक्त हुने ?

घात–प्रतिघातबाट कहिले मुक्त हुने ?

मुलुकलाई युरोप–अमेरिकी स्तरमा पु¥याउने भाषणबाजी गर्दै निर्वाचन जितेका नेताको कार्यशैली, सोच, व्यवहार तथा राजनीतिक गतिविधि हेर्दा ‘बिहारी राजनीति’ लाई पनि माथ गर्ने खालका घात–प्रतिघात र हुर्मत लिने क्रियाकलाप देखिन थालेका छन् । एकले अर्काे दल र समूहलाई देखि नसहने एवं खोइरो खन्ने गर्दा विश्वास र सभ्य राजनीतिक संस्कार तथा मूल्यको राजनीतिक संस्कृति ध्वस्तप्रायः बनिसकेको छ ।

राजनीतिमा मूल्य र नैतिकता महत्वपूर्ण मान्यता हो । नैतिकता भएन भने संविधान, कानुन र प्रणाली जस्तोसुकै उत्कृष्ट बनाए पनि कुनै अर्थ हुन्न । नैतिकता कानुनी कुरा होइन, यो त मानिसको आचरण, व्यवहार, सोच, शैली र आपसी मानवीय सम्बन्धको उपज हो । अर्काेप्रति कसरी कस्तो व्यवहार गर्दछौं भन्ने कुराबाट नैतिक आचरण नापिन्छ ।

आफू र आफ्नो सत्ता स्वार्थको लागि आफ्नै समूह र साथीलाई पनि छुरी धस्ने स्वभाव र शैलीले गर्दा नेपाली राजनीति विश्वासयोग्य बन्नै सकेन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै सभापति कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा घात गरे । गणेशमानहरुलाई रुवाए । नैतिक मूल्यको राजनीतिलाई ध्वस्त पार्ने काम उनै गिरिजाप्रसादको पालाबाट थालनी गरियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यो सन्दर्भमा बढी नै चर्चित देखिन्छन् । उनले आफ्नो सत्तास्वार्थ बचाउका लागि राजनीतिक मूल्य र संस्कृतिलाई ध्वस्त पारिदिए । सांसदहरूको सुरासुन्दरी काण्डदेखि बिरामी भएको नौटंकी र बहानामा बैंकक लैजानेजस्ता अनेक खाले नांगो नाच र हर्कत उनकै पालामा भयो । राजनीति र राजनीतिक चरित्र ध्वस्त पार्ने काम उनले गरे । त्यो बेलाको सत्ता स्वार्थ र रोगले आज पनि नेपाली राजनीतिमा अनेकौं ऐजेरु देखिएका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा पनि सत्ता स्वार्थ, घात–प्रतिघात र षड्यन्त्रै षड्यन्त्रको बीचबाट बढ्दै गर्दा अदालतको आदेशले बेलुनजस्तो फुट्न पुग्यो । प्रचण्डको छिट्टै विश्वास गरिहाल्ने प्रवृत्ति, प्रधानमन्त्री ओलीको आफूबाहेक कसैलाई सत्तामा ढिम्कनै नदिने अठोट, आफ्नै मुढे तरिकाले सत्ता सञ्चालनको शैली, वामदेव गौतमको पिपलपाते बानी, माधवकुमार नेपाल र झलनाथ खनाल समूहको घेराबन्दीको राजनीति आदिले नेकपा एउटा स्वार्थैस्वार्थको महासंघमा परिणत भइसकेको थियो । यसरी नेकपा अघि बढ्ने अवस्था थिएन । घाती–प्रतिघाती चरित्रको कारण सिसा फुटेसरी नेकपा फुट्यो । अझै त्यो कति चिरामा चर्कने र फुट्ने हो कुनै टुंगो छैन । उता, कांग्रेस, नेकपा एमाले कहिले फेरि चिराचिरा पर्ला र आफू ठूलो भाग खान पाउँला भन्ने सोचमा ढुकी बसेको छ । आफू र आफ्नो असल काम र संस्कृतिबाट अगाडि बढ्ने भन्दा पनि अर्काे कमजोर हुँदा आफू ठूलो भइने गरिबीयुक्त सोचबाट नेता माथि उठ्नै सकेका छैनन् ।

राजनीतिमा सामूहिकता, सहयोग, सहकार्य, सहसम्बन्ध, सहभागिता तथा संस्कृतिलाई उच्च महत्व दिनुपर्ने हुन्छ भन्ने मानिन्छ । तर, नेपाली राजनीतिमा सहकार्य, सहयोग र सामूहिक हितको संस्कृति शिला खोज्नुपर्ने भइसकेको छ । कम्युनिष्ट पार्टीमा कमरेड्ली र हार्दिकतापूर्ण सम्बन्ध हुन्छ भन्ने कुरा पुस्तकमा मात्र पढ्न सकिने भएको छ । आमाचकारी गाली गर्नु, फौजदारी प्रकृतिका बलात्कारी, भ्रष्टाचारी, हत्यारा, हिंस्रक र ज्यानमाराजस्ता आरोप एवं प्रतिआरोप लगाउनु सामान्यजस्तै भइसकेको छ । यस्तो प्रकारका फौजदारी आरोपले नेपाली राजनीतिमा हिलोधुलो फैलिएर समाजै कालो बन्न लागिसकेको छ । त्यसैको डढेलो र तुँवालोले समाजमा अनेक प्रकारका इकाइ, समूह र परिवारसम्म पनि नकारात्मकता हाबी हुँदै गएको देखिन्छ । कसैले आफू र आफ्नो समूहबाहेकलाई सकारात्मकताले नहेर्ने सोचको विकास नेपाली राजनीतिबाटै हुर्कंदै गएको अनुभूति हुन थालेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पार्टी सञ्चालन विधि र तरिकाको चौतर्फी आलोचना भए पनि उनले त्यसलाई टेरपुच्छर लगाएको देखिन्न । बरू अर्काे समूह र नेतालाई अनेकौं प्रकारका घाती हर्कत गर्न थालिएको देख्न सकिन्छ । यस्तो अविश्वासपूर्ण शैली, सोच र व्यवहारका कारण मुलुकको सर्वाधिक ठूलो पार्टी एक प्रकारले संस्कार र संस्कृतिहीन बन्न पुगेको छ । नेकपा एमालेमा झांगिएको स्वार्थीपना, घाती–प्रतिघाती व्यवहार, गैरकमरेडी भावना र निजी हितका लागि जे पनि गर्न पछि नपर्ने शैलीले गर्दा राजनीति नै प्रदूषित बन्न पुगेको छ । पार्टीमा पद्धति, विधि, विधान, मूल्य र राजनीतिक नैतिकताजस्ता कुरालाई आधारभूत कुरा मानिन्छ ।

तर, सोही कुराको खडेरी पर्दा पूरै मुुुलुकमा घात–प्रतिघातको संस्कृति हुर्कन पुगेको छ । यसैले राजनीतिक संस्कृति निर्माण र मूल्यको संस्कारलाई बचाउनुपर्ने खाँचो छ ।

टिप्पणीहरू