बालकैमा बिदेश,यता बा-आमा बेपत्ता

बालकैमा बिदेश,यता बा-आमा बेपत्ता

कृष्ण कार्की नाम बताउने १९ वर्षीय युवक भारतबाट सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइली आइपुगेका छन् । चार कक्षामा शिव माध्यामिक विद्यालय लाटीकोइलीमा पढ्दै गर्दा दाइ (कान्छा बुवा धनवीर कार्कीको छोरा) प्रकाशले भारतको दिल्लीमा बेचेको उनी बताउँछन् ।

हाल लाटीकोइलीस्थित खगेन्द्र कार्कीको घरमा बसिरहेका कृष्ण बेवारिसे जस्तै हालतमा छन् । बुवा–आमा पत्ता नलाग्दा बेवारिसे बनेका हुन् ।

प्रहरी र स्थानीयले बाबु–आमा पत्ता लगाउन प्रयास गरेपनि हालसम्म भेटिएका छैनन् ।
कृष्णले बाजेको नाम गोपाल,बाबु गणेश,आमा धौली कार्की भएको बताउँदै आएका छन् । यस्तै परिवारमा भाइ किशोर र बहिनी कल्पना पनि भएको बताएका छन् ।

उनले आफ्नो परिचय दिने क्रममा मामाहरु केशव बिष्ट,लामसिंह बिष्ट भएको र एउटा मामा नेपाल आर्मी भएको बताएका छन् । मामाघर दैलेखको पश्चिम क्षेत्रमा छ भन्छन् । ‘मामाको घर जानेबेला दैलेखको ठाँटीकाँध उता खोला तरेर उकालो जाँदा मन्दिर आउँछ’ कृष्णले भने, ‘मन्दिरको नजिकै मामाको पत्थरले छापेको घर छ ।’

चार कक्षामा पढ्दा दाइले आफूलाई बेचेको कृष्णले बताए । ‘चार कक्षामा पढ्ने बेला दाइले फकाएर भारतको दिल्ली लगी सरदारको घरमा राखिदिए । मलाई चेलो भनेर राखेको थियो ।’ कृष्णले भने, ‘त्यो घरमा बस्दा घरमालिकलाई रातभर सपनामा सर्प देखिने,हिंड्दा हिड्दै तर्सिने जस्ता अनेकन क्रियाकलाप हुन थालेछ । मलाई पनि देवता आयो । कामेर म कालिका हुँ भनेपछि मालिक डराएर बालगृहलाई खबर गर्यो ।’

घरमालिकले खबर गरेपछि भारतीय ‘सिडब्लु’ले प्रकाशलाई त्यहाँस्थित बालगृहमा राखेको उनी बताउँछन् । ‘सिडब्लु’ले कृष्णका बारेमा बुझ्न खोज्दा घरमालिकले उनका लागि दाइ प्रकाशलाई पाँच लाख भारतीय रुपैयाँ दिएको जानकारी दिएपछि आफू बेचिएको थाहा पाएको बताए । उनका अनुसार प्रकाश ती सरदारको एक कम्पनीको सुरक्षा गार्ड थिए ।

भारतको अनाथ आश्रममा रहेका कृष्ण नेपाल र भारतीय दूतावासको सहयोगमा काठमाडौं आउन सफल भएका हुन् । उनलाई केही समय काठमाडौं चाबहिलस्थित बालसुधार गृहमा राखिएको थियो ।

‘म जहिलेपनि कापी कलम पाउने बित्तिकै आफ्नो नाम र ठेगाना लेख्ने गर्थेँ । नाम कृष्ण कार्की, ठेगाना सुर्खेत ८ लाटीकोइली, पहाड घर दैलेख ।’ उनले भने, ‘अनाथ आश्रमका मान्छेलाई घर ठेगाना बताएपछि मलाई अड्डासार गरी महेन्द्रनगर हुँदै सुर्खेत ल्याइएको हो ।’

टिप्पणीहरू