सेनाले बन्दुक र मासु समात्यो

सेनाले बन्दुक र मासु समात्यो

नेपाली सेनाको ‘अपरेशन महाहन्ट-७’बाट खटिएको टोलीले बाँकेबाट हतियारसहित बन्दोबस्तीका सामग्री बरामद गरेको छ ।

आज राप्ती सोनारी गाँउपालिका-९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट दुई नाल भरुवा बन्दुक,चार सय ग्राम बारुद,१४ थान केप, शिकार गरिएको मासुलगायत शिकारमा प्रयोग हुने बन्दोवस्तीका सामान बरामद गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा राखिएको स्पाइ क्यामरामा हतियारसहितका व्यक्तिहरुको शंकास्पद हर्कत देखिएको र तत्काल ‘अपरेशन महाहन्ट ७’ मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त टोलीले उक्त सामाग्री बरामद गरेको हो । हतियारसहित बरामद सामाग्री निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिहरुको सक्रियताका साथ खोजी भइरहेको पनि निर्देशनालयले जनाएको छ । ‘अपरेशन महाहन्ट-७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास लिएको सेनाले जनाएको छ ।

टिप्पणीहरू