किशोरीहरु अपहरणका खास कारण

– राजेन्द्र स्थापित

१६ वर्षकी नाडिया पोल्यानास्का पोजनानस्थित स्कुलमा पढ्थिन् । १६ वर्षकी थिइन् । पोजनान मध्यपोल्याण्डको नगर । वार्ता नदी किनारमा अवस्थित । पोल्याण्ड त्यसबेला जर्मनीको नियन्त्रणमा गइसकेको । त्यो दिन सधैंजस्तै नाडिया स्कुलमै थिइन् । अपराह्न स्कूलबाहिर सैन्य ट्रक रोकियो । जर्मन सैनिकहरुको एक डफ्फा स्कूल हाताभित्र प्रवेश गर्‍यो । छात्रछात्रालाई कक्षाबाट बाहिर निस्केर कम्पाउण्डमा उभिन आदेश दियो । छात्र र छात्रालाई छुट्याइयो । जर्मन सेनामा महिला अधिकृतहरु थिए । उनीहरुले छात्राहरुलाई एकएक गरी नियाल्न थाले । उमेरको दाँजोमा अलि बढी शारीरिक विकास भएका छात्राहरुलाई छनोट गर्दै एकतिर उभिन लगाए । छनौटमा परेका २६ जना छात्रालाई ट्रकमा बस्न आदेश दिए । त्यो ट्रक सिधै लुब्लिनस्थित प्रसूतिगृहमा प्रवेश गर्‍यो ।

नाजी नेता एडोल्फ हिटलरलाई एउटा भ्रम थियो । आर्य नश्लका मानिस सर्वश्रेष्ठ हुन्छन्, बहादुर हुन्छन् भन्ने । उनी संसारभरि नै आर्यहरु मात्र होउन् भन्ने चाहन्थे । यो प्रसूति गृह, जसलाई जर्मन भाषामा ‘लेबेन्सबर्न’ (जीवनको मूल्य÷जीवनको स्रोत) भनिन्थ्यो, यथार्थमा शुद्ध आर्य नश्लको बच्चा जन्माउने कारखाना थियो । त्यहाँ जर्मन सेना, जो सबै आर्य हुन् भन्ने विश्वास थियो हिटलरलाई, उनीहरुबाट त्यहाँ ल्याइएका कुमारी युवतीहरुलाई गर्भाधान गर्न लगाइन्थ्यो र गर्भवती बनेपछि उनीहरुको स्वास्थ्य, खानपानमा खुब ख्याल राखिन्थ्यो ताकि जन्मिने बच्चा अत्यन्त स्वस्थ र हृष्टपुष्ट होस् । गर्भवती युवतीहरुले पोषणयुक्त सन्तुलित भोजन पाउँथे । हप्तैपिच्छे स्वास्थ्य परीक्षण । त्यहाँ जन्माइएका बच्चा स्वस्थ छन् भने उनीहरुको हेरचाह र लालनपालन विशेष ढंगले गरिन्थ्यो, बच्चा सबलांग छैन भने उत्नीखेरै मारिन्थ्यो । बच्चाको लालनपालन र हुर्काउने सम्पूर्ण जिम्मा सेनाको हुन्थ्यो । आमालाई आफ्नो बच्चा हेर्नसम्म दिइन्नथ्यो । दोस्रो विश्वयुद्धताका यस्ता आर्य बच्चा जन्माउने जर्मनीको कारखानामा दशौं हजार युवतीले पीडा भोगे । तीमध्ये नाडिया पनि थिइन् ।

हिटलर यहुदीहरुलाई परमशत्रु मान्दथे । प्रथम विश्वयुद्धमा जर्मनीले पराजय भोग्नुपर्नाको कारण यहुदीहरु हुन् भन्थे । राजतन्त्रको विखण्डन तथा जर्मनी विध्वंसको कारक मान्थे । प्रथम विश्वयुद्धपश्चात् जर्मनीमा साम्यवादी विचारको अत्यधिक प्रचारप्रसार भयो । जनता राजनीतिक सिद्धान्तको आधारमा विभाजित बनेका कारण राष्ट्र कमजोर बन्यो, अधिकांश यहुदी साम्यवादी विचारतर्फ ढल्केको हिटलरले सहन सकेका थिएनन् । हिटलर जब बेरोजगार थिए र सडकमै सुत्थे, त्यो बेला उनले सबै धनी मानिस यहुदीहरु नै हुने गरेको देखे, यहुदीहरु अन्य जर्मनहरुभन्दा अगाडि रहेको देखे । त्यसैले उनीहरुप्रति घृणा जाग्यो । उनी युवाकालमा वेश्यालय पनि धाउँथे । एउटी यहुदीसँगको शारीरिक सम्बन्धपछि यौनरोग लाग्यो । सन् १९०७ मा उनकी आमा क्लारा पोल्जी सख्त बिरामी भइन् । त्यसबेला हिटलर मात्र १८ वर्षका थिए । उपचार एकजना यहुदी डाक्टरले गरे तर उपचार सफल हुन सकेन र क्लाराको निधन ४७ वर्षकै उमेरमा भयो । आफूलाई यौनरोग सारेकी वेश्या र आमालाई बचाउन नसकेका चिकित्सककै कारण पनि यहुदी जातिलाई घृणा गर्न थाले ।

सन् १९२१ देखि १९२३ सम्म जर्मनी आर्थिक समस्यामा फस्यो । सबैभन्दा बढी गरिबहरु मारमा परे । व्यापार–व्यवसाय सबै यहुदीहरुको कब्जामा थियो, सबैजसो धनी थिए । अतः समस्या उनीहरुले भोग्नु परेन । उनले कतै पढेका थिए कि जर्मनीको बर्बादी र जर्मनहरुको दुःखको कारण नै यहुदीहरु हुन् । उनीहरु अविश्वासी हुन्छन् । त्यसैले जब सत्ता सम्हाले, उनले ठाने कि यहुदीलाई जर्मनीमा बस्न दिनुहुन्न । जर्मनीमा बस्नलायक र जर्मन भन्ने अधिकार गोरा जाति र नार्डिक (पश्चिम र उत्तरपश्चिम युरोपको जाति÷नश्ल) लाई मात्र हुन्छ । हिटलर आर्यमा पनि नार्डिकहरु शुद्ध आर्य हुन् भन्ठान्थे । त्यसैले उनी यहुदीहरुलाई सखाप पार्न र आर्यहरुलाई बढावा दिनतर्फ अग्रसर भए ।

सन् १९३५ को डिसेम्बर १२ मा आफ्नो लक्ष्यअनुरुप म्युनिख शहरमा पहिलो ‘लेबेन्सबर्न’ स्थापना गरे र सञ्चालनको सम्पूर्ण जिम्मा जर्मन सैन्य महादल (एसएड) का कमाण्डर हेन्रिख हिमलरलाई दिए । हिटलर जर्मनीका फ्युहरर (शासक) थिए भने हिमलर ‘राइखफ्युहरर’ । नाजी पार्टीका एक अगुवा नेता । जर्मन महिला सैनिक जर्मनीले कब्जा जमाएको मुुलुकका गाउँ–शहर घुम्थे । गर्भवती महिला र हृष्टपुष्ट युवतीलाई छान्थे । टोलीमा चिकित्सक पनि हुन्थे । उनीहरुको काम नियन्त्रणमा लिइएका ती महिलाले राम्रो नश्लको बच्चा जन्माउन सक्छन् कि सक्दैनन् जाँच्ने हो । परीक्षण गर्न म्युनिखस्थित प्रसूतिगृहमा लान्थे । हिटलरको योजना असल आर्य नश्लको सन्तान जन्माउन दिने अभियानअन्तर्गत पहिलो प्राथमिकता सैन्य अधिकृतकै पत्नीहरु परेका थिए । विभिन्न मुलुकबाट जबर्जस्ती पक्राउ गरेर ल्याइएका विवाहित÷अविवाहित महिलालाई जर्मन सेनासँग सुत्न लगाई गर्भाधान गराइन्थ्यो । नमान्नेलाई कुटपिट गरिन्थ्यो । यातना दिइन्थ्यो । अन्त्यमा केही सीप नलागे बलात्कार गरेर भए पनि गर्भवती बनाइन्थ्यो ।

म्युनिख शहरपछि जर्मनी बाहिर सर्वप्रथम नाजी सरकारले सन् १९४१ मा नर्वेमा त्यस किसिमको प्रसूतिगृह स्थापना ग¥यो । यहुदीहरुलाई धपाएर जबर्जस्ती कब्जामा लिइएको घरमै महिलालाई राख्ने व्यवस्था मिलाइएको थियो । जर्मनी नर्वेका जनतालाई सक्कली नार्डिक जाति मान्थ्यो । त्यसैले सेनाले त्यहाँका युवतीहरुलाई उठाउन थाल्यो । नर्वेपछि पोल्याण्डमा ठुल्ठूला यस्ता प्रसूतिगृहहरु खोलिए । शुद्ध आर्य बच्चा जन्माउने अभियानअन्तर्गत सन् १९४४ को अन्त्यसम्ममा जर्मनीले सम्पूर्ण जर्मनीभरिमा १० वटा, अष्ट्रियामा ३, पोल्याण्डमा ८, नर्वेमा ९, डेनमार्कमा २ र फ्रान्स, नेदरल्याण्ड, बेल्जियम र लक्जेम्बर्गमा १÷१ वटा प्रसूतिगृह स्थापना गर्न भ्यायो । युद्ध अवधिभरमा ती प्रसूतिगृहहरुबाट कूल ८ हजार बच्चा जन्मिए । नर्वेमा मात्र १ हजार २ सय जना जन्मिए ।

शुद्ध आर्यको जमात बढाउने नाममा जर्मनीले सन् १९३९ देखि नै केटाकेटीहरुको अपहरण कार्य थाल्यो । हामी शुद्ध रगत भएकाहरुको खोजीमा छौं भन्दै पोल्याण्ड, युगोस्लाभिया, रसिया, युक्रेन, चेकोस्लोभाकिया, रोमानिया, इस्टोनिया, लात्भिया र नर्वेबाट ८ देखि १० वर्ष उमेरका केटाकेटी अपहरण गर्न थालियो । यो अभियानअन्तर्गत पोल्याण्डका मात्र २ लाख केटाकेटी अपहरणमा परे । २० हजार रुसबाट, १० हजार पश्चिम र दक्षिणपूर्वी युरोपबाट । स्कूलबाहेक घरघरबाट समेत अपहरण भयो । आफ्ना छोराछोरीलाई जर्मन सेनासमक्ष सजिलै सुम्पन आनाकानी गर्ने आमाबाबुहरु कुटिए, मारिए ।

अपहरि केटाकेटीलाई ३ श्रेणीमा विभाजित गरिन्थ्यो । जर्मन केटाकेटी, जर्मनीको नागरिक बनाउन स्वीकार्य केटाकेटी र अनावश्यक केटाकेटी । अनावश्यक श्रेणीमा परेका केटाकेटीलाई सिधै श्रम शिविर र यातना गृहमा लगिन्थ्यो । केही समयपश्चात् उनीहरुको सामूहिक हत्या गरिन्थ्यो । यसक्रममा हजारौं केटाकेटीलाई फिनेलको सुई दिएर मारियो । लामो सुईयुक्त सिरिन्जले दिइने उक्त इन्जेक्सन सिधै केटाकेटीको छातीमा लगाइन्थ्यो । यो सुई लगाएको मिनेटभरमै केटाकेटी छटपटिएर मर्थे । सुई लगाएको लगत्तै केटाकेटी असह्य पीडाले मम्मी, मम्मी भनेर चिच्याएको आवाज बाहिरसम्म सुनिन्थ्यो । माथिल्लो दुई श्रेणीमा परेका केटाकेटीलाई बोर्डिङ स्कूल पठाइन्थ्यो । राम्रो हेरचाह गरिन्थ्यो । दिनमा एकपटक बाहिर घुमाउन लगिन्थ्यो । दिनमा दुईपटक नुहाउन दिइन्थ्यो । उनीहरु बाहिरका मानिसको सम्पर्कमा आएमा सर्वप्रथम औषधि छर्केर भाइरस निर्मुलीकरण गरिन्थ्यो ।

जर्मन सेनाले ८–१० वर्ष उमेरका केटाकेटीको अपहरण गर्नुको कारण, ती अपहरित सबै केटाकेटीलाई जर्मन बनाउन हो । स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुने सबैको जर्मन नाउँ राखिन्थ्यो । उनीहरुका बाबुआमा र पुर्खाको सम्पूर्ण रेकर्ड नष्ट गरिन्थ्यो । ‘म जर्मन हुनुमा गर्व गर्छुुु’ भन्ने पाठ कण्ठ पार्न लगाइन्थ्यो । यसरी परिचय बदलिएका हजारौं केटाकेटी दोस्रो विश्वयुद्धको अन्त्यपछि आफू कुन देशका हुन्, आमाबाबु को हुन् भन्ने जानकारीबाट अनभिज्ञ रहे । यस्ता नक्कली जर्मनहरुलाई देश विभाजित भएपछि अमेरिका नियन्त्रित जर्मनीको इलाकामा राख्ने व्यवस्था मिलाइएको थियो । केटाकेटी छँदा आफ्नो परिचय बदल्न नमानेका हजारौं केटाकेटीले अमानवीय यातना पाए, मारिए ।

जर्मनीले दोस्रो विश्वयुद्धताका विश्वमै यहुदीलाई मास्ने र आर्य नश्ल बसाल्ने अभियानअन्तर्गत करिब ३ करोडको ज्यान लियो । जसमा ६० लाख त यहुदी मात्र थिए । हिटलर यहुदीहरुका शत्रु त थिए नै, जिप्सी र समलिंगीहरुलाई देखिसहँदैनथे । उनको शासनमा २ लाख ५८ हजार जिप्सी, २ लाख २० हजार समलिंगी र १ लाख ७३ हजार विकलांगहरु पनि मारिए । उनको शासनकालमा २ लाख ८८ हजार त जर्मनहरु नै मारिए । २४ लाख पोल्याण्डवासी, ३० लाख युक्रेनी, १७ लाख रुसी र १४ लाख बेलारुसी मारिए । यिनीहरु सबै गैरयहुदी थिए । नाजीहरुले ग्यास चेम्बरमा मात्र २७ लाखको हत्या गरे । यसरी सामुहिक नरसंहार गरिएका अधिकांश यहुदी थिए । ग्यास चेम्बरमा हुलका हुल मानिस खाँदेर हाइड्रोजन साइनाइड, कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइडजस्तो ग्यास छोडिन्थ्यो । हिटलरकै कारण भएको दोस्रो युद्धमा ६ वर्षको दौरान ७ करोड ३० लाखले ज्यान गुमाए । हिटलर इरानीहरुलाई शुद्ध आर्य मान्थे, त्यसैले इरान जर्मनीको कोपभाजन बन्नबाट बच्यो । त्यतिमात्र होइन, अमेरिकी राष्ट्रपति रुजबेल्ट, ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिल र रुसी नेता जोसेफ स्टालिनलाई एक चिहान बनाउने जर्मनीको असफल योजनालाई इरानले सहयोगसमेत गर्‍यो ।

टिप्पणीहरू