साह्रै पापी छ यो संसार

कोही मान्छेको मन हुन्छ फूलका थुँगाजस्तो सधैँ आँखाको वरिपरि नै राखिरहूँ झैँ लाग्ने । र, कोही जन्मेका हुन्छन् ढुंगाको दिल लिएर बरु बालुवालाई पेलेमा तेल निस्केला तर अहँ छुँदैन यिनीहरूलाई अरूका दुःख र पीडाले ।

औँला भाँचेर ल्याउँदा १९ वर्ष पुगेछ विवाह भएको रामेछाप देवीटारका प्रमोद गिरीसँग । दिदीका छोराछोरी हेर्न बसेकी मलाई प्रमोदको परिवारले गिद्धे नजर लगायो र उठाएर लग्यो । त्यो पनि उसकी दोस्री श्रीमतीकोे रुपमा । देवीटारमा साँढेजस्ता थिए प्रमोदका बुबा ।

तन र मनको कुनै नेटवर्क नमिल्ने स्थानमा कनेक्सन हुन सक्ने अवस्था नै रहँदैन । हो, त्यही कारण भोलिपल्टै भागेर काठमाडौं आइपुगेँ । तर, गिद्धले झैँ सिनोमा आँखा लगाउन पल्केका उनका आफन्त खोज्दै काठमाडौं आइपुगे र फेरि गाउँ पुर्‍याए ।

मेराअगाडि थिएनन् अरू कुनै बाटा आफ्नै कर्मलाई धिक्कार्नु र उनलाई लोग्ने स्विकार्नुबाहेक । उनी खिम्ती जलविद्युत् आयोजनामा काम गर्थे, झण्डै ८ वर्ष त्यहीँ बिताए । रहँदा बस्दा तीन छोरी जन्मिए । त्यहाँबाट हुने कमाइ दुई भाग लगाउनुपथ्र्याे दुई छोराछोरीसहित माइतमै बसिरहेकी जेठी श्रीमती तीन जना छोराछोरीलाई । थोरै कमाइले आफू खाने कि छोराछोरीलाई लाउने !

सन्तानको दुःख कसको जन्मदाताले सहन सक्छ र ? बुवाआमाले त्यतिबेलै ८० हजारमा साढे चार रोपनी जग्गा किनिदिए । आफ्नै पाखुरी खियाएर, ऋण धन गरेर त्यही जग्गामा २ तले घर ठड्याएँ, जिन्दगीमा सबैभन्दा खुशी त्यही दिन भएँ । ओत लाग्ने घर त भयो तर पापी पेटको सवाल छ । आज भन्यो, भोलि भन्यो घर कसरी चलाउने भन्ने पीरले सताइरह्यो । घर सल्लाहमै श्रीमानले विदेश जान्छु भने । मैले लगाइरहेको गहना फुकालेर दिएँ । एजेन्टले एयरपोर्टमा काम हुने र महिनाको ४०–५० हजार आम्दानी हुने सपना देखाएको थियो । तर, त्यो कमाइ हुने ठाउँमा जान पैसा पनि प्रशस्तै चाहियो । मैले गर्न सक्ने भनेको उही फेरि माइती गुहार्ने न हो । बुवाआमालाई भनेर १ लाख ५५ हजार रुपैयाँ दलाललाई बुझाइयो । ६ वर्षअगाडि उनी मलेसिया उडे । तर, सम्झौताअनुसार त्यहाँ काम मिलेन । अन्यत्रै काम गर्नुपर्ने भयो । बेलाबेला फोन गरेर काम गाह्रो छ, कमाइ हुँदैन भन्थे । मलेसिया गएको दुई वर्षमा एक लाखजति पठाए होलान् । विदेश जाँदा खोजेको ऋण पनि तिर्न सकिएन ।

त्यसपछि काम गर्न सकिनँ, गाह्रो भयो जसरी भए पनि ५० हजार खोजेर पठाइदिनू म नेपाल फर्किन्छु भन्न थाले । मैले फेरि माइतीसँगै पैसा मागेर पठाइदिएँ । तर, पैसा पठाएपछि त उहाँ आउनु हो कहाँ फोन सम्पर्कसमेत टुट्यो । मन झनै आत्तियो ।

उही त गाउँ ठाउँ, हल्ला चल्न थाल्यो, तेरो श्रीमान्ले त विदेशमै अर्को बिहे गरेर बसेका छन् भन्ने । एक कान दुईकान मैदान भयो । पत्यार लाग्दैनथ्यो फेरि मन अमिलो पार्दै बेलाबेला फोन गर्थें केटीको आवाज आउँथ्यो । तर, अर्को मनले मान्दैनथ्यो । लौ मेरो त माया लागेन रे तर यी सन्तान त उनकै रगत हुन्, छोराछोरीको त माया गर्नुपर्नेजस्तो लाग्यो । सँगै परदेशिएका देवर नारायणले पनि उतै बिहे गरेपछि देवरानीले पनि यहाँ अर्कैसँग बिहे गरिन् । तर, मैले त्यस्तो गर्न सकिनँ । तीन सन्तानको मुख हेरेर, बुवाआमा र आफ्नै इज्जत सम्झिएँ ।

श्रीमान्सँग सम्पर्क हुन छाडेपछि आम्दानीको बाटो टुट्यो । पुरानो ऋण तिर्ने कुनै उपाय भएन । हात पाखुरी चल्न छाड्यो,नौ नाडी गलेर आउँथ्यो । एक मन त लाग्थ्यो यो सारा संसार त्यागिदिऊँ । तर छोरीहरूलाई हुर्काउने, बढाउने जिम्मेवारी आफ्नै काँधमा थियो । तिनका निर्दाेष अनुहार हेरेर त्यसो गर्न पनि सकिनँ । यस्तैमा देवीटारमा बिजुलीको प्रशारण लाइन तथा सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण हुने भयो । जग्गाको राम्रो भाउ आउने भयो भन्ने हल्ला चल्यो । मेरो पनि साढे चार रोपनी जग्गा र घर अधिग्रहणमा पर्ने भयो ।
एकमन त खुशी भएँ केही नभएको बेला अलिकति पनि राहत हुने भयो भनेर । तर, त्यो पनि भएन । आफ्नै मान्छेहरू निस्कन्छन् बैरी बनेर । जेठाजुले नै मेरो सौतालाई उचालिदिए । त्यो त तेरो हक हो भन्दै मुद्दा हाल्न लगाएछन् । मुद्दा लडिरहनुपरेको थियो । फैसला हुनु ४ दिनअघि मलाई सौता र उनका छोराछोरीलाई मार्न खोजेको आरोप लगाएर जेठाजुले नै पक्राए । त्यसैले फैसलाका बेला म उपस्थित हुन सकिन । म जान नसकेकाले फैसला सौताकै पक्षमा भयो ।

त्यसदिन अदालतमा उपस्थित हुन सकेको भए सायद फैसला मेरो पक्षमा हुन्थ्यो कि ? पुनरावेदन गएँ तर अदालतले पहिलेकै निर्णयलाई सदर गर्‍यो । जनकपुरमा मुद्दा हेरेका मेरा वकिलले दुःख देखेर सर्वोच्चमा मुद्दा दर्ता गराइदिएको छु भन्नुभएको छ । तर मलाई थाहा छैन अब के गर्ने ? काठमाडौंमा कसको शरण पर्ने ? म पैसा दिएर वकिल किन्न सक्दिन, बिना पैसा कसले मेरो मुद्दा हेरिदिन्छ र ? धोका दिएकाका कारण श्रीमान्लाई यो मनले त्यति धेरै त सम्झिँदैन तर श्रीमतीको मन हो जस्तो भए पनि फर्केर आउँछु मात्र भनेदेखि म जसरी भए पनि झिकाउँथें । अरू केही नभए पनि अहिलेको मुद्दा मिल्थ्यो । अनि छोरीहरूले बाउको छत्रछायाँ त पाउँथे । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेर । भर्खरै तीन दशक मात्रै पार भयो । भनिन्छ, सबैलाई आफ्नै घाउ र व्यथा ठूलो लाग्छ तर मेरो भागमा परेको जस्तो दुःख कष्ट र पीडाका पहाड त मेरा शत्रुलाई पनि नपरोस् ।

– इन्द्रासरा गिरी, रामेछाप

टिप्पणीहरू