गृहमन्त्रीको उत्तेजना र प्रधानमन्त्रीको रुवाबासी

गृहमन्त्रीको उत्तेजना र प्रधानमन्त्रीको रुवाबासी

प्रधानमन्त्री केपी ओलीको खास मान्छे नभए पनि अहिले उहाँकै पार्टीका नेता मुलुकको गृहमन्त्री हुनुहुन्छ । यहिबेला प्रधानमन्त्री ओलीमाथि भने सुरक्षा खतरा बढेको छ । ओलीको आलोचना गर्नेलाई चिडियाखानामा लगेर थुन्नेसम्मको चेतावनी दिने गृहमन्त्री भएको देशमा प्रधानमन्त्रीमाथि सुरक्षा खतरा बढ्यो भन्दा कसले पत्याउने ? प्रधानमन्त्रीले नै ममाथि सुरक्षा खतरा बढ्यो भनिसकेपछि नपत्याएर पनि के गर्नु !

उदेकलाग्दो कुरा चैं, १० वर्षे जनयुद्धको नेतृत्व गरेर आउनुभएका, दुई-दुई पटक देशको प्रधानमन्त्री भैसक्नुभएका र मुलुकको शक्तिशाली पार्टीका अध्यक्षलाई चिडियाखानामा लगेर थुन्ने खुला चुनौति दिने हिम्मतवाला गृहमन्त्री भएकै बेला प्रधानमन्त्रीमाथि कसरी सुरक्षा थ्रेट बढेको होला ? सरकारमा रहेर जनआन्दोलन घोषणा गर्ने हिम्मतवाला गृहमन्त्री रहेकै बेला प्रधानमन्त्रीको ज्यानलाई तलमाथि भयो भने त्यसको जिम्मा कसले लेला ?

गृहमन्त्री कति हिम्मतवाला भने, गृहमन्त्रालयबाट थुतेर राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानिँदा पनि उहाँलाई मतलब हुँदैन । आफ्नै मन्त्रालय अन्तर्गतका प्रहरी कर्मचारीहरुको सरुवा हुँदा पनि उहाँले चार दिनपछि मात्र थाहा पाउनुहुन्छ । जनिर्वाचित संस्था विघटनको निर्णय उहाँलाई क्रान्तिकारी कदम लाग्छ । अनि ओली सरकारको आलोचना गर्नेहरु उहाँका नजरमा फुटवादी ठहरिन्छन् । यस्तो काविल गृहमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीमाथि शारीरिक आक्रमणको कुरा सम्भव नै छैन ।

सोमबार पोखरा पुगेर प्रधानमन्त्रीले आफूमाथि भौतिक आक्रमणको खतरा बढेको बताएपछि गृह प्रशासन सम्हालेर बस्नुभएका गृहमन्त्री थापामाथि प्रश्न तेर्सिएको छ । आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले जनताको सुरक्षा चैं कसरी गर्नुहोला कुन्नि ?

टिप्पणीहरू