देश तावाबाट उम्केर भुंग्रोमा जाकियो

– मल्ल के सुन्दर

व्यक्ति एक, परिचय अनेक ः मल्लके सुन्दरको विशेषता यही हो । अधिकारकर्मी हुनुका साथै, आदिवासी जनजाति महासंघका संस्थापक उनले जीवनको ऊर्जाशील तीन दशक पत्रकारितामै बिताए । उमेरले सात दशक कटे पनि सक्रिय लेखनमै छन् । राष्ट्रिय समाचार समितिमा तीन दशकभन्दा बढी समय व्यतित गरेका उनी त्यहाँको महाप्रबन्धकसम्म बने । तत्कालीन माओवादी र नेपाल सरकारबीच सम्पन्न वार्तामा सहजकर्ताको भूमिका निर्वाह गरेका उनी माओवादी कोटाबाट सांसद बने, नेपाल आदिवासी जनजाति महासंघका संस्थापक उनले विभिन्न आन्दोलनको कमाण्ड गरे । प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध नागरिक समाजको तर्फबाट कृष्ण पहाडी, दमननाथ ढुंगाना, सिके लाल, श्याम श्रेष्ठ, युग पाठक, नारायण वाग्लेदेखि देवेन्द्रराज पाण्डेसँगै सडमा ओर्लिए । प्रतिनिधिसभा पुनःस्थापना त भयो तर अझै संसदीय राजनीतिमा एकपछि अर्काे जटिलता देखिँदै छ । के भन्छन् यी सबै परिस्थितिबारे उनी ? हरि गजुरेल

० गणतन्त्र प्राप्तिपछि फेरि पनि नागरिक अगुवा पहिलाझैं सडक आन्दोलनमा होमिनुपर्ने दिन आउँछ भनेर कल्पना गर्नुभएको थियो ?

– नागरिक आन्दोलनमा ०६२ सालमा लाग्दा यो निर्णायक संघर्ष होला भन्ने लागेको थियो । राजनीतिक नेता, दलहरूको दूरदृष्टि नपुग्दा १५ वर्ष नपुग्दै फेरि सडकमा आउनुपर्‍यो ।

० कलहमा कसैलाई सत्तामा पुर्‍याउनकै लागि नागरिक अगुवाहरूले सडकमा उत्रनुपर्ने ?

– दलले भनेको संसद पुनःस्थापना वा संविधानलाई ट्र्याकमा ल्याउने मुद्दा हो, त्योभन्दा भिन्न, त्योभन्दा अग्रगमनकारी लोकतान्त्रिक मुद्दा हामीले उठाएका छौं । घोषणापत्र नै जारी गरेर यसकारण नागरिक अगुवाहरू आन्दोलनमा छौं भनेका छन् । नेताहरूले भनेझैं संसद् पुनःस्थापना भएर अब कोही प्रधानमन्त्री बन्लान्, कोही हट्लान् । अहिले दलहरूको आन्दोलन रोकिएको छ तर नागरिक अगुवाहरूको आन्दोलन जारी छ । यो आन्दोलन कसरी अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र कोरिसकेका छौं ।

० संसद् पुनःस्थापनापछि मुलुक ट्र्याकमा फर्कन्छ भन्ने आशा थियो तर परस्थिति झन् जटिल देखिँदै छ नि !

– नेताहरूले यो संविधान जारी भएकै समयदेखि भन्दै आएका हुन्, राजनीतिक मुद्दा समाप्त भयो, अब सम्पत्ति र विकासका मुद्दा अघि बढाउँछौं । तर, नागरिक समाजले शुरुदेखि नै भन्दै आए राजनीतिक मुद्दा समाप्त भएको छैन । उत्पीडित वर्ग, लिंग, समुदायको समस्या बाँकी नै छ । उहाँहरूले त्यसलाई नजरअन्दाज गर्नुभयो, अहिले हामी यो स्थितिमा पुग्यौं । उहाँहरूले अस्ति आन्दोलन शुरुवात गर्दा दुईवटा कुरा जोड दिएर भन्नुभयो संविधानलाई ट्र्याकमा ल्याउने र दोस्रो विघटित संविधानसभालाई पुनःस्थापित गर्ने । हामीले ०७२ सालको संविधान निर्माणका क्रममा भएका त्रुटि, कमी–कमजोरीलाई सच्याउने अवसरको रूपमा लिँदै संविधान परिमार्जनको प्रयत्न गरौं, नसुल्झिएका राजनीतिक मुद्दा धेरै छन् तिनलाई उठाएर सीमांकित वर्ग क्षेत्रलाई समेटी अघि बढाउनुपर्छ भन्ने आवाज उठायौं । उहाँहरूले त्यसलाई गम्भीर रूपमा लिनु भएन, फेरि पनि मुलुक तावाबाट त उम्कियो तर भुंग्रोमा जाकियो ।

० अहिले संसदीय गोलचक्करमा नेकपा फसिरहेको छ । ओलीसँग सभामुख छैनन्, दाहाल नेपाल पहिचानविहीन अवस्थामा छन् । यो झमेलाबाट मुलुक कसरी बाहिर आउला ?

– संसद्मा भएका दलले मात्र राजनीतिक निकास निकाल्न सक्ने अवस्था रहेन । राजनीतिलाई अब नयाँ शिराबाट अघि बढाउनुपर्‍यो । यो कुरा अनुभूत गर्नुभएन भने ओलीले संसद् विघटन गर्दाको भन्दा पनि जटिलतम परिस्थितिमा पुग्छौं र विदेशी शक्तिले चलखेल गर्ने मौका पाउँछन् । नेपाल फेरि हिजोझैं अस्थिरताको दिशातिर धकेलिन्छ ।

० नयाँ शिरा भन्नाले, कस्तो ?

– सबैले स्वीकार गर्नुपर्छ कि हामीले जुन राजनीतिक कदम चालेका थियौं त्यो परिपूर्ण थिएन, अब सबैलाई समावेश गरी राजनीति शुरु गरौं भनेर उहाँहरूले भन्न सक्नुपर्छ । संविधान परिमार्जन गरेर हुन्छ वा संसद्भित्र रहेका दलका अलवा विप्लव, मधेसी, मुस्लिम, आदिवासी, संसद्बाहिर रहेका दललाई समेट्ने विधि अवलम्बन गरी दीर्घकालीन समाधानको बाटोमा जानुपर्छ ।

सूर्य चिह्न मेरो भनेर कसैले प्रचार गर्छ भने त्यो भ्रम मात्र हो ।

० सूर्य चिह्न पद्मरत्न तुलाधरसँग जोडिन्छ । तपाईं पनि उहाँसँगै जोडिनुभएको व्यक्ति । यो चिह्न कसरी कायम भएको थियो त्यतिबेला ?

– ०४३ को आमचुनाव । काठमाडौंमा उम्मेदवार तय भए पद्मरत्न तुलाधर । भूमिगत रूपमा मालेको पनि प्रस्ताव थियो होला । हामी काठमाडौंबासीले पद्मरत्नलाई उठायौं । म आफैं पनि गएको थिएँ उहाँसँग । त्यो बेला सूर्य चिह्न पद्मरत्नजीले व्यक्तिगत पहलमा पाउनुभयो । पञ्चायतकालमा उम्मेदवारपिच्छे चुनाव चिह्न हुन्थ्यो । त्यसबखत पद्मरत्नजीकै पक्षमा ८६ हजार मत खस्यो । उहाँले चुनाव जितेर सूर्य चिह्नलाई यति पपुलर र स्थापित गराउनुभयो कि यसको श्रेय कसैलाई जान्छ भने पद्मरत्नजीलाई जान्छ । सूर्य चिह्न मेरो र हाम्रो पार्टीको भनेर कसैले प्रचार गर्छ भने त्यो भ्रम मात्र हो । अहिले ओली वा माधव नेपाल–प्रचण्ड दुबैको नजर सूर्य चिह्नमा छ । ०४३ को नजिर हेरेर एमालेले २०४७ सालमा आफ्नो चुनाव चिह्न सूर्य राख्ने निधो गरेको हो ।

० अहिले ओली र माधव–प्रचण्ड दुबै खेमाको नजर सूर्य चिह्नमा छ । यो लफडालाई कसरी लिनुहुन्छ ?

– हिजो–अस्ति हामीले बुझेका कम्युनिष्ट कार्यकर्ता सैद्धान्तिक, बौद्धिक रूपमा खारिएको, अध्ययनशील, जुनसुकै विषयमा कुरा गर्दा वा विश्लेषण गर्दा राजनीतिक सिद्धान्तको बीचमा हुन्थ्यो तर अहिले निर्वाचन आयोगले औपचारिक रूपमा जुन पार्टीलाई वैध भन्छ त्यसैको पछि लाग्ने, सूर्य चिह्न जुन समूहलाई दिन्छ त्यही गुटको पछि लाग्ने भए, योभन्दा कार्यकर्ताको राजनीतिक दिवालियापना अरू केही हुन सक्छ ? यो पार्टी सैद्धान्तिक रूपमा सही छ । यो पार्टी माक्र्सवाद, द्वन्द्वात्मक भौतिकवाद, माओवादको रूपमा सही छ । यो गलत र भडकावमा गयो, यसको पछि लाग्नु हुँदैन भनेर राजनीतिक सिद्धान्तका आधारमा भन्नुपर्नेमा रूखको हाँगा, जरा वा जातलाई हेरेर होइन, जता पात धेरै हुन्छ त्यतै लाग्छु भन्नेहरूको बोलवाला छ । पिपलको मुनि जाने वा वरको बोटमुनि जाने या र विषवृक्षको मुनि जानेभन्दा पनि कुन रूखमा धेरै पात छ त्यतै जाने कुरा भइरहेको छ ।

म नेवार जाति हुँ भनेर सडकमा आउने कुरा त भएन । यहाँका रैथाने अहिले ३५ प्रतिशतमा खुम्चिएका छन् ।

० ०४६ सालको आन्दोलन होस् वा ०६२÷६३ कै किन नहोस् । यही सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकमा पनि काठमाडौंका नेवारहरू उत्रिए । यो पटकको प्रतिगमनविरोधी आन्दोलनलाई काठमाडौंका रैथाने नेवारहरू किन साथ दिएनन् ?

– किन उठेनन् ? म आफैं सडकमा गएको छु । मेरो संगठनका साथीहरू गइरहनुभएको छ । त्यत्रा नेवार साथीहरू सडकमै हुनुहुन्थ्यो । म नेवार जाति हुँ भनेर सडकमा आउने कुरा त भएन ।

० तर प्रतिगमनविरुद्धको आन्दोलनमा काठमाडौंबासीले उदासीनता देखाएको त हो नि !

– काठमाडौंबासी सदैव सक्रिय राजनीतिमै संलग्न छन् । मुख्य प्रश्नचाहिँ परेको समयमा राजनीतिक दलका नेता र दलहरूले काठमाडौंबासीको मूल मुद्दालाई कहिल्यै ध्यान दिएनन् वा यी मुद्दामा सरोकार देखाएनन् भन्ने हो ।

नेतृत्व गरिरहेका बूढाखाडाबाट वाम आन्दोलन अघि बढ्दैन ।

० के हो काठमाडौंबासीको मूल मुद्दा ?

– रैथाने हाम्रो भूमिमा बाहिर जिल्लाबाट आएका आप्रवासी मान्छेहरूको यति धेरै प्रवेश भएको छ । ०२७ सालतिरबाट महेन्द्रले विकेन्द्रीकरण शुरु गरेका हुन् । हिजो बहुसंख्यक मतदाता यहाँका रैथाने थिए भने अहिले ३५ प्रतिशतमा खुम्चिएका छन् । ०७८ को जनगणनामा अझै घट्नेछन् । भूमि रैथानेको हातमा रहेन । अझै यहाँ ४ वटा स्मार्ट सिटी बनाउने, सडक विस्तार गर्ने नाममा रैथानेको जमिन, घर, देवल भत्काउने काम भइरहेको छ । रैथानेको एउटा समस्या भूमि र यसको रक्षा हो । दोस्रो, सम्पदाको संरक्षण । सम्पदाभित्र मन्दिर, गुठी, बाजा, संगीत सबै पर्छ यी सबैमाथि अतिक्रमण भइरहेको छ । तर, राजनीतिक दलको प्रमुख मुद्दाको रूपमा यी परेनन् ।

० वाम आन्दोलन किन छिन्नभिन्न हुन्छ ?

– म निराशावादी छैन । ०१५ सालमा पुष्पलालको चुनाव प्रचारदेखि लागेको मान्छे हुँ । धेरै नेतासँग संगत छ । धेरै वाम गुटहरू हेरेको छु । वाम आन्दोलन परिमार्जित रूपमा आउँछ र अघि बढ्छ । यी नेतृत्व गरिरहेका बूढाखाडाबाट वाम आन्दोलन अघि बढ्दैन । अब नयाँ पुस्ता अघि आउनुपर्छ । पार्टी शुद्धीकरण गर्दै नयाँ शिराबाट लगेमा भविष्य छ ।

० कम्युनिष्टहरू साँस्कृतिक रूपमा विचलित हुँदै जानुको के कारण देख्नुहुन्छ ?

– नेपालमा सबैभन्दा दुःखको कुरा ०२२ सालतिर वामपन्थी आन्दोलनमा लाग्दा, अखिल गठन हुँदा त्यतिबेला चीनमा साँस्कृतिक क्रान्ति भइरहेको थियो भारतको बंगालमा नक्सालवादी आन्दोलन उत्कर्षमा थियो । त्यसैको प्रभावस्वरुप साँस्कृतिक रूपमा हामी यतिधेरै सचेत थियौं कि हिन्दी सिनेमासम्म हेर्न जाँदैनथ्यौं, हिन्दी सिनेमाले साँस्कृतिक रूपमा पंगु बनाउँछ भनेर क्याम्पसमा पढ्ने हामी हिन्दी गीतसम्म सुन्दैनथ्यौं । प्रगतिशील गीतहरू सुन्थ्यौं । साँस्कृतिक रूपमा रूपान्तरण हुनुपर्छ भनेर लागेका थियौं । हामीलाई जसले रूपान्तरण हुनुपर्छ भनेर सिकाए ती अग्रजहरू हेर्दाहेर्दै महलमा बस्न थाले । गाडी चढ्न थाले, बैंक ब्यालेन्स बढ्दै गयो । वर्गीय चरित्र परिवर्तन हुँदै गयो । त्यसैले नेपाली वामपन्थी आन्दोलनको सबैभन्दा ठूलो कमिकमजोरी भनेको हाम्रा पार्टीले पंक्तिमा साँस्कृतिक शुद्धीकरणको काम रत्तिभर पनि गरेनन् । त्यही नै मूल समस्या हो । नेतादेखि कार्यकर्तासम्मले गीत गाए, नाच्ने काम गरे । लेखहरू लेखे । तर व्यवहारमा साँस्कृतिक रुपान्तरण गरेनन् । त्यसैको प्रतिफल राजनीतिक, व्यावहारिक रूपमा कम्युनिष्टहरू विचलित हुँदै गए ।

० जीवनभर पशुपतिनाथ नपुगेका प्रधानमन्त्री ओलीले ५० औं करोड खर्चेर जलहरी राख्नुभयो । यस्ता घटनालाई कसरी हुर्नुहुन्छ ?

– साँस्कृतिक विचलनको एउटा नमुना हो यो । दुई तिहाइ जनताको मत भएको, वामपन्थी, प्रधानमन्त्री दाबी गर्ने ओलीदेखि मदन भण्डारी बित्दा सेतो कपडा नलगाउने, चुरा नफुटाउने, क्रान्तिकारीपना देखाएर हिँड्ने विद्या भण्डारी । अनि धर्म भनेको अफिम हो, यो सामन्तीहरूको जालझेल हो, हामी धर्मका पछि लाग्नुहुँदैन भनेर पढाउने ती नेताहरू अहिले राम, पशुपति महादेवको कुरा गर्ने, जनता भोकभोकै हुने । त्यही देशका नेताले पशुपतिमा करोडौंको जलहरी राख्ने ? यो वामपन्थी नेताहरूमा आएको साँस्कृतिक विचलनको निम्नस्तरीय नमुना हो ।

० कंथ तत्कालै निर्वाचन भएको खण्डमा काठमाडौंमा दुईवटै नेकपाको हालत के देख्नुहुन्छ ?

– तत्कालै चुनाव हुने छाँटै छैन । त्यही कारण अहिले भविष्यवाणी नगरौं । मूल कुरा नेपाली जनताको मन जित्ने हो भने वामपन्थी पार्टीहरूले आफूलाई सुधार्नुपर्छ । चुनाव जितोस् वा हारोस्, ठूलो कुरा होइन । मुख्य कुरा पार्टी जनतामाझ छ वा छैन । पार्टीले जनताको भावना बुझेको छ वा छैन ? अहिले पार्टीका नेता–कार्यकर्ता एकातिर छन्, जनता अर्काेतिर छन् । पार्टी र जनताबीच ठूलो खाडल छ । अबको दायित्व पार्टी र जनतालाई कसरी सँगै लिएर जाने भन्ने हो ।

० जीवनको ऊर्जाशील तीन दशक बढी पत्रकारितामा बिताउनुभयो । कस्तो देख्नुहुन्छ पत्रकारिताको ट्रेन्ड ?

– जीवनको लामो कालखण्ड राससमा काम गरें । त्यहाँको महाप्रबन्धकसम्म बनेँ । आफ्नै इनाप साप्ताहिक पत्रिका पनि चलाइयो । हामीले पत्रकारिता गर्दा धेरैथरी रिस्क थियो । पैसाका लागि पत्रकारिता गरेका थिएनौं । त्यो मिसन पत्रकारिता थियो । सोचिएको थियो बहुदलपछि पत्रकारितामा व्यावसायिकता हुन्छ । तर, व्यावसायिक कम र व्यापारीकरण बढी भयो ।

टिप्पणीहरू