मनशान्तिको लागि यस्तो छ बालुवाटारको गणित

मनशान्तिको लागि यस्तो छ बालुवाटारको गणित

अचेल मान्छेलाई दायाँबायाँ लाग्न नदिन ओली खेमाले देशभर चलाएको प्रचारयुध्द यस्तो छ– सर्वोच्च अदालतले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना गर्दैन । उता निर्वाचन आयोगले पनि सूर्य चिन्ह कसैलाई नदिएर रोक्का (फ्रिज) राख्ने निर्णय गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्ध्या तिवारीहरु मार्फत् पूरानो एमाले पार्टी दर्ता गराइ सक्नुभएको छ । उदाएको सूर्य फ्रिज भएपछि उदाउँदो सूर्य नै चुनाव चिन्हमा रहने एक मात्र सूर्य हुनेछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमध्ये प्रचण्डले पूर्वएमालेहरुको मन राख्नको लागि अन्तिम समयसम्म सूर्य चिन्हको अधिकतम पहल गरेको देखाउँछन् । अहिले सबै पहल र प्रयास प्रचण्डले त्यसैको भूमिका निर्वाहनिम्ति गरेका हुन् । उता केपीले उदाउँदो सूर्य लिएपछि गोपाल किराँतीको पार्टीमा रहेको हँसिया हथौडा जसरी पनि प्रचण्डले लिनेछन् । र,अन्तिममा चुनाव हुँदा उदाउँदो सूर्य र हँसिया हथौडाबीच नै हुनेछ । त्यस्तो अवस्थामा चुनाव हुँदा पहिलो दल नेपाली काँग्रेस बन्नेछ । दोस्रो भने केपी ओलीको समूह हुन्छ । त्यस्तो अवस्थामा पनि सरकारमा जाने सम्भावना रहन्छ । अन्यथा, प्रमुख प्रतिपक्षी दलको सिट सुरक्षित रहनेछ । त्यसपछि २०५६ सालको चुनावपछि तत्कालीन माले रन्थनिएर एमालेमा पुनः प्रवेशको लागि आएझैँ यिनीहरु पनि आउँछन् ।

त्यसपछि माधव र प्रचण्डको क्याम्पमा रहेका मानिसलाई बिस्तारै तान्ने, प्रचण्ड र माधवलाई सकभर एक्ल्याएपछि अर्को पाँच वर्षपछिको चुनावमा जित्न सकिन्छ । तर, यात्रा भने अलिकति लामो हुने भयो । अहिले सार्वजनिक कार्यक्रममा बोल्दा प्रधानमन्त्रीले सबैभन्दा धेरै प्रचण्डमाथि प्रहार गर्नुको कारण त्यहि रोडम्याप रहेको बालुवाटारको निश्कर्ष छ ।

– उमेश थापा, प्युठान

टिप्पणीहरू