पूर्वराजासँग अब समय छैन

पूर्वराजासँग अब समय छैन

‘कोसँग कति आश गर्ने ? कहिलेसम्म आश गरेर बस्ने ?’ पूर्वराजा ज्ञानेन्द्रको मनमा मडारिएका प्रश्न हुन् यी । र, राजसंस्था पुनःस्थापनाका सम्भावनाबारे निकटस्थहरूसँग हिजोआज अनेकन गन्थन गरेर समय बिताइरहनुभएको छ ।

एकातिर नेपाल सरकारले घरका बार्दलीदेखि कोठाचोटासम्म सुराकी छाडेकोमा उहाँको असन्तुष्टि छ भने अर्कातिर भारतबाट खेलाई–खेलाई धोका दिइएकोप्रति उत्तिकै वितृष्णा छ । यस्तो स्थितिमा कसलाई रोज्ने ? किन रोज्ने ? निकट एक नेतासँग केही दिनअघि भारतप्रतिको दिक्दारी पोख्नुभयो । भन्नुभयो, ‘कहिले के भन्दै, कहिले के भन्दै उनीहरूले (भारत) यत्रो वर्ष अल्मल्याए । समय कम छ, अब विकल्प खोज्नुपर्छ ।’ जे गर्ने हो, त्यो सबै आफ्नो जीवनकालमै होस् भन्ने उहाँको चाहना देखिन्छ । ‘मेरो पनि उमेर ७३ वर्ष भयो । त्यसैले अब हामीले केही गर्नुपर्छ या उत्तरतिर ढल्किनुपर्छ’, उहाँको धारणा थियो । अलिक विश्वास बढेको छ, केपी ओलीप्रति । आफ्नै पार्टीभित्र अनुदार भए पनि हिन्दूहरूका पक्षमा प्रस्तुति र योगदान पछिल्लो समय आश्चर्यजनक रुपमा बढ्नुले केपीलाई विश्वास गर्न सकिने आधार बनेको ठम्याई पूर्वराजाको छ । उहाँले अभिनेत्री मनिषा कोइरालालाई भनेजस्तै कुरा जनआस्थाको सम्पर्कमा आएका ती नेतासँग भन्नुभएको छ, ‘अहिलेका नेपाली नेतामध्ये तुलनात्मक रुपमा अरुभन्दा केपी ओली देशभक्त छन् । उनी राष्ट्रवादी भएको हुनाले पनि सफ्ट कर्नर (सदाशयता) राख्न सकिन्छ ।’

आफूमाथि सरकारी निगरानी बढेकोमा भने बडो दिक्दारी छ । ‘अनावश्यक निगरानी बढाइयो, तर सुरक्षाचाहिँ कटौती भयो’, उहाँले भन्नुभयो । व्यक्तिगत भेटघाटका क्रममा नेपालीभाषी बाहुल्य उत्तरपूर्वी भारतीय प्रान्त सिक्किम र दार्जिलिङमा दश दिन बिताएर फर्किनुभएका उहाँ देश बाहिर भएकै बेला उहाँको सुरक्षार्थ तैनाथ ९८ सुरक्षाकर्मीमध्ये ५८ लाई तानेर ४० जना बाँकी राखिएका छन् । त्यसमध्येबाट पनि तानेर १६ मा सीमित गर्ने लक्ष्य छ । तर, उहाँलाई लक्ष्यित गरेर ती तानिएको नभई प्रचण्डको रिस फेर्ने योजना बनाउँदा त्यही घानमा पूर्वराजा पनि पर्नुभएको हो । उहाँ फर्किनासाथ कटौतीमा परेका सुरक्षाकर्मी आ–आफ्नो ठाउँमा पुग्छन् ।

माग्न जाँदा हिस्स !

कुनै बेला वाइसिएलको उपत्यका इञ्चार्जका रुपमा निक्कै छाएका चन्द्रबहादुर थापा (सागर) अहिले हिन्दू राजतन्त्रको वकालत गर्दै एउटा पार्टी चलाउँछन् । कसै कसैले प्रचण्डले खोलिदिएको पार्टी पनि भन्छन्, तर उनको काम गर्ने शैली र प्रचण्डको पक्षधरतामा आकाश–जमिनको फरक छ । उनै सागर आफ्ना गतिविधि सञ्चालन गर्नका निम्ति पूर्वराजा ज्ञानेन्द्रसँग पैसा माग्न पुगे । तर, ज्ञानेन्द्रले सोचेभन्दा ९० डिग्री अन्तरको व्यवहार गरेर फिर्ता पठाउनुभयो । भन्नुभयो, ‘नेपाली जनताले चाहे भने फर्किन्छु । नभए यत्तिकै मर्छु । तर, पैसा खर्च गरेर राजाको पक्षमा नाराबाजी गराउन तयार छैन ।’

पूर्वराजाबाट यस्तो जवाफ पाएपछि सागर कार्यकारी राष्ट्रपतिको नारासहित सडकमा देखिएका छन् । उनले फागुन २१ गते हिन्दू राष्ट्र बनाउने एजेण्डासहितको आमसभा आयोजना गरे । त्यसमा पनि कार्यकारी राष्ट्रपतिको वकालत गरेका छन् ।

उता, पूर्वराजाको जस्तै सुरक्षा कटौतीमा परेका केही राजनीतिक दलका नेताले भने फेरि सरकारसँग सुरक्षा माग गरेका छन् । डा.रामशरण महत, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, बालकृष्ण खाँणसहितका १६ नेताले त्यस्तो गरेका हुन् । उनीहरूलाई नेपाल प्रहरीबाट पिएसओ दिने, तर सवारी चालक र भान्से नदिने नीति बनाइएको छ । यो गृहसचिवस्तरीय निर्णय हो । यसलाई अब केन्द्रीय सुरक्षा समितिमा पेश गर्ने भनिएको छ ।

टिप्पणीहरू