ट्राई सिरिज फुटबलको तयारी अन्तिम चरणमा

ट्राई सिरिज फुटबलको तयारी अन्तिम चरणमा

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । दशरथ रंगशालामा यही चैत १० देखि १६ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

बिहीबार गरिएको पत्रकार सम्मेलनमा एन्फाले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । एन्फा प्रवक्ता किरण राईले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताए । ‘यो टूर्नामेन्टले नेपाली फुटबललाई कोरोनाभन्दा अगाडिको सामान्य अवस्थामा पुर्याउन मद्दत गर्ने कुरामा हामी आशावादी छौं,’ राईले भने । राईका अनुसार किर्गिज टोली आइतबार काठमाडौं आइपुग्ने छ ।

कोरोना महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ । त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्यसमेत तोकेको छ । जसअनुसार सामान्य प्याराफिटतर्फ सात सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकटदर तोकिएको छ । एन्फाले टूर्नामेन्टको अनुमानित लागत १० करोड रूपैयाँ बताएको छ भने टिकट बिक्रीबाट १५ करोड उठाउने अपेक्षा गरेको छ । ‘टिकट बिक्री, प्रायोजन रकम र प्रसारण अधिकार आम्दानीका मुख्य स्रोत हुन,’ राईले भने ।

दशरंथ रंगशालामा आयोजना हुन लागेको प्रतियोगिताका लागि एन्फाले रंगशाला तयारीलाई तीब्रता दिएको छ । यसअघि नै सार्वजनिक भएको तालिकाअनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेल दुई दिन पछाडि १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा सहभागिता जनाउन आजै बंगलादेशको टोली पनि काठमाडौं आइपुगेको छ । बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

टिप्पणीहरू