सुखानी जान कतारदेखि आइपुगे राजदूत

सुखानी जान कतारदेखि आइपुगे राजदूत

झापा विद्रोहताका तत्कालीन पन्चायती सरकारद्वारा हत्या गरिएकाहरुको सम्झनामा हरेक वर्ष फागुन २१ गते मनाइने सुखानी स्मृति दिवस कार्यक्रममा कतारका लागि डेढ बर्षदेखि तैनाथ नेपाली राजदूत नारद वाग्ले भारद्वाज पनि सहभागी हुनुहुने भएको छ । स्मृति दिवसको कार्यक्रममा सहभागी हुन उहाँ नेपाल आइपुग्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २० गते सुखानी जाने तयारी भएको भारद्वाजले बताउनुभयो ।
झापा आन्दोलनका किसान नेता शिव शिवाकोटीको विषयमा लेखिएको स्मारिका लोकार्पण कार्यक्रम त्यहिँ नै हुने कुरा छ,जसको सम्पादन उहाँ आफैले गर्नुभएको थियो ।

झापा विद्रोहका क्रममा पक्राउ परेर वाग्ले प्रधानमन्त्री ओलीसंगै केही समय जेल बस्नुभयो । र,०३३ सालमै नक्खू जेलबाट सुरुङ्ग खनेर निस्की पुनः थुनिनुभयो ।

भारद्वाज झापा विद्रोहका जीवितमध्येका एक हुनुहुन्छ । १५ वर्षको उमेरमै आन्दोलनमा लागेर जेलनेल भोग्नुभएका उहाँलाई झापा विद्रोहको जिउँदो योद्धाका रुपमासमेत चिन्ने गरिन्छ ।

झापा आन्दोलनको इतिहास

नेपाली कम्युनिष्ट आन्दोलन छिन्नभिन्न र रक्षात्मक अवस्थामा पुगेको बेला ‘एक एरिया,एक युनिट,एक स्क्वायड,एक एक्सन’ को अवधारणाअनुसार आधा शताव्दीअघि ‘वर्ग शत्रु खत्तम अभियान’ का रुपमा झापा विद्रोह शुरु भएको हो । उक्त विद्रोहले थुप्रै सामन्तको सफाया गरेको थियो । विद्रोहसँगै सत्ताको दमन, धरपकड,गिरफ्तारीबाट धेरैले जेलनेल र हत्याको नियती भोग्नुपरेको भारद्वाजले बताउनुभयो ।

त्यतिबेला संघर्षको मुख्य नेतृत्वमा नेत्र घिमिरे,रामनाथ दाहालहरु थिए । उनीहरुलाई विभिन्न मिति र स्थानबाट गिरफ्तार गरी जेलमा कोचिएको थियो । भारद्वाजका अनुसार रामनाथ दाहाल र नेत्र घिमिरे २०२९ सालको माघ फागुनतिर पक्राउ परेका थिए भने ०३० सालको साउन २० गते उहाँसहित नरेश खरेल,राधाकृष्ण मैनाली,निलम केसी(सीता खड्का),लीला कट्टेल,हर्कबहादुर खड्का पक्राउ परेका थिए । जसमध्ये चन्द्र डाँगीलाई त्यतिबेलै गोली हानेर हत्या गरिएको उहाँले बताउनुभयो ।

त्यतिबेलाको घटना स्मरण गर्दै उहाँले भन्नुभयो, ‘झापा गरामुनिको नैदराबारी भन्ने ठाउँको दुइटा घरमा करिब एक दर्जनको संख्यामा बसेका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेको थियो । दुइटा घरमा बसेकामध्ये राधाकृष्ण मैनालीहरु एउटा घरमा र डाँगीलगायतका अर्को घरमा थिए । प्रहरीले पहिले डाँगी बसेको घर घेरा हाल्यो । प्रहरीले घर घेराउ गरेपछि डाँगी र हर्क बाहिर निस्किएका बेला उनीहरुमाथि गोली हानिएको थियो । लीला कट्टेल घरको भैंसी फुकाएर हिँडेपछि जोगिएका थिए । अरु तीन जनालाई प्रहरीले ठाउँको ठाउँ पक्राउ गर्यो । राधाकृष्ण,सीता खड्का,नरेश खरेल र म छुट्टै घरमा रहेकाले बालबाल जोगिएका थियौँ’,उहाँले भन्नुभयो ।

पक्राउ परेकालाई पछि जेल सार्ने नाममा हत्या गरिएको पनि उहाँले बताउनुभयो । झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानामा झापा र इलामको सिमानामा रहेको सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । त्यसपछि सोही घटना नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा ‘सुखानी हत्याकाण्ड’ को नामले परिचित छ । झापा आन्दोलनको क्रममा त्यतिबेला समातिएका र जेल पर्नेको संख्या करिब डेढ–दुई सयको हाराहारीमा रहेको भारद्वाजको भनाइ छ । उहाँका अनुसार आन्दोलनमा लागेका चारदेखि पाँच सय जना त्यहाँबाट विस्थापित भएका थिए ।

पटक–पटक राज्य सत्ताको माथिल्लो तहमा पुगेका सीपी मैनाली,राधाकृष्ण मैनाली,झलनाथ खनाल,केपी ओलीलगायतका नेताहरु झापा बिद्रोहकै उपज हुन् ।

झापा विद्रोहीमध्ये एकथरी शासक,अर्काथरी गुमनाम

नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठित र संस्थागत रुपले अगाडि बढाउन झापा विद्रोहलाई आधारका रुपमा लिने गरिन्छ । त्यतिमात्र होइन,छिन्नभिन्न र केन्द्रविहीन भएको कम्युनिष्ट आन्दोलनलाई सुसंगठित रुपले विकास गर्न पनि झापा विद्रोहकै देन मानिन्छ । को–अर्डिनेशन केन्द्र,नेकपा माले,एमाले हुँदै अहिलेको नेकपाको जग पनि झापा विद्रोह नै हो । यद्यपि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले विकास गर्न माओवादी जनयुद्धको योगदान पनि कम मानिँदैन ।

कम्युनिष्ट आन्दोलनमा एउटा दुःखद घटनाका रुपमा लिइने सुखानी हत्याकाण्ड पनि झापा विद्रोहसँगै जोडिएको घटना हो । झापा विद्रोहका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा रामनाथ दाहाल,नेत्र घिमिरे,वीरेन राजवंशी,नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानीमा गोली हानी हत्या गरिएको थियो । उक्त घटनालाई आज पनि नेपालका कम्युनिष्टहरुले सम्मानका साथ स्मरण गर्छन् । नेकपा एमाले (हालको नेकपा) ले हरेक वर्षको फागुन २१ लाई सुखानी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । माओवादीलगायतका अन्य साना वामपन्थी पार्टीहरुले पनि सुखानी स्मृति दिवस मनाउने गरेका छन् ।

‘झापा विद्रोहका कैयौं नेताहरु आजपनि जीवित छन् । तर, विडम्बना आन्दोलनमा लागेका धेरैको अवस्था दयनीय छ । यस्तो गर्विलो इतिहास बोकेको झापा आन्दोलनबाट उदाएको पार्टी पटक–पटक सत्तामा पुग्यो । त्यहि आन्दोलनले स्थापित गरेका कयौँ नेताहरु विभिन्न पटक सत्ताको माथिल्लो तहमा पुगे । तथापि आन्दोलनका योद्धाहरु भने आज पनि समाजमा सम्मानका साथ बाँच्न पाएका छैनन्’, भारद्वाजले भन्नुभयो ।

उहाँका अनुसार आन्दोलनमा लागेका ५०/६० जना अझै जीवित छन् । आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका,जेल नेल भोगेकाहरु अहिले दयनीय अवस्थामा पुगेको उहाँको भनाई छ । ‘त्यहि आन्दोलनले स्थापित गरेकाहरु राज्य सत्ता सञ्चालन गर्ने ठाउँमा पुगे । तर हिजो दुःख गरेका, जेलनेल भोगेका, विस्थापित भएकाहरुको अवस्था भने आज पनि उस्तै छ,’ उहाँले अगाडि भन्नुभयो ।

आन्दोलनमा अग्रणी भूमिका खेलेका नेताहरु अहिले समाजमा सम्मानजनक ढंगले बाँच्नसमेत नपाउने स्थितिमा रहेको उहाँको भनाई छ । ‘आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेका दुर्गा अधिकारी (सानो),दुर्गा अधिकारी (ठूलो), दधिराम उप्रेती,बुलुन राजवंशी जस्ता हस्तीलाई अहिलेको सरकारले चिन्दैन । उनीहरु गुमनाम छन्’, उहाँ भन्नुहुन्छ, ‘उनीहरुको अवस्था नाजुक छ । त्यहि आन्दोलनबाट स्थापित भएको पार्टी र त्यसका नेता भने यो देशका शासक छन् । यसअघि पनि पटक–पटक सत्तामा पुगेका थिए । झण्डै ४० वर्ष भयो पार्टी सत्तामा गएको तर, कुनै ठोस नीति बनाएर उनीहरुको उद्धार गर्न सकेन ।’

पञ्चायती शासकहरुले बरु आफ्ना विरोधीहरुलाई पुनर्स्थापना गरेको उहाँले स्मरण गर्नुभयो । ‘पञ्चायतले झापामा बस्न दियो । चार–चार बिघा जग्गा दिएर पुनर्स्थापना गर्यो,काङ्ग्रेसले पनि त्यसै गर्यो’ भारद्वाजले भन्नुभयो, ‘कम्तिमा ती राजनीतिक स्वाभिमानका साथ बाँच्न सक्ने भए । समाजले उच्च नजरले हेर्न सक्ने बनाइदियो । तर हामीले त्यति पनि गर्न सकेनौं ।’

टिप्पणीहरू