प्रधानमन्त्रीको निर्मम पेलाइ

प्रधानमन्त्रीको निर्मम पेलाइ

‘यस्तो नगरौँ, रिस्क (जोखिम) हुन्छ’ भन्दै विदेशी र स्वदेशी विज्ञले पनि मानेका छैनन् । तर, बालुवाटार र सिंहदरबारबाट तारन्तार फोन जान्छ, ‘जसरी पनि हुनुपर्छ, गरिहाल्नु !’

तीनजना बहालवाला र एकजना भूपू मन्त्री अस्ति मेलम्ची खानेपानी आयोजनाको ९ किलोमीटरभित्रको सुरुङसम्म पुगे । यसअघि सुरुङबाट पानी बहावको परीक्षण गर्दा गाडी र इञ्जिनियर बगाउने, अनि पानी चुहावट हुने समस्या आएपछि विज्ञहरु थप सुरक्षाप्रति विश्वस्त हुन चाहिरहेका थिए । उनीहरूले अहिल्यै त्यसलाई सञ्चालन गर्ने हतारो नगरौं भनेका पनि हुन् । तर, प्रधानमन्त्रीलाई आजभोलिमै त्यहाँबाट पानी आउने व्यवस्था गरेर ‘मेलम्ची मेरै पालामा’ भनी प्रचार गर्नु छ । एसियाली विकास बैंकका विज्ञहरु शिव शर्मा, ओमप्रकाश चौधरी, प्रल्हाद बानियाँ, भारतकी कन्सल्ट्यान्ट मणिकाहरुले हो, हतारो नगरौँ भनेको । उनीहरु अब तीन महिनाको समय लिऊँ भन्दै थिए । तर, विज्ञहरुको रायविपरीत सोमबार मन्त्रीहरु त्यहाँ पुग्दा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री ‘सब ठीकठाक छ हजुर, एकदम राम्रो छ’ भन्दै ब्रिफिङ गर्न व्यस्त थिए । त्यहीँको बासिन्दा रहेका खेलकुद मन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापा र त्यहीँबाट चुनाव जितेका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ सोमबार ताँती लागेर गएका हुन् । उनीहरुसँगै खानेपानी सचिव माधव बेलबासे पनि थिए ।

मेलम्चीमा मात्रै होइन, अहिले प्रधानमन्त्रीमा सम्पन्न हुन बाँकी विकास निर्माणसम्बन्धी आयोजना शुरु या शिलान्यास गर्ने हतारो छ । उहाँको मनशाय हो, ती सबै काम आफूले गरेको भनी भोलि प्रचार गर्न पाइयोस् । फास्टट्रयाक र नागढुंगाको सुरुङमार्ग झलनाथ खनाल प्रधानमन्त्रीमा बहाली भएकै दिनको निर्णय भनी तत्कालिन शिक्षामन्त्री तथा सरकारका प्रवक्ता गंगालाल तुलाधरले सुनाउनुभएको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग माधव नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदाको सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको हो । तर, ती काम पनि आफूले सकेको जस लिन उहाँ उद्घाटनहरुमा सक्रिय हुनुहुुन्छ ।

टिप्पणीहरू