के निर्वाचन आयोगले त्यसो गर्ला ?

के निर्वाचन आयोगले त्यसो गर्ला ?

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्बन्धमा गर्ने फैसला रिट निवेदक ऋषि कट्टेलको पक्षमा गयो भने हाल संसदमा ६४ प्रतिशत सिट ल्याएको पार्टी केही दिनको लागि बेनामी हुनेछ । त्यसपछि निर्वाचन आयोगले स्वतः दुवै पक्षलाई बोलाएर तपाईंहरूको पार्टीको नाम के राख्ने भनेर सोध्नुपर्ने अवस्था आउने अनुमान गर्न थालिएको छ ।

त्यसो भयो भने के गर्नुहुन्छ भन्ने जिज्ञासामा नेकपा (बहुमत) का नेता राजेन्द्रप्रसाद पाण्डे भन्नुहुन्छ ‘सम्भवतः त्यस्तो अवस्था नआउला । कथमकदाचित आइहालेमा हामी एउटा राख्छौं, सम्भवतः केपीले अर्को राख्नुहोला । केही फरक पर्ला जस्तो लाग्दैन ।’

प्रधानमन्त्री ओली समूहले पनि अदालतले नेकपाको आधिकारिकता वामपन्थी नेता ऋषि कट्टेललाई दिएमा केही फरक नपर्ने बताएको छ । उनीहरूका अनुसार नामै मात्रले केही हुँदैन,मुख्य कुरो चुनाव चिन्ह हो । तर,त्यस्तो अवस्थामा पनि सूर्य चिन्ह भने बहुमत केन्द्रीय सदस्य भएको नाताले प्रचण्ड–माधव समूहले पाउने पक्का देखिन्छ । यसमा आयोगका एकजना आयुक्तले पनि मुण्टो हल्लाएका छन् ।

नाम नबताउने शर्तमा ती आयुक्त भन्छन् ‘अब पार्टी नै नयाँ हुने भएपछि चुनाव चिन्ह केन्द्रीय समितिका ४ सय ४१ जनामध्ये जता बढी देखिन्छ त्यतै दिनुपर्ने हुन्छ ।’

टिप्पणीहरू