यहाँ त महिला नै शत्रु भइदिए

यहाँ त महिला नै शत्रु भइदिए

मुनु सिग्देल, खतिवडा

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । त्यस्तै अग्लो राजनीतिक इतिहास बोकेकी नेत्री हुन् मुनु सिग्देल । तत्कालीन एमालेमा हुँदा देशभरबाट एक्लो महिला अध्यक्ष बनेर इतिहास रचेकी मनु विभाजनअघिको नेकपाको मकवानपुर जिल्ला अध्यक्षको भूमिकामा छिन् । पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी उनले तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर काम गरिन् । ३० वर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मुनुको पारिवारिक परिचय अझै चर्चित छ । उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालीन एमालेका सांसद विरोध खतिवडाकी श्रीमती र मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन् । प्रतिनिधिसभाको निर्वाचन (०७४) मा श्रीमान् विरोध फेरि निर्वाचित भए, मकवानपुर– २ बाट । मुनु त्यहाँको प्रदेश सांसद छिन् । –हरि गजुरेल

० आइतबार मात्र सर्वाेच्चले नेकपाको आधिकारितासम्बन्धी लडाइँमा ऋषि कट्टेलको पक्ष मात्र लिएन साविकको एमाले र माओवादी ब्युँताउने काम पनि गर्‍यो । यो निर्णयलाई कसरी हेरिरहनुभएको छ ?

– अदालतको निर्णय मान्दिनँ भन्न मिलेन । अदालतले असाध्यै गैरजिम्मेवारपूर्ण फैसला गर्‍यो । कानुनी हैन राजनीतिक निर्णय गर्‍यो । ऋषि कट्टेलले मेरो नाम अर्कैले लग्यो, नाम दिलाइपाऊँ भनेर माग्नुभएको । तर, सर्वाेच्चले त तिमीहरू अलग–अलग हौ । हिजो एमाले, माओवादीकै हैसियतमा फर्क भनिदियो । पार्टी विघटन भएरै नेपाल कम्युनिष्ट पार्टी बनेको हो । त्यहीपछि एमाले विघटन भयो अहिले सन्ध्या कट्टेलहरूको नाममा दर्ता छ, नेकपा माओवादी विघटन भई गोपाल किराँतीको नाममा दर्ता भएको हो । यो फैसलाले सिंगो कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का पुगेको छ । अदालतको फैसलाबाट पार्टी एकता नै भाँड्ने काम भएको छ । मुलुक झनै अस्थिरताको दिशातिर अघि बढ्नेछ । पहिलादेखि नै सेटिङ भनिँदै आएको थियो । सेटिङचाहिँ यतातिर भएको रहेछ । संसद् पुनःस्थापना हुने दिन नै पारेर अदालतबाट यो फैसला आउनुले पनि शंकालाई झन् मलजल गरेको छ ।

० सर्वाेच्चको यो फैसलासँगै नेकपाकै एकता संकटमा परेको छ । तर, यो घडीमा एउटा पंक्ति खुशीयाली मनाइरहेको छ । कस्तो लाग्दै छ ?

– एउटा विश्लेषण गर्ने क्षमता हुनुपर्छ । पार्टी एकता अहिलेको आवश्यकता हो । तर, पार्टी अदालतले फुटाउनुपर्ने आवश्यकता थिएन । गलत बाटोबाट भएको फैसलामा खुशी मनाउनु दुर्भाग्यको कुरा हो ।

० एकातिर निर्णायक तहमा महिलाको प्रतिनिधित्व कम हुने, अर्काेतिर नेतृत्वको प्रतिवाद झण्डै शून्य स्थितिमा देखिने । किन यस्तो भएको होला ?

– अहिले दास मनोवृत्तिको विकास भयो । हिजो आन्दोलनमा लाग्दा महिलाको हैसियत थियो तर अहिले आफ्नो हैसियत भएन । पुरुषले देलान् भनेरै आश्रित हुनुपर्ने स्थिति रह्यो । नेतृत्वको विरोधमा बोल्दा नियुक्ति नपाइएला, नेतृत्व बिच्किएला, मेरो भविष्य के होला ? भन्ने मानसिकताले डेरा जमायो । दुःख नगरी पद प्राप्त गर्नका लागि नेतृत्वको चाकडी गर्नुपर्ने, नेतृत्वको प्रतिवाद गर्दा अवसर गुम्ने डरले नै त्यस्तो भएको हो । हिजोका दिनमा विद्रोह गरेरै हामी यो ठाउँमा आइपुगेका हौं । अहिले समानुपातिक प्रणालीले त झनै महिलालाई दास बनायो । हिजो आन्दोलनमा लाग्दा सांसद, मन्त्री बनौँला भनेर लागेको हो र ?

० प्रतिनिधित्वकै कुरा गर्ने हो भने पनि ३३ प्रतिशत अनिवार्य महिला सहभागिताको मुद्दा संविधानको (धारा)पानामै सीमित रह्यो । क्याबिनेट, संसद्, पार्टी कतै पनि महिलाको ३३ प्रतिशत सहभागिता नहुनुमा पुरुषहरूको मानसिकताले काम गरेको हो वा सक्षम महिला नभेटिएर हो ?

योगदानभन्दा पनि अनुदानका आधारमा उठाइएकाहरू धेरै छन्।

– सक्षम नभएको कसरी भनौं ? हिजो युद्ध लडेर आएका महिला प्रशस्त छन् । ३३ प्रतिशत पुर्‍याउनका लागि सहभागी गराउने, निर्णायक तहमा नलाने सोच पितृसत्तात्मक मानसिक नेतृत्वमा हाबी छ । बागमतीकै कुरा गरौं न, यत्रो प्रदेशको राजधानी, त्यहाँको क्याबिनेटमा एक जना पनि महिला छैनन् । आफ्नै गुटको बनाए पनि भयो नि ? त्यो पनि छैन । महिलालाई दिनै नखोज्ने । कमजोर देख्ने । महिलालाई सदैव आफूभन्दा तल राख्न खोज्ने, हेप्ने । निर्णायक तहमा पु¥याउने मामलामा सक्षम नदेख्ने । कार्यकारी पद महिलालाई दिनै नचाहने ।

० राजनीतिमा पनि सिण्डिकेट देखिन्छ । जति माथि उठेका वा आएका महिला छन् ती कतै न कतै पुरुषसँगको नातागोताका आधारमा उठेका देखिन्छन् । श्रीमान् वा आफन्त उपल्लो पदमा भएका कारण उठ्नु विकृति होइन ?

– हिजो क्रान्ति वा आन्दोलनबाट आएको पार्टीमा श्रीमान्/श्रीमती दुबै लागेका कारण अवसर पाएको एउटा कुरा भयो । क्षेत्रीय पार्टीहरूमा त्यो अझै बढी देखिन्छ । योगदानभन्दा पनि अनुदानका आधारमा माथि उठाइएकाहरू धेरै छन् ती पार्टीहरूमा । यो ३३ प्रतिशतको चरम दुरूपयोग हो । सबैलाई एकै भाँडोमा हालेर हेरिदिनुचाहिँ भएन । जस्तो अहिले ओनसरी घर्ती, वर्षमान पुन, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, शक्ति बस्नेत, सत्या पहाडी यस्ता राजनीतिक पात्र धेरै छन् जो दुबै आन्दोलन युद्धमा सँगै थिए । एउटा मोर्चा सम्हालेर आएका थिए । मेरै सवालमा प्रश्न गर्नुहुन्छ भने म पार्टीको अध्यक्ष । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएको हुँ । यसरी श्रीमान् वा परिवारसँग जोडिँदा के राजनीति गर्नु ? परिवारको एक जनाले मात्र राजनीति गर्नुपर्ने रहेछ भन्ने पर्छ । कहिलेकाहीँ संसद्मा यति जोडी, यी श्रीमान्÷श्रीमती माननीय भनेर आउँदा मन खिन्न हुन्छ । विगतमा ती महिलाहरूको आन्दोलनमा योगदान थियो वा थिएन ?

० कुनै समय अखिल नेपाल महिला संघको नेतृत्व गर्नुभएको व्यक्ति अहिले राष्ट्र«पतिको भूमिकामा पुग्नुभयो । मुलुकले पहिलो महिला राष्ट्र«पति पायो । यो गर्वको विषय बन्यो । उहाँको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?

– उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो, जंगलमा निगुरो टिप्न गएका महिला बलात्कारपछि हत्या भयो । त्यो समयमा उहाँले आफ्नो मात्र बचाऊ गर्नुभयो । त्यो समयमा पनि उहाँको बारे धेरै कुरा उठेका थिए । उहाँबाट त्यस्तो अपेक्षा थिएन । हाम्रै प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न खोज्नुभयो । उहाँलाई चित्त बुझेन । जुनियर मान्छेलाई मुख्यमन्त्री बनाउन धेरै जोडबल गर्नुभयो । उहाँको जोडबलको अघि कसैको केही चलेन । महिला मात्र भनेर हुँदैन रहेछ भन्ने यहाँबाट प्रस्ट हुन्छ । वा त महिला पुरुष भन्नै भएन, महिला पुरुष जो भए पनि खुला प्रतिस्पर्धा गरेर आऊ भन्नुप¥यो । महिलाको कुरा पनि ठुल्ठूला स्वरमा गर्ने फेरि सक्षम महिलालाई अघि बढ्न बाधा अड्चन पु¥याउने प्रवृत्ति साह्रै नराम्रो हो । महिलालाई अघि बढाउने सवालमा महिला नै बाधक बन्ने अभ्यास लज्जाको विषय भयो । म यहीँ जिल्लामा पहिलो पटक पार्टी अध्यक्ष बन्दा महिलाहरूबाटै सोचेजस्तो सहयोग भएन । महिलाकै लागि भनेर चलाइएका संघ, संस्था छन् । ती पनि गुटमा लागे । कि त महिला भन्नै भएन । आफ्नै पार्टीको महिला उठेपछि गुटगत आँखाले हेर्ने प्रवृत्ति मौलायो ।

निर्मला पन्तको घटनामा दोषी पत्ता लाग्न नसक्दा अनेमसंघ कहाँ थियो ? भागरथी हत्या हुँदा अनेमसंघले बोल्न नहुने ?

० सार्वभौम राष्ट्रपति गुटको कार्यकर्ता बन्न मिल्ने कि नमिल्ने ?

– राष्ट्रपतिजस्तो गरिमामय पद एउटा गुटमा सीमित भयो । पार्टीभन्दा माथि उठी राष्ट्रको हकहितलाई सर्वाेपरी मानेर निर्णय गर्नुपर्नेमा एउटा पार्टीको, सानो गुटको हितमा काम हुन थाल्यो । त्यसले गर्दा पनि महिलालाई माथि पु¥याएर के काम ? झन् कच्चा निर्णय हुँदो रहेछ, अक्षम हुँदा रहेछन् । ती अर्काेको इशारामा चल्दा रहेछन् भन्ने मान्यता स्थापित हुँदै गयो । यसले महिलालाई स्थापित हुन झन् अप्ठ्यारो पार्ने देख्दै छु ।

० अनेमसंघको पछिल्ला गतिविधि कस्तो लाग्दै छ ?

– निर्मला पन्तको बलात्कारपछि हत्या भयो । वर्षाैंसम्म दोषी पत्ता लाग्न नसक्दा अनेमसंघ कहाँ थियो ? भागरथी हत्या हुँदा अनेमसंघले बोल्न नहुने ? रामकुमारी झाँक्रीले बोलेकै आधारमा उनीमाथि कारबाहीका लागि ज्ञापन दिनुपर्ने ? रामकुमारीले एउटा प्रवृत्तिको कुरा गर्नुभएको हो । हामीकहाँ एउटा महिलालाई जतिबेला उसको श्रीमान्को मृत्यु वा हत्या हुन्छ अनि अघि बल्ल सारिन्छ । क्षमता छ वा छैन हेरिँदैन । सिधै सेतो साडीमा जनतामाझ उभ्याइन्छ र सहानुभूतिको मत बटुल्ने प्रयास हुन्छ । त्यही प्रवृत्तिको विरोध न गर्नुभएको हो रामकुमारीले ! सक्षम महिलालाई अवसर दिने कुरामा जहिले पनि टीका लगाएर दिने, टिके प्रवृत्ति छ । त्यसको हामीले पनि विरोध गर्नुपर्छ । हिजो हामी क्रान्तिको जुन आगो बोकेर आयौं, आज त्यो प्रवृत्ति मर्दै गएको छ, दास प्रवृत्ति मौलाउँदै गएको अवस्था छ ।

श्रृंखलाले एउटा ट्रेण्ड नै परिवर्तन गरिदिएकी छन् ।

० केन्द्रको रोग बागमती प्रदेशतिर पनि सरेको देखिन्छ । त्यो विवादको जड के हो ?

– एकलकाँटे मनोवृत्ति नै हो विवादको जड । पार्टी एकता भएपछि जसरी सरकार बनेको छ, सरकारले पार्टीको निर्णय नमान्ने रोग छ । केन्द्रमा झैँ गुटगत सोचबाट बाहिर ननिस्कने, सहभागीदेखि हरेक कुरामा गुटगत चिन्तनले डेरा जमाएकै कारण समस्या हुँदै गएको हो । केन्द्रको अधिनायकवादको छायाँ अहिले प्रदेशतिर पनि सरेको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न लगेका छौं । पहिला अविश्वासको प्रस्ताव फेस गर्छु भन्ने मुख्यमन्त्री रातारात संसद् स्थगित गराएर भागिरहेको स्थिति छ ।

० तपाईकी छोरी मिस नेपाल बन्दा कम्युनिष्टका सन्तान पनि मिस नेपाल बनाइएको भन्दै चर्काे आलोचना भयो । छोरी मिस नेपाल हुँदा कत्तिको खुशी लागेको छ ?

– आरोप त गलत साबित भइसक्यो । श्रृंखलाले एउटा ट्रेण्ड नै परिवर्तन गरिदिएकी छन् । अहिले मुलुक र हरेक क्षेत्रमा उसको गतिविधिले ब्युटी कन्टेस्ट भनेको शरीरको प्रदर्शन होइन, बौद्धिकताको प्रदर्शन रहेछ भन्ने कुरा स्थापित भएको छ । त्यसैमा मलाई गर्व छ ।

० श्रीमान्/श्रीमती नै राजनीतिमा हुनुहुन्छ । यसरी राजनीतिमा होमिँदा परिवार चलाउन कत्तिको सकस हुँदो रहेछ ?

– बालबच्चा हुर्काउनेदेखि हरेक चिजमा अप्ठ्यारो हुँदोरहेछ । हिजो आन्दोलनबाट आइयो । पार्टीको जिम्मेवारी लिएर काम गर्दा घरपरिवार हेर्नुपर्ने, बालबच्चा हुर्काउनुपर्ने, समय दिनेदेखि सबै काम महिलाले भ्याउनुपर्छ । मेरो परिवारले मलाई बुझ्ने, साथसहयोग दिने भएका कारण सहज भयो । आफ्नो पूरा समय पार्टीमा दिएर लाग्नु भनेको चुनौतीपूर्ण विषय हो । त्यही चुनौतीलाई स्विकार्दै हामी अघि बढेका हौं । चुनौतीलाई स्विकारेर जो लड्न सक्छ उसैले अवसर प्राप्त गर्ने हो । यो चुनौती लिन मैले सानैदेखि सिकेँ ।

त्यो उच्छृंखलता कति दिन टिक्ला र ?

० तपाईं जिल्लाको अध्यक्ष पनि । पार्टी छिन्नभिन्न भएपछि गतिविधि कस्तो छ ?

– हिजो अदालतले फैसला गरेपछि एमाले एमाले एक हौं भनेर हिँडिरहेको स्थिति छ । पार्टी कार्यालयमा तालबन्दी थियो । एक पक्षले ताला फोड्ने काम गर्दै छ । यसले अराजकता निम्त्याएको छ । झडपमा जाने स्थिति देखिँदै छ । एमाले हुँदा पनि पार्टी एकीकरणपछि अध्यक्ष मै हुँ । तर, अहिले उच्छृंखलता बढेको छ । हामी पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ भनेर लागेका हौं । अन्योल सदैव रहँदैन, एउटा निकासचाहिँ आउँछ तर यही अन्योलताको मौका छोपेर केही मान्छेले उच्छृंखल गतिविधि गरिरहेका छन् । त्यो उच्छृंखलता कति दिन टिक्ला र ?

० तपाईहरूजस्ता नेत्रीको कुरा पार्टी हेडक्वार्टरले कत्तिको सुन्ने अवस्था छ ?

– महिला नै एकताबद्ध भएनन् । पार्टीमा भन्दा गुटमा रमाए । एकढिक्का भएर आवाज नउठाउने, गुट–गुटमै रमाउने भएपछि पार्टीले प्रयोग मात्र गर्छ महिलालाई । जो चाकरी गर्छ उसलाई अवसर दिने, जो विद्रोह गर्छ उसलाई पाखा पारिदिने, तिकडम गर्ने, लाञ्छना लगाउने गरी खेलिरहेको अवस्था छ ।

टिप्पणीहरू