देश हारेर व्यक्ति जित्नुपर्ने हो र !

– समाजवादी केटो

एक ः प्रधानमन्त्री केपी ओलीले अल्पमतमा परेको महसुस भएपछि हुँदाखादाको नेकपा कच्याककुचुक गर्नुभन्दा राजीनामा दिएर पार्टी फुटबाट बचाएको भए के हुन्थ्यो ?

दुई ः नेकपाको जीवन र पार्टी नेता, कार्यकर्ताका लागि ओली प्रधानमन्त्रीमै रहनु प्रधान हो कि पार्टी सिंगो रहनु ?

तीन ः प्रधानमन्त्री ओलीले जित्ने कुरा ठूलो हो कि देशले ?

व्यक्ति र पार्टीले जितिरहने तर देश र जनताले हारिरहने विगतबाट आजित भएर विकल्पहरू छनोटको सार्वभौम अधिकार नागरिकलाई दिइएको देशमा तमाम विकल्पलाई बन्धक बनाएर केवल एउटै विकल्प देख्नु केको पूर्वसंकेत हो ? पहिलो र दोस्रो प्रश्नसम्म एउटै विकल्प देख्नु त्यति गम्भीर विषय नहोला तर तेस्रो प्रश्नमा पुग्दा पनि केवल ‘बा’ लाई मात्रै ठूलो देख्नु घातक मात्र होइन निकै डरलाग्दो छ ।

विश्वमै मौलिक एवं उत्कृष्ट भनिएको संविधान निर्माणपछिका पाँच वर्ष र त्यही संविधानको प्रावधानअनुसार सरकार बनेको तीन वर्षमै देशलाई जबर्जस्त मुठभेडमा फसाइएको छ ।

देश दुई महिनादेखि चरम अन्योलमा छ । प्रधानमन्त्री ओलीबाट सत्ता लम्ब्याउने हरसम्भव प्रयास जारी छ । प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई नै शक्ति आर्जनका लागि मञ्च र पद दुवै उपलब्ध हुन थालेका छन् ।

चुनावको घोषणा गरेका छन् । तर, न्यूनतम मान्यताविपरीत मन नपर्नेलाई हटाउन र मन पर्नेलाई पुरस्कृत गर्न छोडेका छैनन् । लोकतन्त्रमा चुनाव अपरिहार्य त भनिरहेका छन् तर बहुसंख्यक पार्टीको ठूलो हिस्सा छुट्ने कुरालाई हेक्का राखेका छैनन् । चुनाव त सत्ता हत्याएका तत्कालीन राजा ज्ञानेन्द्रले पनि घोषणा गरेका थिए ।

संविधानभन्दा माथि कोही पनि हुँदैनन् । सत्ता र शक्ति पनि संविधानले दिएको कसीमा अभ्यास गरिनुपर्छ भन्ने संविधानवादको मान्यता हो । तर, अहिले आफ्नो विकल्प न संविधान न त कुनै व्यक्ति वा अंग हुनसक्छ भन्ने ‘न्यारेटिभ’ स्थापित गर्न खोजिएको छ । सत्ता र शक्तिको रापमा अवसरहरूको ललिपप देखाएर त्यसलाई सही सावित गर्न खोजिएको छ ।

संविधान निर्माणको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र पार्टी सभापति सुशील कोइराला पनि लतारिएर मधेशवादी दल र तत्कालीन माओवादीलाई छोडी हिँडेको भए देश कहाँ पुग्थ्यो ? संविधान निर्माणपछि देशलाई एकथान प्रधानमन्त्री दिने नाममा कोइरालाले मधेशवादी दललाई संसदमा नल्याएको भए के हुन्थ्यो ? अहिले फर्केर हेर्दा लाग्छ प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्न संविधान निर्माणमा हतार मात्रै गरेका थिएनन् मन नपरेका धेरै कुरा स्विकारेका पनि थिए । अहिले फेरि कोही आओस् या नआओस् चुनाव हुन्छ हुन्छ भनिरहेका ओलीले मुलुकलाई खोजेको कहाँ हो ? उनले सहमति नभई बलमिच्याइँ किन खोजिरहेका छन् ?

प्रधानमन्त्रीले पद छाडेको भए देश र पार्टी दुबैलाई केही फरक पर्थेन, उल्टै उनको कद उँचो हुन्थ्यो । पार्टी बच्थ्यो, संविधानमाथिको विश्वासमा घात हुन्थेन । उनले छोड्दा न देशको गति रोकिन्थ्यो न पार्टीको, न त उनले भन्ने गरेको कम्युनिष्ट आन्दोलनकै ।

जब देशले जित्ने कुरा भन्दा प्रधानमन्त्री ओलीले हार्ने कुरालाई ठूलो र प्रतिष्ठाको विषय बनाइयो, यसले धेरैलाई झस्काएको छ ।

बहुदलीय प्रतिस्पर्धा, सार्वभौम नागरिकको मतले चल्ने प्रतिनिधिमूलक लोकतान्त्रिक व्यवस्थामा व्यक्ति गौण विषय हो । एकदलीय व्यवस्था र व्यक्ति प्रधान मान्यताबाट माथि उठ्न प्रतिपादन गरिएको जनताको बहुदलीय जनवादले पनि त्यही भन्छ । तर, यी सबैलाई लत्याएर प्रधानमन्त्रीले न पार्टीभित्रको बहुमत माने न संविधानसभाको विधायिकी मनसाय । र, केही नेता तथा कार्यकर्ताले नेकपाको जीवन र पार्टी जीवनमा पार्टी सिंगो रहनुभन्दा ओलीको पद र आशनलाई प्रधान माने । त्यसैले देश दुई महिनादेखि चरम निराशाको चंगुलमा छ ।

यतिसम्म त ठीकै छ तर जब देशले जित्ने कुरा भन्दा प्रधानमन्त्री ओलीले हार्ने कुरालाई ठूलो र प्रतिष्ठाको विषय बनाइयो, यसले धेरैलाई झस्काएको छ । आफू र आफ्नो पार्टीले हार्छ भन्ने जान्दाजान्दै संविधानसभाको चुनाव गराउने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिकामा ओली भएको भए, आफू हार्छु भन्ने जान्दाजान्दै संविधान निर्माणपछि प्रधानमन्त्रीको उम्मेदवार बनेर संविधानको स्वीकार्यता बढाउने सुशील कोइरालाको भूमिकामा ओली रहेको भए, दुई ठूला दलहरू मिलेर चुनाव लड्दैछन् भनी शेरबहादुर देउवाले पार्टीभित्रको अल्पमतसमेत नस्वीकार्ने ओलीको जस्तै बहानाबाजी गरेको भए देशको अवस्था के हुन्थ्यो ?

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा पार्टीभन्दा व्यक्ति ठूलो हुनसक्दैन । देशभन्दा पार्टी महत्वपूर्ण वा ठूलो हुनै सक्दैन । यो देश राणा नहुँदा पनि चलेकै थियो । पञ्चायत नहुँदा चलिरहेकै छ । वीपी, मदन भण्डारी, मनमोहन, गिरिजाप्रसाद नहुँदा पनि पार्टीहरू चलिरहेकै छन् । अब ओलीहरू वा अमुक व्यक्ति नहुँदा पार्टी चल्दैन, देश अगाडि बढ्दैन भन्नु वा भन्न लगाउनु देशलाई प्रतिगमनमा लाने तयारीभन्दा अरु के हुन सक्छ ? कठोर प्रतिगमन, निर्मम तानाशाह र संकटकाल भोगिसकेका जनताले अब के भोग्न बाँकी छ र डराउलान् ! अतः हुटिट्याउँले आकाश थामिरहेको ठानेजस्तै भ्रममा कोही रहनु हुँदैन । यसैमा देश र जनताको हित हुन सक्छ ।

टिप्पणीहरू