चोर–पुलिस मिल्दा गाउँलेलाई सकस

पुलिसले चोरसँग मिलेर अपराध नियन्त्रण गर्छु भन्ने भूल गर्दा मकवानपुरमा एउटा गाउँ रातभर तनावग्रस्त बन्यो । राक्सिराङ गाउँपालिका–१ मा केही भिजिलान्तेसहित शनिबार राति पुगेको प्रहरी टोलीमाथि गाउँलेले आक्रमण मात्रै गरेनन्, केहीबेर प्रहरी नै बन्धक बन्यो । बदलामा प्रहरीले निर्वाचित वडाध्यक्षलाई समातेर मुद्दा चलायो ।

खासगरी गाँजा बरामदीका लागि भन्दै प्रहरीले तीनजना भिजिलान्ते सुराकी (जो यसअघि गाँजाकै कारोबारमा संलग्न हुने गर्छन्) लाई लिएर शनिबार राति गाउँ पस्यो । गाउँ पसेको प्रहरीले केही परिमाणमा गाँजा पनि बरामद ग¥यो । ल्याउन नसक्ने भन्दै राति नै उक्त गाँजा जलायो । यद्यपि बरामद भएका अवैधानिक वस्तुको बिसर्जन प्रक्रिया पारदर्शी हुनुपर्छ ।

बरामद भएको केही गाँजा लिएर फर्कन लागेको टोलीमा रहेका भिजिलान्तेहरूले जब पसलमा रहेको बियरका कार्टुन, माउन्टेन ड्युका कार्टुन, लोकल कुखुरा, चाउचाउसमेत लुट्न थाले, त्यसपछि गाउँलेले प्रतिकार गरे । प्रतिकारपछि प्रहरीले माफी पनि माग्यो । तर, गाउँलेले भिजिलान्तेलाई सार्वजनिक गर्न नारा लगाए । त्यही बेला भिजिलान्तेलाई प्रहरीले गाडीबाट भगाउन खोजे । तीनमध्ये २ जना दौडँदै भाग्न थालेपछि गाउँलेहरूको राम धुलाई भेटे । रामधुलाई भेट्नेमा कैलाश गाउँपालिकातिरका मानिस भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

आफूसँगै गएका सुराकी भिजिलान्तेले कुटाइ खाएपछि क्षुब्द बनेको प्रहरीले आफू जोगिन २ राउण्ड हवाई फायर पनि खोल्यो । तर, गाउँलेसामु केही लागेन । कुटाइ खाएर घाइते भएका दुईजनालाई उपचारका लागि पठाएपछि लगभग बन्धकजस्तो बनेका प्रहरीलाई उद्धार गर्न इलाका प्रहरी कार्यालय मनहरीबाट निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा प्रहरी पुग्यो । र, टोली पुगेपछि वातावरण सहज बनाउन भन्दै आएका राक्सिराङ १ का वडाध्यक्ष कान्छाराम रुम्बालाई उठाएर ल्याएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ । कुटाई खाएको प्रहरी अपमानित भएको झोंकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले वडाध्यक्ष रुम्बालाई अभद्र व्यवहार मुद्दासमेत चलायो । आफ्ना कार्यकर्तामाथि लागेको मुद्दा मिलाउन पूर्व गृहराज्यमन्त्री तथा बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको समेत केही चलेन । अन्ततः दोस्रो दिन अर्थात सोमबार साँझ ३ हजार धरौटीमा वडाध्यक्ष रुम्बा छुटे ।

गाँजा नियन्त्रण भन्दै बिगतदेखि नै प्रहरीले गाउँ जाँदा भिजिलान्तेहरू प्रयोग गर्ने गरेका छन् । त्यस्ता भिजिलान्तेहरू गाँजा ओसारपसारमा संलग्न भएका वा त्यसबारे जानकारी व्यक्तिहरू नै हुने गरेका छन् । कतिपय अवस्थामा ती व्यक्तिहरू प्रहरीको पोशाकै लाएर गाउँ जाने गरेको समेत स्थानीय बासिन्दाको आरोप छ । यसअघि गाँजा बरामद भएपछि कूल ५० प्रतिशत नै भिजिलान्तेले पाउने गरी प्रहरीले परिचालन गर्ने गरेको पाइएको छ । तस्करी गर्नेलाई संरक्षण गर्नेगरी चलाइएको यस्तो चलनले प्रहरी संयन्त्रलाई नै बदनाम गरिरहेको छ । कुखुरा, बियर, चाउचाउ काण्डले मकवानपुरका नयाँ एसपी सोमेन्द्रसिं राठौरलाई तनाव दिएको छ । जनप्रतिनिधिमाथि नै मुद्दा चलाउने निर्णय भएपछि उनीप्रति गरिने सामाजिक र राजनीतिक व्यवहारमा समेत परिवर्तन आउने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।

टिप्पणीहरू