महाराज, आउनोस्, थोरै मन मिलाऊँ

महाराज, आउनोस्, थोरै मन मिलाऊँ

दिनेश रायमाझी

गाउँघरतिर ‘इमान’ भन्छन् तर त्यसैलाई राजधानी र ठूला शहरमा नैतिकता र अंग्र्रेजीमा मोरालिटी भन्दा रहेछन् । किसान, मजदुर, शिक्षक यिनै त हुन् गाउँमा बस्ने । यिनका निम्ति ठूला कुरा केही हुन्नन्– घाँसदाउरा, हलोकोदाली र यस्तै–यस्तै । यस्तोमा पनि इमानको कुरा गर्छन्, इमान खोज्छन् र जाँच्छन् आफ्नै वरिपरिका मान्छेले । यी इमान खोज्ने इमानीहरू सबै आ–आफैसँग थुरथुर हुन्छन् इमान जाला कि भनेर । र, साँच्चै गाउँघरमा त मुखै देखाउन नसक्ने बनिन्छ इमान गयो भने । यिनीहरूको निम्ति खेतको आली लाउने दिन आउँछु भनेर जानू ठूलो इमान हो । पैंचो दिन्छु भनेर दिनु ठूलो इमान हो । केही गर्जो पर्दा, अड्कोपड्को पर्दा हुन्छ भनेर गर्जो टार्दिनु, अड्को पड्को फुकाइदिनु ठूलो इमान हो । आउने भनेर गएन भने, दिन्छु भनेर लिन जाँदा दिएन भने वा झुक्यायो भने त्यो एकदमै इमान नभएको हुन्छ । यिनले यस्तै सानातिना कुरामा इमान जाँच्छन् । इमान जाँच्न ठूलो कुरा पर्खिन थाल्दा त ज्यानैसमेत जान सक्छ । गोप्य सहमति थियोे साँटासाँट गरी आधाआधा चलाउने तर त्यो सहमति सार्वजनिक रूपमा तोडियो सबैले थाहा पाउने गरेरै । पछि फेरि पनि अर्को सहमति भयो एउटा–एउटा लिने र राम्रोसँग चलाउने तर त्यो पनि तोडियो । वास्तवमा इमान जाँच्न यी दुई घटना पर्याप्त थिए । तर गाउँका ती अनपढ किसान, मजदुरहरूको जत्ति पनि समझ देखिएन, मान्छे चिन्न ठूलो कुरा पर्खिए, जसको कारण राजनीति यो अवस्थामा पुगेको छ । यसको जिम्मेवार को ?

मदन भण्डारीले त ढुक्कैसँग भन्नुभएको थियोे सायद कि साथीहरूलाई खोज्न अब धरहराबाट हेर्नु पर्नेछ भनेर । भन्छन् नि ‘जोगले हुन्छ भेट’, जोगले नै दुईवटा नितान्त फरक कार्यनीति भएका दलहरू भेट भएका थिए । दुई दलको ऐतिहासिक एकताले अरू सानातिना दलको त कुरै भएन कांग्र्रेसलाई समेत साँच्चै नै धरहरा चढेरै हेर्नुपर्ने बनाइदिएको थियो । दुई दुई पटक प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको, लोकतन्त्रको पर्याय भनिने कांग्रेससमेत वास्तवमै लिलिपुटजस्तै बनेको छ । देशको माहोल पनि सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भनेझैं सबै नेपाली नेकपा, सबै नेकपा नेपाली भन्ने जस्तै छ । तर, आज अरूलाई खोज्न धरहरा चढ्नुपर्ने अवस्थामा पुगेको यो भीमकाय दल आफ्नै कारणले ढलेर भग्नावशेष बनेको धरहराजस्तो बन्ने छाँटकाँटमा पुगेको छ । विपक्षी दलहरूको निम्ति योभन्दा राम्रो अवसर अरू के होला ? यस्तै गरी अघि बढेर भोलि दुई फ्याक भई चुनावमा जानुप¥यो र पराजय भोग्नुप¥यो भने त्यसको हिसाब कसले दिने ?

जतिसुकै रिस उठे पनि, झगडा परे पनि दसैँको बेला टीका लाउन जान्छन् मान्छे एकअर्काकोमा । दसैँमा टीका लगाइदिँदा आशिष दिनुपर्छ, सराप्न मिल्दैन । यही टीका लाउने र लगाइदिने कार्यले वैमनश्यता हट्छ र सम्बन्ध सामान्य बन्छ । यो समय दसैंको त होइन तर ऋषि कट्टेलको मुद्दाले उछिट्टिएर टाढा–टाढा पुगेका सबैलाई एकै ठाउँमा ल्याउने काम गरेकै हो । यो अवस्थालाई पूर्ण सदुपयोग गर्नुपर्ने थियो । अनपेक्षित यो मिलनलाई सार्थकतामा बदल्नुपर्ने थियो । तर, त्यस्तो हुन सकेन । बरु राणाकालीन समयमा बर्खास्त गर्ने पाँडे पजनी शैली अवलम्बन गरियो र सबैलाई सोत्तर पार्ने काम भयो । यसले सङ्लिन सक्ने सम्भावनालाई झन् धमिलो बनाएको छ । हिन्दीमा एउटा कहावत छ दूर कि ढोल सुहानी लग्ती है । ठट्यौली, टुक्का र चुट्किला सुन्न त रमाइलै हुन्छ– ताली र हाँसोको गडगडाहट सुन्दा र देख्दा जम्मै जनता मेरै पक्षमा छन्, चुनावमा दुई तिहाइ सजिलोसँग आइहाल्छ भन्ने आत्मरति जाग्नु स्वाभाविक पनि हो । राजा ज्ञानेन्द्रलाई पनि यस्तै लागेको देखिन्थ्यो । तर, निकट विगतको यथार्थ के हो भने गत चुनावमा झापामा राजेन्द्र लिङदेनको सहयोग त लिएकै हो । आफ्नो टाउको फुटेपछि मितको टाउकाको के माया ? जम्मै भोट अन्यत्र ओइरियो भने के होला ? जो हुन सक्ने सम्भावना उत्तिकै प्रवल पनि छ । यदि, यस्तै ढिपी कायम रह्यो र सूर्यमा लाग्नुपर्ने छाप अन्यत्र लाग्न गएमा त्यसको जिम्मेवारी कसले लिने ?

भनिन्छ, एक गाउँको एउटा पिराहाले त्यो गाउँ त पिर्छ नै अन्य सात गाउँ पनि पिर्छ । पिराहा जोसुकै होस् तर त्यसले सात गाउँ त पिरेकै छ । सिंगो देश, सातै प्रदेश, सबै दल र सम्पूर्ण यसको लपेटोमा परेका छन् । सर्वत्र अन्योलको, अराजकता र अस्थिरताको माहोल बनिरहेको छ, पिरेको छ । सबै जना चिन्तित छन् अब के होला, के गर्ने होला, लोकतन्त्र रहला कि मासिएला ? व्यवस्था बँच्ला कि जाला ? भनेर । बल्ल–बल्ल जुटेको राजपामा यही कारणले संकट निम्तिएको छ । हिजो अदालतलाई सेटिङको बात लाग्यो केही छिन भए पनि । निर्वाचन आयोग शंकाको घेरामा तानिएको छ । आफूहरू स्वयंकै धरहराजस्तै अग्लो व्यक्तित्व गल्र्यामगुर्लुम भई धुलिसात भएको छ । आफ्नै कारणले दुई तिहाइ नजिकको पार्टी ठुन्किएर वामपुड्के (शब्दको लागि माफी चाहन्छु) बन्ने स्थितिमा पुगेको छ । बरु अरूलाई त भाग्योदय चिठ्ठा पर्नेवाला छ, न आन्दोलन, न संघर्ष न त चुनाव सिधै केन्द्रीय भूमिकासहितको दल बन्न पाउनु चानचुने भाग्यको कुरा होइन । परिस्थिति यस्तै रहिरहे वा यसरी नै अघि बढेमा बालुवाटार डेराको बसाइ पनि केही दिनभित्रै सकिन सक्छ ।

अन्त्यमा,

माथि जेसुकै भनिए पनि चाहना र आवश्यकता त मिलापकै हो । कहिलेकाहीँ हामी दाजुभाइ झगडा गरेर बोली बाराबार गर्दा आमा भन्नुहुन्थ्यो– हेर केटा हो, यो भाइ भाइको जात कस्तो हो भने भाइ भाइ कहाँ पाइ, भाइ भाइ मुटु खाई । तिमीहरू मिल्नुको विकल्प छैन किनभने भोलि दुःख पर्दा सबैभन्दा धेरै मन खाने त तिमीहरू दुई दाजुभाइकै हो । एमाले र माओवादी केन्द्र पनि दाजुभाइ नै हुन् । मिलेरै यो शक्ति आर्जन भएको हो । ज्यान जाला तर भ्या गर्दिनँ भन्ने मूर्खता गर्दा स्वयं सकिन पनि बेर लाग्दैन । कट्टेलले जुराइदिएको यो मौकालाई मेलमिलापको अवसरमा बदल्ने र जनताको चाहना, आशा र भरोसालाई जीवित राख्नेतर्फ अघि बढे इतिहासले पनि सम्मान नै गर्नेछ ।

टिप्पणीहरू