ब्यान्जुको बिजययात्रा

ब्यान्जुको बिजययात्रा

नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ अन्तर्राष्ट्रिय नगरपालिका संजाल युनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक (युसिएलजी स्पाक)को अध्यक्षमा निर्वाचित हुनुभएको छ। बिहीबार भएको भर्चुअल बैठकले ब्याञ्जुलाई सर्वसम्मत चयन गरेको हो ।

संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त संस्थाका रुपमा रहेको स्पाक दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो। यसको प्रधान कार्यालय इण्डोनेसियाको जाकार्तामा छ। स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ।

नवनिर्वाचित अध्यक्ष ब्याञ्जुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) विरुद्ध लड्न स्थानीय सरकारहरुको भूमिका सशक्त बनाई सक्रियतापूर्वक लाग्नु जरुरी रहेकोमा जोड दिनुभएको छ ।

‘प्रकोप व्यवस्थापन,जलवायु परिवर्तन र गरिबी निवारणलगायत विश्वव्यापी रुपमा स्थानीय सरकार तथा शहरिकरणसंग सम्बन्धित समस्याहरुको सम्बोधन गर्न पनि संयुक्त आवाजको आवश्यकता रहेको छ। साथै आपसी हित र सिकाइलाई प्रवर्धन गर्नु अपरिहार्य छ’, अध्यक्ष ब्याञ्जुले भन्नुभयो ।

नेपाल नगरपालिका संघ वि.सं २०५० सालमा स्थापित नगरपालिकाहरुको छाता संगठन हो । संघ दुई दशकदेखि इन्टरनेश्नल युनियन अफ लोकल अथोरिटीज (आईयुएलए) हुँदै युसिएलजी स्पाकसंग आवद्ध रहँदै आएको छ। नेपालका नगरपालिकाहरुको साझा हितका लागि बहस पैरवी तथा सञ्जालिकरणका माध्यमबाट सहयोगी संस्थाका रुपमा संघले भूमिका खेलिरहेको छ ।

नगरपालिका संघको अध्यक्षको प्रतिनिधित्व गर्दै स्पाकको अध्यक्षका रुपमा नेपालका नगरपालिकाहरुको सशक्तिकरणका लागि काम गर्न थप जिम्मेवार बनाएको ब्याञ्जुको भनाइ छ। संघले नगरपालिकाहरुको क्षमता अभिबृद्धि,संघीयता कार्यान्वयन र संविधानप्रदत्त हकको प्रयोग गरी सबल,सुशासित र समृद्ध नगरपालिका निर्माणमा ब्याञ्जुको कार्यकाल कोशेढुंगा सावित हुनेमा विश्वस्त रहेको बताएको छ ।

टिप्पणीहरू