पशुपतिमा पारिको पल्टन

पशुपतिमा पारिको पल्टन

त्यसो त ‘जोगीको जात’ र ‘भगवानको देश’ हुँदैन भन्छन् । तर, हाम्रो देशमा भगवानका नाममा अचम्मैसँग पैसाको खोलोमात्र बगाइएको छैन, यहीँ अनगिन्ती पुरोहित, पण्डित हुँदाहुँदै पशुपतिमा लगाइने विशेष पूजाका निम्ति दक्षिण भारतदेखिका पण्डितहरु झिकाइएका छन् । र, तिनका लागि ‘दातामार्फत’ भन्दै अपारदर्शी ढंगले करोडौँ रकम खर्च गरिँदैछ ।

झण्डै एक अर्ब रुपैयाँ खर्चेर पशुपतिको शिवलिंगबाट चाँदीको पुरानो जलहरी टालटुल गर्ने र त्यसको माथि सुनको जलहरी जडान कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । धार्मिक मान्यताअनुसार, यसरी भगवानको पाऊमा मान्छेको पाऊ पर्दा ‘पाप’ लाग्छ । त्यसैले जलहरी जडान क्रममा शिवलिंगमा मान्छेको पाइला परेर भगवान रिसाउलान् भनी क्षमा पूजा गर्न दक्षिण भारतको कर्नाटक र केरलाबाट ३३ जना पण्डितसहित तिनका भान्से र सहयोगी गरेर जम्मा ४२ जनाको लर्को लागेको हो । शिवलिंगको तल परापूर्वकालमा ढुंगाको जलहरी बिच्छ्याइएको थियो ।

राजा–रजौटाहरुले त्यहाँ चाँदीको जलहरी बिच्छ्याए । अहिले राजा–महाराजालाई पनि माथ गर्दै प्रधानमन्त्रीकै निगाहमा राज्यकोषबाट करोडौँको खर्चमा सुनको जलहरी बिच्छ्याइँदै छ । यसरी सुनको जलहरी बिच्छ्याइनुलाई उपयुक्त मान्नेहरु भन्छन्, ‘गजुर नै सुनको भएपछि जलहरी पनि सुनकै राख्नु ठीकै हो ।’ उनीहरुको तर्क छ, भगवान शिवका सबभन्दा मिल्ने साथी हुन्, कुवेर । उनी सम्पत्तिका भगवान मानिन्छन् । र, शिवको आसनमा कुवेरको प्रतीक मानिने सुन बिच्छ्याएपछि भगवान शिवले आफ्नो सबभन्दा मिल्ने साथीको सामीप्यता पाउँदै छन् । तर, पशुपतिनाथका नाममा गरिएको खर्चलाई फजुल भन्दै विरोध गरिरहेका अभियन्ताहरुको भनाइ छ, ‘भोकभोकै मर्ने जनता भएको देशमा ढुंगाको भगवानका नाममा सरकारी कोषबाट करोडौँ खर्च गर्न पाइँदैन ।

अहिले क्षमा पूजा गर्न आएका दक्षिण भारतीय पण्डाहरु मूलभट्ट आफैँले बोलाएर आएका हुन्, ऋग्वेदअन्तर्गत चारै वेद वाचन गर्नलाई । त्यसबाहेक शिव पुराण लगाउनका लागि पशुपतिकै पुरोहितहरु खटिएका छन् । गौशालास्थित राम मन्दिरबाट पनि पुरोहित झिकाइएको छ । नेपाली र भारतीय गरी जम्मा १ सय २१ जना यो काममा छन् ।

भारतीय पण्डितलाई तिलगंगास्थित नेपाल–भारत मैत्री धर्मशालामा राखिएको छ । उताबाट आएका पण्डितहरु स्वयंपक्के बाहुन हुन् । उनीहरु अरुले पकाएको, छोएको खाँदैनन् । लसुन, प्याजको गन्ध पनि हुन नहुने खाना तयार पार्नका लागि आ–आफ्ना भान्से र भक्तिनीहरु ल्याएका छन् । विहान ९ बजेदेखि रुद्री, होम र विभिन्न जप गर्दै दिनभरजसो पशुपतिनाथभित्रै रहन्छन् । उनीहरुलाई खाने, आउने र जाने बाटो खर्च मूलभट्टमार्फत विभिन्न दाताले दिन्छन् । तर, ती दाता को हुन् ? कति पैसा दिएका छन् ? सबै पैसा पण्डाहरुले पाउँछन् कि पाउँदैनन् ? यस्ता प्रश्नहरु मूलभट्टसँग सोध्न नपाइने प्रचलन छ ।

टिप्पणीहरू