पर्यटन क्षेत्रको चुनाव रोक्न को पस्यो ?

पर्यटन क्षेत्रको चुनाव रोक्न को पस्यो ?

राष्ट्रिय राजनीतिको गाईजात्रा मुलुकको पर्यटन क्षेत्रमा समेत पर्न थालेको छ । गाउँ पर्यटन प्रवर्धन मञ्चको चुनावमा भएको राजनीतिले त्यसको छनक दिएको बताइएको छ । गत शुक्रबारको लागि तय भएको उम्मेदवारी मनोनयनको समयलाई काठमाडौं सिडिओ कार्यालयमा हालिएको एक पाने निवेदनको आडमा अड्काइएको मञ्चका पदाधिकारीहरुले बताएका छन् ।

नयाँ नेतृत्वको लागि हुन लागेको मञ्चको चुनावमा ‘बा एमाले’ र काँग्रेसले गठबन्धन बनाएको बताइन्छ भने त्यसको विरुद्ध अरु एकातिर देखिएका छन् । उम्मेदवारी मनोनयनको लागि अन्तिम समय गत शुक्रबार ४ बजे भन्दै निर्वाचन अधिकृतले सूचना नै टाँसेका थिए । निर्वाचन अधिकृत काठमाडौं बारका यसअघिका अध्यक्ष श्रीराम दवाडी हुन् ।

उम्मेदवारी दिने समय त्यसअघि नै एक घण्टा थपेर ४ बजे बनाइएको थियो । तर,थप आधा घण्टा समय थप्नको लागि सरकारी गठबन्धनले मौखिक आग्रह गर्यो । पहिले नै ३ बजेको लागि तय भएको समय ४ बजे बनाइएकाले अर्को पक्षले समय थप गर्न नमानेपछि म्याद सकिएको बताइन्छ ।

त्यसलगत्तै काठमाडौं सिडिओ कार्यालयमा निर्वाचन रोक्ने उद्देश्यले म्याद थप गरियोस् भन्ने पक्षले उजुरी हालेको मञ्चका एकजना सदस्यले बताएका छन् । उजुरीमा वर्तमान महासचिव सहितलाई उम्मेदवार बन्नबाट वञ्चित गराइएको भन्ने व्यहोरा उल्लेख छ । काँग्रेस समर्थित जशोदा पाण्डे वर्तमान महासचिव हुन् भने उनले अध्यक्षमा उम्मेदवारी दिने चर्चा धेरै अघिदेखि थियो । ‘बा एमाले’ ले भने उनैलाई समर्थन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

५ सय ९३ जना मतदाता रहेको मञ्चको चुनाव हुने स्थान र मिति भने तय भएको छैन । अर्को पक्षको तर्फबाट काभ्रे बल्थली इको रिसोर्टका राजकुमार थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । सरकारी पक्षको अध्यक्षका उम्मेदवार भनिएकी पाण्डेले उम्मेदवारी दर्ता गर्न नभ्याएपछि चुनाव रोक्ने उद्देश्यले सिडिओ कार्यालयमा उजुरी हालिएको बताइन्छ ।

काठमाडौं सिडिओ कार्यालयले पनि ‘माथिको आदेश’ पछि उजुरीलाई तामेलीमा राखेर थप अनुसन्धान र छलफल गर्नुपर्ने बताएको छ । सहायक सिडिओ कल्पना घिमिरेको भनाई उद्धृत गर्दै मञ्चका एकजना सदस्यले भने ‘अनुसन्धान गर्नुपर्ने भएर हाल चुनाव रोक्न लगाइएको हो ।’

निर्वाचन अधिकृतले आवश्यक सबै कागजात बुझाएपनि सिडिओ कार्यालयले आलटाल गरेको थापा पक्षको आरोप छ ।

टिप्पणीहरू