पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?

पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही महिनादेखि तरकारी बजार,चिया पसल,टेम्पो चालक र मन्दिरमा दक्षिणाको लागि क्युआर कोड प्रचलनको आह्वान गर्दै ‘क्यासलेस सोसाइटीको शुभारम्भ’ गरेका छन् । तर, अधिकांश शिक्षित भनिएका,देश विदेश सयर गरेर अनुभवप्राप्त गरेका उनै गभर्नरका उच्चअधिकारी र कर्मचारीले दिनहुँ नगदमा बाहेक कारोबार नगरेको देखिएपछि बैंकरहरूले नै राष्ट्र बैंकको क्यासलेस अभियानप्रति अचम्म मानेका छन् ।

सबैभन्दा रोचकचाँहि गभर्नरको अध्यक्षतामा सातामा कम्तिमा एक पटक बस्ने सञ्चालक समिति र व्यवस्थापन समिति तथा सञ्चालकहरूको संयोजकत्वमा बस्ने उपसमिति बैठकको भत्ता हातहातै नगदमा बुझ्ने गरिन्छ । तर, अशिक्षित र न्यून आय भएका तरकारी पसले,चिया पसले र टेम्पो चालकलाई मात्र ‘क्यासलेस’ को पाठ सिकाउनु उल्टो र अव्यवहारिक रहेको बताउन थालिएको छ ।

उदाहरणको लागि नगद तिरेर राजधानी बाहिरका जिल्लाबाट ल्याइएको तरकारी किन्न थोक बजारमा जाने खुद्रा व्यापारीले आफूले क्यासलेसमा गरेको कारोबारबाट भनेजति नगद बोकेर लैजान सक्दैनन् । थोक बजारमा नगद बोकेर जान नसक्ने भएपछि साना तरकारी बजारमा राखिएको क्युआर कोडको उपादेयता र औचित्य नै संकटमा पर्नसक्ने देखिएको हो ।

बैंकका पूर्व गभर्नरदेखि सेवा निवृत्त कार्यालय सहयोगीसम्मलाई अवकाश भएको १० वर्ष नपुगेसम्म प्रदान गर्ने दशैं खर्च, बिमा वा अन्य रकम समेत केन्द्रीय बैंकले आफ्नै कार्यालयको काउण्टरबाट अनिवार्य नगदमा भुक्तानी गर्दै आएको छ । आन्तरिक तथा वाह्य काजमा जाने कर्मचारीलाई बैंकले पेअर्डर अर्थात भुक्तानी आदेश (चेक) बाट रकम दिने गरेको छ । जुन पछि सम्बन्धित बैंकमा गएर साट्नुपर्ने हुन्छ ।

बैंकको केन्द्रीय कार्यालयका विभागीय प्रमुख,गभर्नर तथा डेपुटी गभर्नरको कार्यालयमा एक एकवटा चिया, खाजा पकाउने सानो किचेन बनाइएको छ । गभर्नरले अन्धाधुन्द क्युआर कोडको प्रचार गरिरहँदा बैंकका ती किचेनमा पाक्ने सबै परिकारका सामाग्री बजारबाट नगदमा खरिद गरेर ल्याउने गरिएको छ । बैंकका अधिकांश कर्मचारीले घर तथा कोठामा प्रयोग गर्ने तरकारी पनि नगदमै किन्ने गरेको पाइएको छ । राष्ट्र बैंकका ११ सय कर्मचारीमध्ये मुश्किलले ५० जनाले क्युआर कोडबाट तरकारी किन्ने गरेको स्रोतको दाबी छ ।

बैंकका कर्मचारीको तलब तथा भत्ता माछापुच्छ्रे तथा इन्भेष्टमेण्ट बैंकमा रहेको व्यक्तिगत खातामा पठाउने व्यवस्था छ । तर, ती बैंकले दिएको जानकारीअनुसार स्वयम् केन्द्रीय बैंकका अधिकांश कर्मचारीले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको समेत पूर्ण प्रयोग गरेको देखिँदैन । पछिल्ला दिनमा नियमनकारी निकायका कर्मचारीले एटीएम मेशिनबाट रकम झिक्ने प्रवृत्तिमात्रै बढेको छ ।

यी सबै परिस्थिति, व्यवहार र यथार्थले राष्ट्र बैंकमा हिजोआज क्युआर कोडको पूर्ण रुप ‘क्वेशनेबल राष्ट्र बैंक’ भएको छ । भनाई र गराईमा फरक देखिएपछि र अरुले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले नै राष्ट्र बैंकलाई नै प्रश्न गर्न थालेपछि क्युआरको परिभाषा फेरिएको हो ।

नेपालमा क्यूआर कोड विस्तार हुन थाले पनि मुलुकको केन्द्रीय बैंक भने अझै अलमलको अवस्थामा छ । उसले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा क्यूआर कोडको मापदण्ड तोक्ने बताएको थियो । त्यसको निम्ति आवश्यक पूर्वाधार र कानुनी व्यवस्थाको तर्जुमा गर्नुपर्नेमा मुलुकको केन्द्रीय बैंक र भुक्तानी प्रणालीको नियमनकारी निकाय लहलहै र सतही चर्चा बटुल्नमै सीमित भएको आरोप लाग्दै आएको छ ।

मुलुकको केन्द्रीय बैंकका गभर्नरले तरकारी बजार र चिया पलसमा क्यूआर कोडबाट भुक्तानी गरेका समाचारहरू पढ्दा र हेर्दा जति राम्रा र आकर्षक लाग्छन् त्योभन्दा निकै कमजोर यसका पूर्वाधार देखिन्छन् ।

टिप्पणीहरू